पाल्पा, रजघरा खानेपानी तथा उपभोक्ता  समिति रामपुर ३ रजघरा पाल्पाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख थापाले खानेपानी जनताको आधारभूत आवश्यकता संग जोडिएको संवेदनशिल विषय भएको बताउनु भएको छ ।

नगरबासीको खानेपानीको आवश्यकतालाई परिपूर्ति गर्नका लागि नगरपालिका संधै प्रतिबद्ध भएर अगाडी बढि रहेको बताउनुभयो । सरकारको एक घर एक धारा नीति अनुसार नगर सरकार पनि सोही अनुरुप लागि रहेको बताउनु भएको छ । नगर प्रमुख थापाले खानेपानी सम्बन्धि केही सरकारको नीति परिवर्तन गर्न आवश्यक रहेको औल्याउँनुभयो । उहाँले खानेपानी योजना सञ्चान गर्दा उपभोक्ता स्वयमले खरिद गर्न नपाउने खानेपानी डिभिजन कार्यालयको प्रावधान ठिक नभएको बताउनुभयो । उहाँले भन्नुभयो – “हरेक खानेपानी योजना सञ्चालन गर्दा स्वयम उपभोक्ताले विभिन्न सामान खरिद गर्न पाउनु पर्छ , कार्यालयले खरिद गर्दा त्यहीँ  आर्थिक अनियमितताको आशंका हुन्छ ।” जनताको आवश्यकता संग सम्बन्धित कुनै पनि विषयमा राजनिति मिसाउन नहुने भन्दै उहाँले राजनितिक खिचातानीका कारण नगरको विकासमा समेत अवरोध पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं। १ का अध्यक्ष कपिल बहादुर खाँणले खानेपानी जनताको आवश्यकता र स्वास्थ्य संग जोडिने भएकाले संवेदनशिल भएर लाग्न आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिकाले पहिले जनताको आवश्यकता हेर्ने र त्यस पश्चात सर्व पक्षिय सहमतिलाई हेरेर बजेटलाई प्राथमिकता दिएकोले खानेपानी उपभोक्ता समितिलाई पनि सोही आधारमा सहयोग गर्ने बताउनुभयो । यस्तै वडा नं। ३ का अध्यक्ष दामोदर पाठकले स्वच्छ पिउने पानी खुवाउन र सबै उपभोक्ताको घर घरमा धारा पु¥याउन समितिले काम गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य सुर्य प्रसाद श्रेष्ठ , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका ईन्जिनियर सन्जिव अधिकारी ,निर्वाचन अधिकृत पशुपति खनाल , नेकपा एमाले रामपुर ३ का अध्यक्ष ईश्वरी खनाल , नेपाली काँग्रेसका सभापति प्रकाश ज्ञवाली लगायतले बोल्दै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

साधारण सभामा पूर्व तदर्थ समितिका सचिव लोकनाथ भट्टराईले करिब २८ लाख बराबरको आयव्याय र बर्तमान तदर्थ समिति सहसचिव खडक सिं ठकुरीले १ लाख ६० हजार बराबरको छुट्टाछुटै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समितिमा केही विवादका कारण २ पटक सम्म तदर्थ समिति गठन गरिएको थियो । साधारण सभा तथा अधिवेशनले हरि प्रसाद कंडेलको अध्यक्षतामा ९ सदस्यिय उपभोक्ता समिति गठन गरेको छ । जसको उपाध्यक्षमा प्रेम पोखरेल , सचिवमा खडक सिं ठकुरी मदन , कोषाध्यक्षमा विष्णु बहादुर थापा ,र सदस्यमा ईश्वरी पाण्डे , सलक कामी , पार्वती शाही , देउमाया विक र दिर्घनारायण चापागाँई रहनु भएको छ ।

तदर्थ समितिका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा भएको साधारण सभा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तदर्थ समितिका सदस्य यमकान्त पाठकको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन तदर्थ समिति सचिव हरिचन्द्र पोखरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय