पुष्कर शाह
काठमाडौंको एउटा साइकले टोली साइकलको नयाँ गन्तव्य हेर्ने भनेर पाल्पाका लागि बन्दीपुरको बाटोहुँदै रामकोट–नयाँ गाउँबाट सेतीगण्डकीको किनारतिर झरेका थियौँ । नयाँ गाउँबाट १० किलोमिटर सुनसान जंगलको बाटो ओरालो झरेपछि सेती किनार पनि भेटियो, दिनको उज्यालो पनि मेटियो ।



गाउँको बाटो कोरिडोरमा जोडिएपछि केही त होला भन्ने थियो । तर, त्यहाँ त एउटा झुप्रो पनि थिएन । मैले काठमाडौंका रैथाने नेवारहरूलाई उचालेर एड्भेन्चर गराउन लिएर हिँडेको, मलाई क्या फसाद ! सेतीगण्डकी सुसाएको बाहेक अरु केही सुनिन्न ।
कवि र शिवबाहेक अरु त्यति साइक्लिङ नगरेका साथीहरू थिए । नौ जना नेवार र एक जना ठकुरीको हुल थियो हाम्रो हुल भयौँ । सोल्टीहरू झुरुप्प भएर खलामखुलामा खल्याङबल्याङ गर्न थाले । दिनभरिको साइक्लिङसँगै थकाइ, भोक, तिर्खाले उनीहरूमा आक्रोश उब्जिएको मैले बुझिहालेँ ।
बिहान बन्दीपुरमा मोनिकाले खुवाएको भालेको मासुसँगको भातले सबैलाई छोडिसकेको थियो । ‘फर्किंदा यही बाटो भएर फर्किनु है’ भन्दै मोनिकाले दिएको निम्तो सायद सबैले सम्झिरहेका थिए होलान् । मोनिकालाई होइन, उनको भालेको झोलभातलाई ।

साथीहरू रिसाएको बुझेर ‘ए, अलि पर नक्सामा गाउँ देखियो’ भन्दै अँध्यारोमा म एक्लै हिँडेँ । नभन्दै एक किलोमिटर अगाडि ३–४ वटा घर भेटिए । पहिलो घरको अगाडि दुई जना आइमाई गफ गरिरहेका थिए ।
‘यताकतै बास पाइन्छ ?’ भन्दै मैले ती आइमाईहरूलाई सोधेँ ।
बासका लागि अझै १५ किलोमिटर हिँड्नुपर्ने रहेछ । साइकलले समेत अब मलाई चढ्ने त परै जाओस्, डोर्याउँदा पनि नडोर्याऊँ भनिसकेको थियो । ती महिलालाई बिन्ती गरेर खानासम्म मिल्ने भो । त्यसपछि रक्सी पनि मिल्ने भो । तिहारमा काटेको सुँगुरको मासु बाँकी रहेछ, त्यो पनि मिल्ने भो । एकैछिनपछि काठमाडौंको विलासी जीवन बिर्सेर एड्भेन्चर गर्न हिँडेको टोली पनि आइपुग्यो ।

‘आजको बास यतै’ मैले साथीहरूको थाकेको ज्यानलाई सान्त्वना दिएँ । मगर्नी दिदीले रक्सी तताइन्, सुँगुरको मासु भुटिन्, अनि हाम्रो ज्यानमा सेतीगण्डकीको आवाजलाई जिस्क्याउने स्वरहरू गुञ्जिन थाले । मैले फेसबुकमा प्रत्यक्ष प्रसारण गरेँ । राति १० बजेको पत्तै भएन । अब सुत्ने कहाँ ?
‘ऐले त उफ्री न लैँतुहरू, रक्सीले छोडेसी मैले जानेको छु’ भन्दै सेतीगण्डकीको खोँचमा जाडोले हामीलाई जिस्क्याउँदै थियो ।
नजिकै एउटा आमा समूहको ठूलो हुल रहेछ । मगर्नी दिदीले त्यो हल खोलिदिइन् । पातला, च्यातिएका कालो म्याट्रेसका टुक्राहरू जोडेर हामीले रात काट्यौँ ।

बिहान कविले सबैलाई सम्झायो, ‘दाइलाई हेर्न, संसार घुम्दा यस्ता दिन त कति सुतेँसुतेँ ।’
तेस्रो दिन हामी कालीगण्डकी तरेर तानसेन पुग्यौँ । हिजो भुईंमा सुतेका सोल्टीहरू आज तानसेनको न्यानो स्टार होटलमा सुत्न पाएपछि दंग भए ।
‘यही त हो लाइफ एड्भेन्चर भनेको,’ कविले सोल्टीहरूलाई फेरि सुनायो ।
पाल्पा हेरिटेज राइडको तेस्रो संस्करणअन्तर्गत १८ जिल्लाका २०० भन्दा बढी साइकलेहरू तानसेनका गल्लीहरूमा छरपस्ट थिए । पाल्पा दरबारमा बिहान घाम झुल्किनुअगावै साइकलेहरू जम्मा भइसकेका थिए । तल मादी र मदनपोखराको फाँटमा बादलको बिस्कुन लागेको थियो ।
तानसेनको पाखामा झुल्के घामको रक्तिम किरण टिलीलीहुँदै गर्दा हामी आर्यभञ्ज्याङको ओरालो लाग्यौँ । अलि तल आएर पदमले घुम्तीमा साइकल जोत्यो र घुँडाले ब्रेक लगायो अनि गाडी चढ्यो । आर्यभञ्ज्याङमा बुटवलबाट पोखरा हिँडेको चिसो स्याँठले साइकलेहरूलाई एकछिन अत्यायो ।
सुन्तला र फूलमालाको स्वागतले उनीहरूको जाडो बिर्साइदियो पनि । बाटोभरि चिदीपानी, हुमिन, मंगलाहुँदै साना गाउँहरूमा फूलमाला लिएर बसेका गाउँलेहरूको मुस्कानले थकाइ बिर्सिंदै हामी ३५ किलोमिटर ओरालो फिलीली पूर्वखोलाको फाँटमा पुग्यौँ । त्यहाँ पनि उस्तै स्वागत ।
त्यहीँ बिहानको खाना खाएर बिस्तारै उकालो चढ्न थाल्यो बाटो आफैँ । चारघरेमा आमा, दिदीबहिनीहरू मकै–भटमास, मोही, केरा लिएर बसेका थिए । हामीसँगै हिँडेका संघीय सांसद सन्दीप रानालाई मकै–भटमास दिएर स्थानीय गाउँलेहरूले मसिनो स्वरमा आफ्ना गाउँका दुःखेसोका पोका फुकाए । उनीहरूले बाटोको समस्या निकै भावुक भएर सुनाए ।

चुनाव आउँदा मतदान गर्न पूरै तीन घण्टा हिँडेर जानुपर्ने रहेछ । अझ बुढाबुढीहरूलाई त त्योभन्दा बढी समय लाग्ने रहेछ । मतदानको दिन प्रायः सबै मानिसहरू घरबाटै खाना बोकेर सबेरै मतदान गर्न जाने रहेछन् । उकालो अझै बाँकी नै थियो । बाटोलाई काउले डाँडाको थाप्लोमा पुग्नु नै थियो । मित्याल पुग्दा नपुग्दै साइकलेहरूको चाकबाट धुवाँ निस्किन थाल्यो ।
थुप्रै सिकारु अनि पहाड नचढेका साइकलेहरूलाई गाडीमा उद्धार गर्नुपर्यो । लिडर पुन, सञ्जीव बलामी, सानु घलेसहितको पहिलो टोली घाम नडुब्दै काउलेको काखमा पुगेको सन्देश रेडियोमा आयो । चुचुरो चुम्न हिँडेको मान्छेलाई आधारशिविरमै अलमलिने छुट हुन्न भन्दै हामी उक्लिरह्यौँ । अझ एक हात नभएका कावासोतीबाट आएका लोचन राज अमात्य त हामीसँगै नारिएर दौडिरहेका थिए । उनी त हाम्रा प्रेरणा बनेका छन् । तेर्सो–उकालो त जेनतेन सजिलै हुन्छ उनलाई, ओरालो कति कठिन होला, म मनमनै सोच्छु ।
हाम्रो टोली पुग्दा रिमरिम भइसकेको थियो । पञ्चेबाजाले काउले डाँडा नै घन्किरहेको थियो । कवि, लेखनाथ, उत्तम, मञ्जु, अनुराग, सुरज, नरेन्द्र, एलिसा, प्रशान्त, आशिष, दीपक, आरसी, जम्पेल, विकास, डीआर, अज्जुको टोलीहरू कति बेला पुग्ने हुन्, अत्तोपत्तो थिएन ।
हाम्रो पछाडि बडो कठिनाइका साथ ७५ किलोमिटर पार गरेर काउले डाँडाको काखमा पुगेपछि कतिपय साइकलेहरू आयोजकलाई सराप्दै थिए । अलि ढिलो गरी पुगेका एक हुल साइकलेले आयोजकलाई कुट्नुपर्यो भनेर मेरो छेउमै उभिएका सगरमानलाई ‘आयोजक को हो?’ भनेर सोधे पनि । उनले ‘खै, मलाई थाहा भएन’ भनेर पन्छिए ।
खासमा आयोजकमध्येका एक उनी पनि थिए । काउले डाँडाको भव्य सभाभवनमा साँझको खाना र सांस्कृतिक कार्यक्रम सुरु भइसकेको थियो । साइकलेहरू खानासँगै कोदोस्की (कोदोको ह्विस्की) पनि चुस्की लगाइरहेका थिए, नाचिरहेका थिए । एउटा ठूलो कित्लीमा भएको कोदोस्की मैले सबै टेबलमा खाने जति सबैलाई बाँडेर सकेँ । कित्ली रित्तिएपछि मगरनी छ्यामालाई कित्लीमा रक्सी भर्न भनेर गएको त छ्यामाले गाली पो गरिन् ।
‘बाँडिसकिस् ?’
‘अँ !’
‘मुर्दार, त्यो त पानीको कित्ली हो के !’
काउले डाँडाकै काखमा कौडेलेख मगर र ठकुरीहरूको घरबास (होमस्टे) छ । जम्मा २१ घरबासमा अट्ने जति बसेर अरुलाई २०१८ सालमा बनेको स्कुलमा राखिएको थियो । साँच्चै भन्ने हो भने हाम्रो कस्तो अहोभाग्य ! हामी १० कक्षासम्म स्कुलमा पढेर १०–१२ वर्ष बितायौँ, तर कहिल्यै स्कुलमा सुत्ने अवसर पाएनौँ । यसपालि पायौँ ।
नेपाल प्रहरीका डीआईजी बनिसकेका सञ्जीव शर्मालाई ६ कक्षामा सुताएछन्, ललितपुरका करोडौँपति सुन पसले संघरत्नलाई नर्सरीमा सुताएछन्, स्नातक गरेका रविनलाई ३ कक्षामा सुताएछन्, मास्टर्स गरेकी सीतास्मालाई ८ कक्षामा सुताएछन् । बिहान पो थाहा पाएँ, हिजै थाहा पाएको भए बिड्यानास ! म रोजेरै एक कक्षाको कोठामा सुत्थेँ र मेरो कोठामा सुतेका लण्ठु किस्ने, शंखरे र गोबिन्देलाई रातभरि कपुरी ‘क’, खरायो ‘ख’ पढाउँथेँ ।
बिहान काउले डाँडाको अम्रिसोघारीमा घाम पोखिएपछि हामीले हिजोका सारा थकाइ बिर्सियौँ । हिजो चाकमा धुवाँ निस्केको बिर्सियौँ । फोक्सोले पम्प गर्न छोडेको जस्तो भएको थियो, त्यो पनि बिर्सियौँ । हिजो साइकल कुदाउँदा चाकमा पनि हड्डी हुँदो रहेछ भन्ने बिर्सियौँ । पहाड भनेको त पाल्पा मात्रै हो कि क्या हो भन्ने बिर्सियौँ । क्या छ यार झ्याँक्ने काउले डाँडो, यात्राका सब पीडा निमिट्यान्न पारिदिन्छ ।
काउले डाँडाको थाप्लोमा ठिङ्ग उभिएर मोडिएपछि दक्षिणतिर तराईको सेतो बादलु समतल फाँट, उत्तरतिर चाँदीका पर्खालझैँ अन्नपूर्ण हिमशृङ्खला । म मनमनै सोच्छु, ‘मनसरा’लाई यो डाँडो उभ्याउन मात्रै पाएको भए कत्ति नक्कल पारेर सेल्फी हान्ने थिइन् । कोदोको रोटी, सिमीको झोल तरकारी, भ्यान्टा र डल्ले खुर्सानीको अचार, बिहानको खाजा । ‘रक्सी छैन ?,’ मैले मगर्नी छ्यामालाई सोधेँ ।
‘तँ मुर्दार त यतै बस् के, एउटा रक्सी पार्ने खोज्दिम्ला,’ छ्यामाले झण्डै मलाई काउले डाँडामा राखिनन् ।

काउले डाँडाबाट ३० किलोमिटर ओरालो झरेर हामी नेपालको दोस्रो ठूलो उपत्यका रामपुर फाँटमा पुग्यौँ । कालीगण्डकीको तिरमा रामपुरे भोजन तयार थियो । दुर्भाग्य, हामी दुई घण्टा ढिला पुगेकाले खसी त हामी नपुग्दै दाम्लो चुँडालेर भागेछ । खानामा मटन क्लियर सुप भयो भनेर केही साथीहरू मुर्मुरिँदै थिए । जीवन सरल रेखा होइन भनेजस्तै साइकल यात्रा पनि सरल गोरेटो होइन ।
साइकल सधैँ ओरालोमा फिलीली मात्र दौडिँदैन । साइकलले कहिलेकाहीँ बुटवलदेखि काउलेको चुचुरो पनि चढ्नुपर्छ । अब फेरि अर्कोपटक हामी तानसेनदेखि काउलेको डाँडोसम्म चढेर रामपुर फाँटमा झरेर कालीगण्डकीको तिरैतिर सुस्ताउँदै, साइकले मायाका डोबहरू राख्दैराख्दै निजगढको समतल फाँटमा पुगेर सुस्ताउनेछौँ । देश घुमौँ ।
(‘पाल्पा हेरिटेज राइड तेस्रो संस्करण’, मंसिर, २०८३)










