रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् ।

अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि अन्यत्र बिरामी लिएर धाउनुपर्ने समस्याबाट मुक्ति पाइएको बिरामीकी आमा सीता रेग्मीले बताउनुभयो ।

“रामपुरमै सेवा पाएपछि बाहिर उपचार गराउन जाने समस्या हटेको छ”, उहाँले भन्नुभयो, “गाउँमै पाएको सेवाले खुसी छौँ ।”

डा सुनिलकुमार दासको नेतृत्वमा पहिलोपटक अस्पतालमा सो सेवाको थालनी भएको हो । जानकी मेडिकल कलेज जनकपुरमा एमबिबीएस अध्ययनपश्चात डा दास यहाँ आउनुभएको हो । सफलतापूर्वक शल्यक्रिया भएपछि काम गर्न हौसला बढेको उहाँको भनाइ छ ।

“एपेन्डिसाइटिसका बिरामी उपचार गर्न टाढा जानुपर्ने समस्या निराकरण गर्न सेवा सरु गरेका हौँ, शल्यक्रिया सफल भएपछि उत्साह बढेको छ”, डा दासले भन्नुभयो ।

आधारभूत सेवा विस्तार गरी बहु–विशेषज्ञ सेवा थालनी गर्न रामपुर अस्पतालमा कार्यरत जनशक्ति परिचालन गरी शल्यक्रिया सेवा थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा विजय परियार बताउनुहुन्छ । पचास शय्याको अस्पताल निर्माण जारी छ । अस्पतालले सेवा बढाउँदै लगेको छ । शल्यक्रियाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी एपेन्डिसाइटिसको सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । छिट्टै विशेषज्ञसहितको सेवा दिने तयारी रहेको उहाँ बताउनुहुन्छ ।

अस्पतालले २०७७ चैतदेखि शल्यक्रियामार्फत प्रसूति सेवासमेत थालेको छ । एक हप्ताअघि हर्नियाको शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५, आव २०७८/७९ मा १६, आव २०७९/८० मा १२ जनाको सफलतापूर्वक प्रसूति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आव २०७६/७७ मा दुई सय २२, आव २०७७/७८ मा दुई सय तीन, २०७८/७९ मा दुई सय ७६ र २०७९/८० को हालसम्म एक सय ७९ जनाले सामान्य प्रसूति सेवा लिएका छन् ।

अस्पतालबाट पूर्वी पाल्पासहित स्याङ्जा, तनहँु, नवलपुर (नवलपरासी सुस्तापूर्व)का स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी सेवा लिन आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय