
तानसेन ११ बन्दिपोखरा पाल्पाका किसानहरुलाई मौरी र लोकल कुखुराका चल्ला वितरण गरिएको छ ।
किसानहरुलाई आत्मनिर्भर गराउने उद्देश्य सहित गोला सहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनी भन्छन्, आर्थिक विकास पर्यटन र कृषिबाट सम्भव रहेकोले कृषिभूमीको अधिकतम सदुपयोग गर्न समय आएको छ । कृषिलाई उन्नत कसरी गराउन तानसेन योजनावद्द रुपमा अगाडी बढेको छ ।



तानसेन नगरपालिका नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले अनुदानमा पाएका चीजलाई संरक्षण गर्न किसानले जिम्मेवारीबोध गर्नुपर्ने बताईन् । कृषिका माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन कृषकको ध्यान पुग्नुपर्ने उपप्रमुख प्रतिक्षा गाहाले बताईन् ।
तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले आयात प्रतिस्थापन र निर्यात प्रवर्दन गर्न कार्यक्रम फलदायी बन्ने बताए । उनले वैकल्पिक खेती गरे जंगली जनावरबाट पार पाउन सकिने बताए ।
रेडा पाल्पाका निर्देशक लिलाबहादुर कार्कीले आयआर्जन वृद्दि र सामाजिक सशक्तिकरण गर्न किसानमुखी कार्य गरिएको बताए । उनले टोल र बस्तिका सम्भावना तथा अवसरखोजी गर्दै समूहको माध्यमबाट अभियान सुरु गरिएको बताए ।
तानसेन नगरपालिका ११ वडा अध्यक्ष एवम् प्रवक्ता यादवसिंह कार्कीले कुखुराको चल्ला शत प्रतिशत र मौरी घार ५०% अनुदानमा कृषकलाई प्रदान गरिएको बताए ।
२२ घार र ५ हजार चल्ला वितरण गरिएको हो । तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हेफर नेपालको प्राविधिक सहयोग, तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडा पाल्पाको सहजीकरणमा कार्यक्रम गरिएको हो । हेफरले चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँबाट कृषकमुखी कार्य गर्दैछ ।