मुना-मदनजस्तो वियोगान्त प्रेम कथा त हैन नि उनीहरुको ।

उनीहरुको प्रेमको त ‘ह्याप्पी इन्डिङ’ भइसकेको छ ।

हो, मायाको बारीमा मुना-सुविनको पि्रतीको फूल यतिबेला सयपत्री र सुनाखरी झैं फक्रिएको छ ।

‘विवाहपछि पनि हामी प्रेमी-प्रेमिका नै हौं,’ सुविन भट्टराई भन्छन्, ‘हामी उसैगरी जिस्किन्छौं, डेटिङ जान्छौं, ठुस्किन्छौं र उसैगरी एकअर्कालाई फकाउँछौं ।’

महाकवि देवकोटाका मुना-मदन त एकसाथ रहनै पाएनन् । मदन भोटमा, मुना यता नेपालमा । वियोगै वियोग । आजको नेपालमा पनि ‘मुना’लाई एक्लै छाडेर खाडी मुलुकमा पसिना बगाउन ‘मदनहरु’को ताँती लागिरहेकै छ ।

मुना र सुविनको कथा भने बेग्लै छ । यो जोडीलाई प्रेमको ‘सुपरग्लू’ले कुन हदसम्म जोडेको छ भने उनीहरु हरक्षण सँगै हुन्छन् । फिल्म हलदेखि सपिङ मलसम्म, बेडरुम-किचनदेखि बजारसम्म । घुम्न, फिल्म हेर्न, रमाइलो गर्न दुबै एकसाथ हिँड्छन् ।

‘एकछिन कतै निस्कनुपर्‍यो भने प्रायः दुबै निस्कन्छौं,’ सुविन भन्छन्, ‘घरमा त यसैपनि साथै हुन्छौं ।’

परिस्थितिले नै दुबैलाई साथ दिएको छ । ‘समर लभ’का लेखक सुविनको धेरैजसो समय घरमै व्यतित भइरहेको हुन्छ । सुविनको घर नै कार्यालय हो, कर्मथलो हो । घरमै बसेर लेख्छन् । मुना पनि प्रायः घरमै हुन्छिन् ।

वान्स अपन अ टाइम…

पर्खाइको मजा बेग्लै थियो ।

विवाहअघि सुविनका थुप्रै पल, मिनेट, घण्टा पर्खाइमै वितेका थिए । होटलको बार्दलीमा उभिएर वा पार्कमा पल्टिएर प्रेमिकालाई कुरेका ती गर्मी दिनहरुको यादले सुविन भट्टराईलाई अहिले पनि रोमाञ्चित बनाउँछ । त्यसबेला मुना बर्तौला पत्नी होइन, प्रेमिका थिइन् । प्रेमिकाअघि फ्यान । लेखक र पाठकको दुरी छिचोलिँदै उनीहरुको सम्बन्ध प्रेमी-प्रेमिकामा बदलियो ।

प्रेमिकालाई भेट्न हेटौंडा पुग्नुपर्ने । मुग्लिङको पट्यारलाग्दो बाटो पार गर्दै हेटौंडा पुगेपछि पनि प्रेमिका ‘दुर्लभ’ नै हुने । सहजै भेट्न नसकिने ।

‘धेरै पटक पर्खिएको छु,’ सुविन भन्छन्, ‘एकै ठाउँ उभिएर अल्छी लाग्नेगरी पर्खंदा थोरै अधैर्य, थोरै बेचैन, थोरै क्रुद्ध हुन्थें ।’

ती प्रेमिल दिनका यादहरुलाई अझैपनि उनीहरुले जतनसाथ राखेका छन् । दाम्पत्य जीवनका मोडहरुमा तिनै यादहरुले मिठास भर्ने गर्छन् ।

रोमान्टिक ‘रसायन’

सुविन र मुनाबीच अब कुनै पर्खाल छैन । दुरी छैन । उनीहरु एकाकार भएका छन् । न उनीहरुसँग लुकाउने कुरा छ, न छिपाउने ।

‘हामी एकदमै खुलस्त छौं,’ सुविन भन्छन्, ‘अति सानो कुरा पनि शेयर गर्छौं ।’

दिनभरमा के भयो, कोसँग भेटियो भन्नेसम्मका कुराहरु उनीहरु आपसमा साट्छन् ।

‘आज म तपाईसँग भेट्दैछु भन्ने कुरा उनलाई थाहा छ,’ सुविन थप्छन्, ‘हामीबीच केहि कुरा लुक्दैन ।’

‘डिप लभ’मा परेकाहरु पनि विवाहपछि अलग भएका उदाहरण प्रशस्त छन् । सुविन र मुनाको भने ‘केमेस्ट्री’ मिलेको छ । सोच, शैली, सोख, बानी र व्यवहार दुबैको समान छ ।

दुबै घुमक्कड । बिन्दास घुम्न पाएपछि केहि नचाहिने । मनपर्दो किताबमा घोत्लिएपछि आफैंलाई भुलिदिने । सिनेमा हेर्न होस् वा संगीत सुन्न, दुबै अघाउँदैनन् । दुबैलाई जिस्कनुपर्ने, जोक गर्नुपर्ने । कहिलेकाहीँ ढोका थुनेर नाच्नुपर्ने । रोमान्टिक जोडी ।

सुविनलाई आफ्नो कोठा, विछ्यौना, लुगाफाटो, पुस्तक, डायरी सबै चिरिच्याट्ट हुनुपर्छ । व्यवस्थित हुनुपर्छ । मुनालाई पनि त्यस्तै चाहिन्छ । बेडकभरको रंगदेखि फिल्मसम्म उनीहरुको मत मिल्छ । दक्षिण भारतीय मार्काको फिल्मदेखि क्लासिक शैलीका फिल्म हेर्दा उनीहरु हाई काड्दैनन् ।

‘हामी फेरि फिल्म भनेपछि हुरुक्कै’ सुविन भन्छन्, ‘यो वा त्यो भन्ने छैन, जस्तो भएपनि फिल्म गजबले हेरिन्छ । क्लासिक खालको फिल्म चाहीँ स्वाद लाग्छ ।’

दुबैलाई गाडीमा भन्दा पैदल हिँड्नुमा रमाइलो लाग्छ ।

‘धुलो नउड्ने बाटो छ भने हिँडौं भन्छु,’ सुविन भन्छन्, ‘उनी पनि फुरुङ्ग हुन्छिन् ।’

पहिरनमा सुविनको ‘च्वाइस’

मुनालाई कस्तो लुगा सुहाउँछ ? सुविनलाई थाहा छ । मुनाको पहिरन सुविनले नै छनौट गरिरहेका हुन्छन् ।

‘पहिरन चाहीँ म आफैं रोज्छु’ सुविन भन्छन्, ‘मैले रोजेको उनलाई मन पर्छ पनि ।’

भनेपछि, सुविनको पहिरन चाहीँ मुना रोज्छिन् ?

‘होइन, मेरो पहिरन पनि म आफैं रोज्छु’ सुविन भन्छन्, ‘तर, किन्नुअघि उनलाई देखाएर सोध्छु ।’

मुनालाई कस्मेटिक्समा रुची छैन । श्रृंगारपटार गर्न मन पर्दैन । गरगहनामा पटक्कै आशक्ति छैन । बरु उनी कुकुर एवं पशुपंक्षीलाई असाध्यै माया गर्छिन् । उनी जस्तोसुकै पशुपंक्षीलाई पनि मान्छेलाई भन्दा बढी माया गर्छिन् ।

रिसाउँदा नि आफ्नै

सुविनलाई हत्तपती रिस उठ्दैन, उठेपछि चर्कै हुन्छ । नियन्त्रण बाहिर हुन्छ । अनि उनी हातमा जे छ, त्यही बजार्छन् । रिसको झोंकमा उनले गिलास फुटाएका छन्, मोबाइल तोडेका छन्, ल्यापटप ठटाएका छन् ।

‘मेरो रिस त भयंकर हुन्छ नि’, सुविन भन्छन्, ‘उठेपछि थाम्नै सक्दिनँ, छताछुल्ल पार्छु । बाहिरका मान्छेले देख्दा पनि के-के न भएछ भन्ठान्छन् ।’

सुविनको अनुभवमा कहिलेकाहीँ ठाकठुक नपरी, मनमुटाव नभई, घुर्की नलगाई दाम्पत्य जीवनको रस पनि त हुँदैन । एउटा रिसाउँदा अर्कोले, फकाउने । एउटाले घुर्काउँदा, अर्कोले सम्हाल्ने । रिसाउँदा नि आफ्नै, खुशी हुँदा नी आफ्नै ।

यसैलाई भन्छन्, ‘लभ एण्ड हेट’ रिलेशन, जसले सम्बन्धलाई अझ गाढा बनाउँछ ।

‘हाम्रो रिस धेरै समय टिक्दैन,’ सुविन भन्छन्, ‘दुबै रिसाएर नबोल्दा साह्रै पट्यार लाग्छ ।’

बोलिरहनुपर्ने, छिल्लिइरहनुपर्ने, जोक गरिरहनुपर्ने सुविनलाई पत्नी चुपचाप बसेको मन पर्दैन । कुनै न कुनै बहाना बनाएर बोलिहाल्छन् ।

रिसाएको बेला फकाउन चाहीँ को अग्रसर हुन्छ त ?

‘जसको गल्ती छ, उसैले सरी भन्ने हो,’ सुविन भन्छन्, ‘तैपनि धेरैजसो ‘सरी’ म नै भन्छु ।’

कस्मेटिक हैन, नेचुरल लभ

‘आकाशका तारा झारीदिन्छु’ भनेर कसैले पत्याउने जमाना त अब रहेन । हिजोआज प्रेमिकालाई खुशी तुल्याउन कोही ‘आइफोन किनिदिउँला’ भन्लान्, कोही फिल्म हेर्ने अफर गर्लान् । अनि कोही रेस्टुरेन्टमा खान लैजालान् ।

सुविनले भने पत्नी अर्थात मुनालाई खुसी तुल्याउन यस्ता प्रलोभनहरु केही दिनुपरेको छैन । कतै लङ ड्राइभको मज्जा दिलाउनु परेको छैन, सरप्राइज गिफ्ट दिनुपरेको छैन अनि सपिङमा हिँडाउनु परेको पनि छैन ।

त्यस्तै, पती/प्रेमी सुविनलाई मख्ख पार्न मुनाले पनि विशेष परिकार तयार गरेर ख्वाउनु परेको छैन । अर्डर बिना चिया वा कफी टक्र्याउनु परेको पनि छैन ।

उनीहरुको प्रेममा नाटकीय पारा पटक्कै छैन । स्वाभाविक रुपमा भित्रैदेखि उम्लिएर पोखिने प्रेमको धारा जसरी बगीरहेको छ, त्यसैमा दुवै खुसी छन्, सुखी छन् ।

‘पत्नीलाई कसरी खुसी पार्ने भनेर टिप्स खोज्नु परेको छैन,’ सुविन भन्छन्, ‘हाँसीखुसी जीवन चल्दैछ । प्राकृतिक प्रेममै रमाइरहेका छौं । हामीलाई कस्मेटिक माया मन पर्दैन ।’

फरक रुची र स्वाद

सुविनको संयुक्त परिवार छ, कपनमा । त्यसैले भान्सामा आफ्नो मर्जी चल्दैन । जे पाक्छ, खानुपर्छ । सुविनको भान्सामा तामसिक भोजन बन्दैन । सादा दाल, भात, तरकारी, अचार । बस् ।

खाने रुचीमा भने मुना उत्तर, सुविन दक्षिण ।

सुविनको जिब्रो ननभेजमा अभ्यस्त छ । मुना भने सात्विक ।

यो भिन्नताबीच एकरुपता चाहिँ के हो भने उनीहरु दुबै सादा र स्वस्थ खानामा जोड दिन्छन् । घरमा जे पाक्छ, त्यही खान्छन् । बाहिर वा रेष्टुरेन्टको खानामा उनीहरुको पटक्कै रुची छैन । मुनाले कलेजमा खानका लागि टिफिन पनि घरबाटै बनाएर लाने गरेकी छिन् ।

दुवै म्युजिक सुन्छन्, तर संगीतको प्याट्रनमा उनीहरुको रुचि एक समान छैन । सुविनलाई पुराना नेपाली, हिन्दी गीत मनपर्छ भने मुनालाई पश्चिमा संगीत ।

‘अहिले मलाई पनि उनको संगतमा लागेर वेस्र्टन म्युजिक सुन्ने बानी परेको छ,’ सुविन भन्छन् ।

सुत्ने र उठ्ने समय पनि केही फरक छ । मुना राति १० बजे ओछ्यानमा पस्छिन्, सुविन ११ बजे । बिहान सुविनलाई निन्द्राले नछोड्दै मुना उठिसकेकी हुन्छिन् ।