पाल्पा । संघीय संसद्का सभामुख डीपी अर्यालले वर्तमान सरकार निरङ्कुश वा हिटलर शैलीमा नभई संविधान, कानुन र विधिसम्मत प्रक्रियाअनुसार सञ्चालन भइरहेको दाबी गरेका छन् ।
शनिबार पाल्पामा आयोजित नागरिकसँगको छलफल कार्यक्रममा बोल्दै सभामुख अर्यालले सरकारले कुनै दल, समूह वा व्यक्तिलाई लक्षित गरेर काम नगरेको स्पष्ट पारे । विपक्षी दलहरूले सरकार निरङ्कुश शैलीमा अघि बढेको आरोप लगाइरहेका बेला उनले राज्य सञ्चालनमा संविधान र प्रचलित कानुनलाई नै आधार बनाइएको बताए ।



उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले १ सय ६६ वटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए । संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता कायम गर्न कानुन संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।
सभामुख अर्यालका अनुसार श्रम तथा रोजगार, पर्यटन, युवाको विदेश पलायन, भूमिहीन नागरिकका समस्या, अव्यवस्थित जग्गा व्यवस्थापन तथा सरकारी र गुठी जग्गासम्बन्धी विषय कानुन संशोधनको प्राथमिकतामा छन् ।
उनले लामो समयदेखि नागरिकले भोग्दै आएका जग्गाको स्वामित्व तथा भोगचलनसम्बन्धी समस्या समाधान गर्न पनि कानुनी सुधार अघि बढाइएको बताए । कानुनलाई समयानुकूल परिमार्जन गर्दै तीनै तहका सरकारबीच अधिकार र जिम्मेवारी स्पष्ट पार्न सके संघीय शासन प्रणाली थप प्रभावकारी हुने उनको विश्वास थियो ।










