बेलबारी । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।

कोसीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोसीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्यांक रहेको उनले बताए । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको संख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को संख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउँछन् ।

“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन”, बर्ड वाचिङ क्याम्प कोसीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” उनका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

वातावरण पत्रकार साथै शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका ३० परिवारका चार सयको संख्यामा चरा रहेको जसमध्ये ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको उपप्राध्यापक अधिकारीले जानकारी दिए । जसमध्ये खैरो टाउके फिस इगल र लेचर स्ट्रक जातका चरा आइएनसीयूको खतराको सूचीमा पर्दछन् ।

“कोसीटप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्”, विशेष गरी मंसिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने अधिकारी बताउँछन् ।

उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भू–भाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् ।

बर्सेनि करिब १५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्यांक छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलंकारित जान्छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहन्छन् । जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्छन् ।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ ।

नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।

नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय