पाल्पा । शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल, पाल्पाले आफ्नो २१औँ वार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रका २५ जना व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले आगामी पुस ११ गते शनिबार वार्षिक दिवस समारोह आयोजना गरी सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो।
प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीका अनुसार यस वर्ष विभिन्न विधाका १४ जना व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कार, लक्ष्मीप्रिया जगतबहादुर जोशी स्मृति पुरस्कार, जगत कमल कुलमणि कविन्द्र चतुर्मुखी साहित्य पुरस्कार, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार, शक्तिराज रेग्मी सञ्चार सेवा सम्मान, इन्द्र राधा भारती शिक्षा सेवा सम्मानलगायतका पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।



यसैगरी, साहित्यकार जगतबहादुर जोशीको शतवार्षिकी समापनको अवसरमा विभिन्न क्षेत्रका थप ११ जना व्यक्तित्वलाई ‘जगतबहादुर जोशी शतवार्षिकी सम्मान’ समर्पण गरिने प्रतिष्ठानले जनाएको छ। साथै, यसै वर्ष साहित्यकार कमलराज रेग्मीको शतवार्षिकी शुभारम्भको घोषणा पनि गरिनेछ।
वार्षिक दिवसकै अवसरमा विभिन्न छात्रवृत्ति कार्यक्रमअन्तर्गत दर्जनौँ विद्यार्थीलाई छात्रवृत्ति रकमसमेत वितरण गरिनेछ। दिनकुमारी ज्ञवाली स्मृति छात्रवृत्ति, विमला कमल चारवर्षे शैक्षिक छात्रवृत्ति, नैना नेपाल ढकाल छात्रवृत्ति तथा ज्योति रेग्मी अधिकारी छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको छ।
सम्मान तथा पुरस्कारका लागि छनोट भएका व्यक्तित्वहरूको नाम भने कार्यक्रमकै दिन सार्वजनिक गरी पुरस्कार तथा सम्मान समर्पण गरिने अध्यक्ष रेग्मीले जानकारी दिए।
वि.सं. २०६३ सालमा स्थापित प्रतिष्ठानले शिक्षा, स्वास्थ्य तथा साहित्यको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले पुरस्कार, सम्मान तथा छात्रवृत्तिमार्फत सम्बन्धित क्षेत्रको योगदानको कदर गर्नुका साथै प्रतिभा प्रोत्साहन र सामाजिक सेवामा टेवा पुर्याउँदै आएको छ।










