
निस्दी गाउँपालिका–५, गल्धा पाल्पाकाे अदुवा जर्मनीसम्म निर्यात भएसँगै यहाँका महिलाहरूकाे दैनिकी पनि फेरिएकाे छ । ढुंगानाबेँसीमा रहेको सामाजिक उद्यमी महिला सहकारी संस्थाले ग्रामीण कृषि प्रणालीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै अार्थिक उपार्जनका काेशेढुङ्गा सावित भएकाे हाे ।
सहकारीले दुई वर्षदेखि अदुवाको अर्गानिक प्रमाणीकरण गराउँदै जर्मनीमा निर्यात गरिरहेको छ । हालसम्म १९ हजार ८२५ केजी अदुवाको चाना जर्मनी पठाइसकेको व्यवस्थापक सारुले बताइन् । पहिलो वर्ष ८०५ केजी, दोस्रो वर्ष चार हजार ४६० केजी र तेस्रो वर्षमा १४ हजार ५६० केजी अदुवाको चाना निर्यात गरिएको हो । अध्यक्ष अममाया मश्रांगी र व्यवस्थापक दिलमाया सारुको नेतृत्वमा सञ्चालनमा रहेको सहकारीले उत्पादनदेखि प्रशोधन र निर्यातसम्मको सम्पूर्ण प्रक्रिया महिलाको सक्रिय सहभागितामा अगाडि बढाउँदै आएको हाे ।



सहकारीले आगामी वर्ष २० टन अदुवाको चाना निर्यात गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्त भएमा गल्धा गाउँले अन्तर्राष्ट्रिय निर्यातका क्षेत्रमा नयाँ इतिहास रच्नेछ । यो यात्रा केवल उत्पादन र व्यापारको मात्र होइन, महिलाको नेतृत्वमा ग्रामीण विकासको कथासमेत रहेको उक्त क्षेत्रका किसानहरू बताउँछन् ।
यस प्रशोधन स्थापना र सञ्चालनका लागि स्थानीय तह र हेफर नेपालको सहयोगमा गरिएको हो । कुल एक करोड रुपैयाँको हाराहारीमा खर्च गरेर स्थापना गरिएको यस केन्द्रले गल्धालाई अब अदुवा प्रशोधनको केन्द्र बनाएको छ ।
सहकारीसँग आबद्ध २७२ जना किसानले ४० हेक्टर जमिनमा अर्गानिक सर्टिफाइड अदुवा खेती गर्दै आएका छन् । अर्गानिक प्रमाणीकरण जमर्नी तथा नर्वेका कम्पनीले गरेका छन् । निर्यात हुने अदुवा तथा गेडागुडीको ‘सेरेश’ लगायतका संस्थाले प्रमाणीकरण गर्ने र प्रमाणित भएपछि निर्यात हुने गरेको सारुले बताइन् ।
उत्पादनदेखि प्रशोधनसम्मको सम्पूर्ण प्रक्रिया स्वदेशमै भएपछि अब किसानलाई विदेशमा बजार खोज्न दौडिनु परेको छैन ।
पहिले उत्पादन धेरै हुँदा भारतमा निर्यात गर्न नपाएर अदुवा खेर फाल्नुपर्ने स्थिति आउँथ्यो । उत्पादन कम भएको वर्षमा मात्रै मूल्य बढ्थ्यो, जसले गर्दा बजार अस्थिर रहन्थ्यो । तर, अहिले किसानहरूलाई बजारको चिन्ता छैन ।
अध्यक्ष अममाया मश्रांगी भन्छिन्, “अब गल्धाका अदुवा किसानलाई भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था छैन । हामी आफैँ प्रशोधन गर्छौं, चाना बनाउँछौँ र विदेश पठाउँछौँ ।”
सहकारीले अदुवाको अतिरिक्त खसीबोका संकलन, गेडागुडी संकलन तथा खरिद–बिक्री गर्दै आएको छ । यस आर्थिक वर्षमा (साउनदेखि जेठ मसान्तसम्म) एक हजार ६८१ वटा खसीबोका बिक्री गरिएको छ ।
खसीबोका बिक्रीबाट सहकारीले दुई करोड ४४ लाख ९६ हजार ३६५ रुपैयाँ आम्दानी गरेको छ । यसका लागि सहकारीले पाँचवटा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ, जसले ग्रामीण क्षेत्रमा उत्पादनको मूल्य सुनिश्चित गर्न मद्दत पुर्याएको छ ।
सहकारीले अदुवाको प्रशोधनका लागि आवश्यक उपकरण, प्रविधि र तालिमको समेत व्यवस्था मिलाएको छ । अदुवाको धुलो पनि खेर जान नदिई स्थानीय व्यापारीमार्फत बुटवल, भैरहवा, काठमाडौं हुँदै भारतसम्म निर्यात गरिन्छ । सामाजिक उद्यमी महिला सहकारी संस्था अब केवल गल्धाको मात्र नभई देशकै लागि स्थायी, सक्षम र सशक्त ग्रामीण मोडेल बन्ने दिशामा अघि बढिरहेको सारु बताउँछिन् ।