latest
चिच्याएर वर माग्ने सत्यवती बज्यै मन्दिरको उद्घाटन, गुरुयोजना बनाउँदै तिनाउँ  ||    राष्ट्रिय कर दिवस : बुटवलमा उत्कृष्ट करदातालाई सम्मान  ||    पुष्कर शाहसहित २०० साइकलयात्री पाल्पा आउँदै, मंसिर ५ देखि हेरिटेज राइड  ||    विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||   
बुधबार , मंग्सिर ३, २०८३

सत्यवती बज्यै मन्दिरको नवनिर्मित भवन उद्घाटन, संरक्षण र विकासका लागि गुरुयोजना बनाइँदै

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सत्यवती बज्यै मन्दिरको नवनिर्मित भवन उद्घाटन गरिएको छ। चिच्याएर वर माग्दा मनोकामना पूरा हुने धार्मिक विश्वास बोकेको सत्यवती मन्दिरको नवनिर्मित भवन तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उद्घाटन गर्नुभएको हो।

मन्दिर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले सत्यवती मन्दिर तिनाउ गाउँपालिकाको मात्र नभई समग्र पाल्पा जिल्लाकै महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा भएको बताउनुभयो। मौलिक परम्परा र धार्मिक आस्थासँग जोडिएका सम्पदाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै उहाँले मन्दिरको समग्र विकासका लागि मन्दिर व्यवस्थापन समितिसँगको समन्वयमा गुरुयोजना निर्माण गरी संरक्षण तथा विकासका काम अघि बढाइएको जानकारी दिनुभयो।

तीनै तहका सरकार र मन्दिर व्यवस्थापन समितिबीचको समन्वय तथा सहकार्यमा मन्दिर भवन निर्माण, मन्दिरसम्म पुग्ने सडक स्तरोन्नति तथा आवश्यक पूर्वाधार र व्यवस्थापनका काम भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। उहाँले स्थानीय मौलिक कला र संस्कृतिको पहिचानका रूपमा रहेको लोपोन्मुख परम्परागत सोरठी नाचको संरक्षण तथा निरन्तरताका लागि गाउँपालिकाले पहल गरिरहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सत्यवती मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। विशेषगरी सत्यवती मेलाको समयमा आउने भक्तजनको शान्ति, सुरक्षा र सहज आवागमन व्यवस्थापनका लागि प्रहरी प्रशासनको तर्फबाट कुनै कमी हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो।

सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार नवनिर्मित मन्दिर भवन ६५ लाख ५८ हजार ४ सय १३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। उक्त निर्माणमा समितिको ४० लाख ५८ हजार रुपैयाँ र तिनाउ गाउँपालिकाको २५ लाख रुपैयाँ लगानी रहेको उहाँले जानकारी दिनुभयो।

मन्दिर उद्घाटन तथा समन्वय बैठकमा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापा, नेपाल प्रहरीका डीएसपी भीमलाल भट्टराई, सशस्त्र प्रहरी बल गुल्म नम्बर ३५ का गणपति नरेशकुमार खड्का, ट्राफिक प्रहरी प्रमुख राजेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत फर्सुराम भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

धार्मिक आस्था, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यको संगमका रूपमा परिचित सत्यवती मन्दिरको पूर्वाधार विकाससँगै प्रचारप्रसार र संरक्षणका कामले गति लिएमा यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय