तानसेन — पाल्पा उद्योग वाणिज्य संघ, तानसेन पाल्पाले आफ्नो ६० औँ स्थापना दिवस समारोह मनाएको छ । समारोहका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले पाल्पा उद्योग वाणिज्य संघ उद्योगी तथा व्यापारीहरूको साझा संस्था रहेको बताउनुभयो । उहाँले संघले उद्योगी तथा व्यवसायीको हकहित, अधिकार संरक्षणसँगै खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उद्योगी तथा व्यवसायीका समस्या, बजारको अवस्था र उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर संघले आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले उपभोक्तालाई कर शिक्षा, डिजिटल मार्केटिङ, बजार अनुगमन लगायतका विषयमा जानकारी दिने तथा सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईले ६ दशकको इतिहास बोकेको पाल्पा उद्योग वाणिज्य संघले जिल्लाको उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको बताउनुभयो । उद्योगी तथा व्यवसायीका हकहित संरक्षण, व्यवसायिक वातावरण निर्माण र आर्थिक गतिविधिलाई चलायमान बनाउन संघको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले जिल्लाको समुन्नत विकासका लागि उद्योग वाणिज्य संघ जस्ता उधाेगी तथा व्यापारीहरूको हक हित र अधिकारका लागि स्थापित सस्थाहरूबीच समन्वय, सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय र सहकार्य गरी जिल्लाका उद्योगी तथा व्यवसायीको हकहित र अधिकार सुनिश्चित गर्नुपर्ने तथा समग्र पाल्पाको विकासका लागि साझा प्रयास अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका एसोसिएट उपाध्यक्ष राजु महर्जनले तानसेनको बजार पछिल्लो समय खस्किँदै गएको बताउँदै व्यवसायिक गतिविधि बढाउन अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । नयाँ व्यवसाय तथा काम गर्न चाहनेहरूलाई आवश्यक सहयोग र प्रोत्साहन गर्ने वातावरण नहुँदा लगानी तथा व्यापार विस्तारमा समस्या भइरहेको उहाँको भनाइ थियो । उहाँले स्थानीय सरकारले व्यवसायी माथि लगाउँदै आएको करको दर घटाउनुपर्ने, लगानीकर्तालाई पाल्पामा आकर्षित गर्न पहल गर्नुपर्ने र नयाँ लगानीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । तानसेनको विकास र आर्थिक समृद्धि पर्यटनबाट सम्भव रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन, पर्यटक आकर्षण र लगानी मैत्री वातावरण निर्माणका लागि सबै पक्षले मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।



कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरू हरि रायमाझी र मधु दयाल शैजु, संघका उपाध्यक्षहरू मुक्तिराम जिसी र रञ्जना अर्याल, नेपाल नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्मा लगायत उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तिका तर्फबाट केदार लाल श्रेष्ठले मन्तव्य राख्नु भएको थियो भने संघका सचिव सुरेश गोदारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । ६ दशक लामो संस्थागत इतिहास, उद्योग तथा व्यापार क्षेत्रसँगको आबद्धता र जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्य सहित आयोजित स्थापना दिवस समारोह पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीर मान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।










