पाल्पा, चैत २९
तानसेनको श्रीनगर प्रवेश गर्न ५ सय बढी सिंढी चढेर जान सकिने भएको छ । पाल्पा जिल्ला सदरकुमाम तानसेनको श्रीनगरमा नयाँ वर्षको अवसरमा श्रीनगर डाँडामा पर्यटन प्रवद्र्धन गर्न सिंढी मार्फत् श्रीनगरमा जान सकिने व्यवस्था गरिएको हो ।

तानसेन नगरपालिकाको सहयोगमा वडा नं. १ को कार्यालयले ५ सय ३६ बढी सिंढी निर्माण गरि पर्यटन पूर्वाधार तयार गरेको हो । अब तानसेन वडा नं. १ कार्यालय नजिक (युनाईटेड मिशन अस्पताल) माथिबाट श्रीनगर डाँडामा प्रवेश गर्न सकिने भएको छ । वर्षेनी नयाँ वर्षको अवसरमा हजारौं पर्यटकहरू श्रीनगर डाँडामा पुग्ने गरेकोले सिंढी निर्माण, बिश्राम स्थल, चाँद, प्रतिक्षालय निर्माण गर्नुका साथै रंगरोगनको कार्य गरिएको हो ।
पर्यटकीय नगर तानसेनमा नववर्ष २०८१ मनाउन देश तथा विदेशबाट पर्यटकहरुले भित्रने हुँदा उनीहरुलाई मनोरजनात्मक क्रियाकलाप गराउन पूर्वाधार निर्माणका कार्यलाई निरन्तर रुपमा अगाडी बढाउँदै आएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनी भन्छन्, “विगतका वर्षहरुमा पनि यहाँ नयाँ वर्ष मनाउन धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । श्रीनगरमा विगतमा भन्दा यस पटक बढी रौनकता थपिनेछ ।” श्रीनगरमा नयाँ वर्षको अवसरमा परिवार, समूह, नवजोडी आउने गर्दछन् । कोही विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरूले श्रीनगरको रौनकता थप्न सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताए ।

गर्मीयाममा हिमालको चिसो हावासँगै नाचगानका साथ रमाउन तराई क्षेत्र रूपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बासिन्दाहरूका लागि तानसेनको श्रीनगर विशेष क्षेत्र बन्ने गरेको छ । तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनिल कुमार बस्यालले तानसेन नगरपालिका कार्यालयको ५ लाख र अन्य स्थानीयहरुको सहभागितामा सात लाख रुपैयाँको लागतमा विभिन्न पूर्वाधार निर्माणको कार्य सकिएको बताए । श्रीनगर प्रवेश गर्न रंगरोगन गरिएको सिंढी निर्माण गरिएको छ । बीच भागमा प्रतिक्षालय निर्माण गरिएको छ । विभिन्न स्थानमा पर्यटकहरूका लागि चाहिने विश्राम बेन्च निर्माण, चाँद निर्माण तथा सरसफाई र रंगरोगनको कार्य सम्पन्न गरिएको वडाध्यक्ष बस्यालले बताए । वडाध्यक्ष बस्याल भन्छन्, अब श्रीनगर जाने प्रमुख प्रवेशद्धार यहि पूर्व क्षेत्र हो । यहाँ स्वच्छ खानेपानी, सुविधायुक्त शौचालय, बस्ने शीतल छहारीको व्यवस्थाका् कार्यका लागि पहल गरिरहेका छौं ।
तानसेन १ का वडा सदस्य राम प्रसाद भट्टराईले श्रीनगर प्रवेश गर्नमात्र होईन श्रीनगर डाँडाबाट सूर्योदय हेर्न पनि सहज भएको बताए । उनी भन्छन्, मर्निङ वाक गर्नेहरु सिढीं चढेर माथी श्रीनगर जाने गर्दछन् । यसले शारिरीक व्यायामसँगै स्वस्थ्य जीवनशैली अवलम्बन गर्न पनि टेवा पुगेको छ । यहाँ ५ सय ३६ बढी सिंढीहरू निर्माण गरिएका छन् । प्रकृतिले दिएको सुन्दर उपहारको रूपमा श्रीनगर डाँडालाई लिने गरिन्छ । श्रीनगर डाँडा नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकले भरिभराउ बन्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय