latest
बालेनको अग्निपरीक्षा : दिल्लीलाई रिझाउने कि नेपालको पीडा सुनाउने?  ||    पाल्पाको दमकडा मावि अन्तर्राष्ट्रिय गुणस्तरबाट प्रमाणीकरण  ||    चिच्याएर वर माग्ने सत्यवती बज्यै मन्दिरको उद्घाटन, गुरुयोजना बनाउँदै तिनाउँ  ||    राष्ट्रिय कर दिवस : बुटवलमा उत्कृष्ट करदातालाई सम्मान  ||    पुष्कर शाहसहित २०० साइकलयात्री पाल्पा आउँदै, मंसिर ५ देखि हेरिटेज राइड  ||    विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||   
बिहिबार , मंग्सिर ४, २०८३

पाल्पाको दमकडा माविले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण, जिल्लामै पहिलो

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेको छ । ‘Global Quality Assurance Certification Pvt. Ltd.’ द्वारा प्रदान गरिने उक्त प्रमाणपत्र प्राप्त गर्ने दमकडा मावि पाल्पा जिल्लाकै पहिलो विद्यालय बनेको छ ।

विद्यालयले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिह्न प्राप्त गरिसकेको थियो । प्रमाणीकरण प्रक्रियाका सम्पूर्ण चरण पूरा गर्दै निर्धारित मापदण्डहरू पालना गरेपछि विद्यालयले औपचारिक रूपमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

यसै अवसरमा विद्यालयको सभाहलमा प्रमाणपत्र हस्तान्तरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयले प्राप्त गरेको यो उपलब्धि समग्र पाल्पा जिल्लाकै शैक्षिक क्षेत्रका लागि गौरवको विषय भएको बताएका छन् । विद्यालयले अवलम्बन गरेका शैक्षिक गुणस्तर, संस्थागत व्यवस्थापन तथा असल अभ्यासहरू राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुनु सकारात्मक उपलब्धि भएको उनीहरूको भनाइ थियो ।

लुम्बिनी प्रदेश तथा पाल्पा जिल्लाकै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित दमकडा माध्यमिक विद्यालयले प्राप्त गरेको यस उपलब्धिले जिल्लाको शैक्षिक पहिचान र प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएको छ । साथै, यसले जिल्लाका अन्य शैक्षिक संस्थाहरूलाई पनि गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन र संस्थागत सुधारका क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

पाल्पा जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल हुनु दमकडा माध्यमिक विद्यालयको शैक्षिक यात्रा र संस्थागत विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय