भोगाधिकारको ५६ वर्षपछि वनगाईका १४८ परिवारले पाए जग्गाधनी पुर्जा
रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७, वनगाईका १४८ जना लालपुर्जाविहीन स्थानीयले ५६ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि आफ्नो हकभोगमा रहेको जग्गाको कानुनी स्वामित्व पाउन नसकेका स्थानीयले अन्ततः जग्गाधनी पुर्जा पाएसँगै खुसी व्यक्त गरेका छन्।



मायादेवी गाउँपालिका–७ (साबिक हाटीबनगाई गाविस वडा नं. ६ (क) र ६ (ख)) अन्तर्गतका कित्ता नं. २२८, ४५८, ३२४ र ३६७ का गाउँब्लक जग्गाहरूको जग्गाधनी पुर्जा वितरण गरिएको हो।
मायादेवी गाउँपालिका–७ का वडाध्यक्ष तथा प्रवक्ता शैलेन्द्रकुमार पाण्डेयले १४८ जना जग्गाधनीले पुर्जा प्राप्त गर्नु वडाका लागि महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि भएको बताए। वर्षौंदेखि हकभोग गर्दै आएको जग्गाको आधिकारिक स्वामित्व प्राप्त गर्ने स्थानीयको सपना पूरा भएको उनको भनाइ छ।
पुर्जा प्राप्त गर्ने स्थानीय राकेश पाण्डेयले लामो समयदेखि आफ्नो स्वामित्वमा रहेको जग्गाको कानुनी प्रमाण प्राप्त गर्न नसक्दा विभिन्न समस्या भोग्नुपरेको बताए। ५६ वर्षपछि जग्गाको आधिकारिक प्रमाण प्राप्त हुँदा स्थानीयमा खुसी, आशा र उत्साह थपिएको उनले बताए।
नापजाँचको काम २०२७ सालमै सम्पन्न भएको भए पनि आवश्यक कानुनी आधार नहुँदा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा प्राप्त गर्न सकेका थिएनन्। नापजाँच सम्पन्न भएको ५६ वर्षपछि स्थानीयले पुर्जा प्राप्त गर्नु ठूलो उपलब्धि भएको अमिन लक्ष्मण घिमिरेले जानकारी दिए।
जग्गाधनी पुर्जा केवल कागजी प्रमाण मात्र नभई नागरिकको सम्पत्ति, पहिचान, अधिकार र सुरक्षित भविष्यसँग जोडिएको महत्वपूर्ण दस्तावेज हो। पुर्जा प्राप्तिसँगै स्थानीयलाई आफ्नो सम्पत्तिको संरक्षण, उपयोग तथा कानुनी रूपमा हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले नागरिकको आर्थिक तथा सामाजिक सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गर्न नसकेका वनगाईका स्थानीयका लागि पुर्जा वितरणले लामो समयदेखिको प्रतीक्षा र अन्योल अन्त्य गरेको छ।










