सुशीला रेग्मी
रामपुर (पाल्पा), १२ मङ्सीर

भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाको रजत महोत्सव समारोहको अवसरमा पत्रकार सम्मेलन भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा पत्रकार सम्मेलन कार्यक्रम भएको हो । कार्यक्रममा रजत महोत्सव समारोहका अवसरमा हुने विभिन्न कार्यक्रमबारे जानकारी दिईएको छ ।
रजत महोत्सवका अवसरमा अन्तर मावि लगायत विभिन्न कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल गोपि सिग्देलले बताउनुभएको छ । विद्यालयले २५ आँै वर्ष पूरा गरेको उपलक्ष्यमा मङ्सीर १४ गतेदेखि विविध कार्यक्रम आयोजना संचालन हुने र १९ गते विधिवत रुपमा रजत महोत्सव समारोह कार्यक्रम मनाउने कार्यक्रम रहेको प्रिन्सिपल सिग्देलले बताउनुभएको छ । रजत स्मारिका विमोचन, रजत स्तम्भ अनावरण, पुरस्कार वितरण लगायतका विभिन्न कार्यक्रम सहित मनाउने तयारीलाई तीब्र पारिएको विद्यालयले जनाएको छ ।
रजत महोत्सव समारोहको उद्घाटन भारतीय राजदुतावासका रक्षा सहचारी सहायक नविन जानुले गर्नुहुनेछ । पूर्वी पाल्पाको शैक्षिक क्षेत्रको विकासका लागि वि.सं २०२५ सालमा स्थापना भएको यस विद्यालय हाल सुबिधा सम्पन्न भवनमा संचालित छ । विद्यालय भवन अभावमा चउर, कोठा भाडा हुदै अहिले भौतिक पूर्वाधारमा आफ्नै करिव पाँच रोपनी चार आना जग्गामा विद्यालय भइरहेको विद्यालयका प्रबन्ध निर्देशक तथा संस्थापक अध्यक्ष अनेरी क्याप्टेन रोमनबहादुर रानाले बताउनुभयो । यस विद्यालयले उत्पादन गरेका विद्यार्थी नेपाल सरकारका विभिन्न निकाय, डाक्टर, इन्जिनियर, भारतीय सेनामा उच्च पदमा कार्यरत रहेको उहाँ बताउनुहुन्छ ।
रामपुर नगरपालिका वडा नं ५ स्थित मटेरीमा ६० जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल एक हजार ५० जना विद्यार्थी अध्ययनरत छन् भने ५८ जना शिक्षक कर्मचारी कार्यरत छन् । पूर्वप्राथमिक तहदेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायमा पठनपाठन सुरु गरेपछि उच्च शिक्षाका लागि विद्यार्थीलाई धेरै सहज भएको छ । दशवर्षे द्धन्द्धकालमा निकै चुनौतीलाई सामाना गर्दै नियमित पठनपाठन गरेको यस विद्यालयले पाल्पा जिल्लामै छुट्टै पहिचान दिन सफल भएको छ । संस्थागत शैक्षिक गुठी अन्तर्गत संचालित यस विद्यालयले सैद्धान्तिक सिकाईका अलवा अन्य विद्यालयको तुलनामा फरक खालका गुन्द्री बुन्ने, दुनाटपरी बुन्ने, बत्ति कात्ने, कृषि कार्य जस्ता अतिरिक्त व्यावहारिक क्रियाकलाप, बालमनोविज्ञानमा पठनपाठन, खेलकुद लगायतका विभिन्न कार्यक्रममा जोड दिएको छ ।
टाढाका विद्यार्थीलाई मध्यनजर गर्दै तीनवटा स्कुल बस सेवा नियमित रुपमा संचालन भइरहेको छ । दुईवटा विद्यालयको आन्तरिक स्रोतमा र एकवटा भारतीय दुतावासको सहयोगमा स्कुल बस सेवा संचालन गरिएको छ । विद्यालयको आन्तरिक खर्चबाट रजत महोत्सव समारोह सम्पन्न गरिने जनाइएको छ । विद्यालयमा छात्रावासको आवश्यकता रहेकाले अब छात्रावास संचालनमा जोड दिने, समयानुकुल शिक्षा संचालन गर्दै जाने पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रधानाध्यापक कमल शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक हरिप्रसाद भट्टराईले गर्नुभएको हो । विद्यालयमा २१८ जना हाल सेयर सदस्य आबद्ध छन् । कार्यक्रमको अवसरमा अन्तर मावि स्तरीय क्रिकेट प्रतियोगिता र शिक्षकहरु विचको मैत्रीपूर्ण भलिवलको टाईसेट सार्वजनिक गरिएको थियो । रजत महोत्सवको तयारी र व्यवस्थापनका लागि १५ वटा उपसमिति गठन गरी काम गरिरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय