
माथागढी गाउँपालिकाले महिला शिक्षकले सुत्केरी विदामा सट्टा शिक्षक व्यवस्थापन गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा महिला शिक्षकले सुत्केरी विदा लिएको समयमा सट्टा शिक्षक व्यवस्थापन गर्ने नीति तथा कार्यक्रम माथागढीले लिएकाे हाे ।
गाउँपालिकाले सुत्केरी महिला शिक्षकले पाउने ९८ दिनको विदामा विद्यार्थीको पढाई नबिग्रियोस् भनेर सट्टा शिक्षक व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताए । गाउँपालिका अध्यक्ष चिदी भन्छन्, सट्टा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । बजेट अपुग भएपछि अन्य शीर्षकबाट मिलान गरेर भएपनि उक्त शीर्षकमा बजेट अभाव हुन दिँदैनाैं ।



गाउँपालिकाले सट्टा शिक्षक व्यवस्थापनका लागि दरखास्त आह्वान गरेर ९८ दिनको करारमा नियूक्त गर्ने गरि तयारी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेले गाउँपालिकाले प्राथमिकताका साथ महिला शिक्षकको सहजताका लागि यो कार्यक्रम ल्याएको बताउनुभयो ।
माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६३ करोड ७४ लाख ९२ हजार ८ सय ५४ रुपैंयाको अनुमानीत आयव्यय प्रस्तुत गरेको छ । जसमा चालु तर्फ ४३ करोड ८९ लाख ९२ हजार ८ सय ५४ रुपैँया र पुँजीगत तर्फ १९ करोड ८५ लाख रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजश्व मार्फत १ करोड ६४ लाख ४५ हजार रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।
गाउँपालिकाले सामाजिक विकासतर्फको शिक्षा क्षेत्रमा ३ करोड ५८ लाख, स्वास्थ्यतर्फ २ करोड ७१ लाख, खानेपानीतर्फ १० लाख, लक्षित वर्ग, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणतर्फ १० लाख, यूवा तथा खेलकुदतर्फ २३ लाख, कृषि तथा पशुपंक्षी विकासतर्फ १ करोड ६७ लाख ५० हजार, उद्योग, नवप्रवर्तन तथा उद्यमशिलता विकास र रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ आवश्यक बजेट, सडक तथा यातायात र भवन तथा आवास सहित पुर्वाधार तर्फ १० करोड, विपद व्यवस्थापन, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको छ ।