यतिबेला गाजा र इजरायलको हावामा बारुद गन्हाइरहेको छ । बम पड्केर उठेको मुस्लोले आकाशको रङ बिगारेको छ । रगतका टाटाले जमिन रातै बनेको छ । डेढ वर्षदेखि चलिरहेको रुस-युक्रेन युद्धलाई ओझेल पार्ने गरी मध्यपूर्वमा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास एकअर्कालाई सिध्याउने संघर्षमा होमिएका छन् ।

गत शनिबार एकाबिहानै हमासतिरबाट एकाएक हानिएकाे रकेट, आकाश, जमिन र समुद्रबाट फुत्तफुत्त झरेका/निस्केका लडाकु इजरायलका लागि अकल्पनीय, अप्रत्याशित र अभूतपूर्व थियो ।

संसारकै उत्कृष्ट मानिने इजरायली गुप्तचर मोसादलाई समेत चक्मा दिँदै हमासले इजरायललाई अहिलेसम्मकै ठूलो क्षति गराइदियो । यति मात्रै होइन, इजरायलको भूमिमा छिरेर उसले सयभन्दा बढी इजरायली नागरिकलाई अपहरण गरी गाजाक्षेत्रमा पुर्‍याएको छ । अपहरितहरूको भविष्यबारे हमासबाहेक कसैले केही भन्न सक्दैन ।

मुसा-बिरालाेकाे खेलले हैरान इजरायल

हमास र इजरायलबीचको तनाव नौलो भने होइन । यो दशकौँदेखि चल्दै आएको छ । इजरायलले मानवीय र भौतिक क्षति झेल्नुपर्ने गरी जति पनि आक्रमणको सामना गरेको छ, यस्ताेमा एउटा नाम सधैँ अगाडि आउने गर्छ- मोहम्मद दाइफ (अरबमा जायफ) ।

२० वर्षयता उनी इजरायलको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । इजरायलले उनलाई नयाँ ओसामा विन लादेनका रूपमा हेर्छ । कतै भेटिहालेमा दाइफमाथि गोली बर्साउन इजरायली सेनाले एक सेकेण्ड पनि ढिला गर्ने छैन । यसअघि सम्पूर्ण बल लगाएर इजरायलले उनलाई मार्न सातपल्ट प्रयास गरिसकेको छ । तर, ऊ सफल हुन सकेको छैन । बरु दाइफले बारम्बार आक्रमण गरी इजरायलको निन्द्रा खोसेका छन् । यो ‘मुसा र बिरालोको खेल’ बाट निस्कन इजरायलले हमास सिध्याउने योजना बनाए पनि ऊ विफल नै छ ।

आँखा, हात र खुट्टा गुमाएका दाइफ

याे पढिरहँदा तपाईंलाई अचम्म लाग्न सक्छ, ५८ वर्षे दाइफको एउटा आँखा, एउटा हात र एउटा खुट्टा छैन । २० वर्षयता ह्विलचेयरको सहाराबिना दुई पाइला सार्न नसक्ने उनै दाइफले हतियार, सेना र प्रविधिमा संसारकै अब्बल देश इजरायललाई वर्षौंदेखि चैनको सास लिन दिएका छैनन् ।

इजरायलसँग संघर्ष चलिरहेका बेला फेरि एकपल्ट हमास कमान्डर दाइफ चर्चाकाे केन्द्रमा छन् । प्यालेस्टाइनी नागरिक दाइफ सन् २०२० देखि हमास सेनाका प्रमुख हुन् । उनकै नेतृत्वमा हमासले कैयौँपल्ट इजरायलमाथि आक्रमण गरिसकेकाे छ ।

ह्विलचेयरमा बसेर रकेट दाग्छन् 

मोहम्मद दाइफको जन्म सन् १९६५ मा गाजामा भएको थियो । उनी जन्मिँदा गाजा इजिप्टको कब्जामा थियो । पछि इजरायलले अरबी देशहरूसँग युद्ध लडेर वेस्ट बैंक र गाजा कब्जा गरेको थियो ।

इजरायलको यही कदमविरुद्ध खरो उत्रेका दाइफका बारेमा हामीले थाहा पाउने प्यालेस्टाइनी र इजरायली मिडियाबाटै हो । तर, दाइफको बाल्यकालबारे प्यालेस्टाइन र इजरायली मिडियामा पनि धेरै जानकारी उपलब्ध छैन । उनी सानैदेखि युद्धकै माहौलमा हुर्किएको र हमास अस्तित्वमा आउँदा युवा रहेकाे अनुमान गरिन्छ । हमास सन् १९८७ देखि अस्तित्वमा आएको हो ।

हमास कस्तो संगठन हो भन्ने बुझ्न तलको लिंक खोलेर पढ्नुहोस्ः

गाजास्थित इस्लामिक विश्वविद्यालयमा पढ्दा दाइफ हमाससँग नजिकिएका थिए । प्यालेस्टाइनका विभिन्न नेता पनि स्वतन्त्रता आन्दोलनमा थिए । त्यही बेलादेखि दाइफले प्यालेस्टाइनका तर्फबाट इजरायलमाथि निरन्तर आक्रमण गर्न थालेका हुन् ।

दाइफका बुबा मोहम्मद दिआब इब्राहिम अल मसरी हुन् । गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको क्षेत्रमा सन् १९५० को दशकमा दाइफका बुबा, काकाले सशस्त्र प्यालेस्टाइनीको पक्षबाट युद्ध लडेका थिए ।

भेट्यो कि रेट्यो !

इजरायलले बारम्बार दाइफलाई मार्ने कोसिस गरे पनि सफल हुन सकेको छैन । दाइफलाई सिध्याउन इजरायलले कम्तीमा सात प्रयास गरेको बताइन्छ । सन् २०१४ मा दाइफलाई मार्न इजरायली सेनाले एक घरमा छापा मारेको थियो । उक्त अपरेसनमा दाइफकी श्रीमती र दुई बच्चा मारिए । दुई वर्षअघि पनि इजरायलले उनलाई मार्ने योजना बनाएको थियो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले दुई वर्षअघि न्युयोर्क टाइम्ससँग भनेका थिए, ‘पूरै अपरेसनका बेला हामीले मोहम्मद दाइफलाई दुई पल्ट मार्ने प्रयास गर्‍यौँ, तर हरेकपल्ट ऊ बचेर निस्कियाे ।’

मध्यपूर्वका सुरक्षा विशेषज्ञ म्याथ्यु लिभिट हमासको सैनिक क्षमताका लागि निकै महत्त्वपूर्ण मानिएका मानिसहरूकाे सूचीमा दाइफकाे नाम शीर्ष स्थानमा रहेकाे बताउँछन् ।

अमेरिकी विदेश मन्त्रालयको आतंकवादविरोधी सल्लाहकारसमेत रहिसकेका लिभिटका अनुसार, दाइफ हमासको प्रमुख योजनाकार हुन् । उनी कथित् चरमपन्थी कमान्डर याहयाह अह्यासका निकट मानिन्थे । बम बनाउन माहिर याहयाह इन्जिनियर थिए । ९० को दशकको सुरुवाती वर्षमा इजरायली बसहरू ध्वस्त पारेको आरोप याहयाहमाथि नै थियो । सन् १९९६ मा इजरायलले उनको हत्या गरेपछि बसमाथिकाे आक्रमण फेरि बढ्याे । याहयाह मारेकाे बदला लिनलाई दाइफले नै यस्तो योजना बनाएको मानिन्छ । यसबाहेक अन्य विभिन्न आक्रमणमा पनि उनको हात छ । त्यसैले इजरायल उनको ज्यानको पछाडि हात धोएर लागेको हो ।

सधैँ कसरी बच्छन् ? 

द सनको एक रिपोर्टअनुसार, मोहम्मद दाइफ गाजामा बनेको भूमिगत सुरुङको नेटवर्कभित्रै हुन्छन् । मूलतः यही सुरुङका कारण इजरायली गुप्तचर मोसादको हातबाट उनी बच्दै आएका छन् । इजरायलबाट बारम्बार जोगिनुको अर्को प्रमुख कारण उनले कहिल्यै आधुनिक प्रविधिको प्रयोग नगर्नु पनि हो ।

यसबाहेक सुरुङको गहिराइ, पुरानो गुप्तचर संरचना, धनमालको नोक्सानीको खतरा र हतियारको काम नगर्नु नै उनी जोगिनुका अन्य कारण हुन् । हमासको सुरुङ बनाउनमा पनि दाइफको महत्त्वपूर्ण भूमिका छ ।

हरेक रात फेर्छन् ठाउँ

रिपोर्टअनुसार, उनी कहिल्यै एकैठाउँमा बस्दैनन् । हरेक रात आफ्नो बस्ने ठाउँ बदल्छन् । इजरायलसँग पनि उनको एउटा मात्रै तस्वीर छ ।

शरणार्थी शिविरमा जन्मेका दाइफ सानैदेखि युद्धको वातावरणमा हुर्किए । फिरन्ते जीवनशैली र इजरायलको हवाई आक्रमणबाट जोगिन भागेको भाग्यै गर्नुपर्ने भएकाले उनलाई ‘दाइफ’ भन्न थालियो । कतिपयले यो नाम उनले आफैँ राखेको पनि भन्छन् । ‘दाइफ’को अरबी अर्थ ‘पाहुना’ भन्ने हुन्छ । नामअनुसार नै उनी हरेक दिन ठाउँ बदल्छन्, घर बदल्छन् । हरेक दिन उनी कतै न कतैका पाहुना बन्छन् । उनकाे वास्तविक नाम मोहम्मद दाइफ इब्राहिम अल-मसरी हाे ।

‘द क्याट विथ नाइट लाइभ्स’

इजरायलसँग संघर्षका क्रममा नै दाइफले एउटा आँखा, एउटा हात र एउटा खुट्टा गुमाएका हुन् । धेरैपल्ट ज्यानै जाने आक्रमणबाट फुत्किए । ह्विलचेयरमा बस्ने दाइफ अहिले पनि हमासको हरेक योजनाको ‘मास्टरमाइन्ड’ हुन् ।

उनलाई प्यालेस्टाइनीहरूले ‘द क्याट विथ नाइन लाइभ्स’ भन्छन् । यो भनाइको सार कैयौँपल्ट गम्भीर चोट लाग्दा पनि उठेर हिँड्न सक्ने नौ जिन्दगी भएकाे बिरालाेजस्तै भन्ने हाे ।

गत शनिबार बिहानै हमासका लडाकु इजरायलभित्र छिरे र रकेट बर्साए । यसबारे दाइफले भनेका थिए, ‘गाजा १६ वर्षदेखि घेराबन्दीमा छ । यो आक्रमण त्यही कब्जाको जवाफ हो ।’

हाल हमासका कमान्डर रहेका उनी अक्सर आफ्नो म्यासेज रेकर्ड गरेर पठाउने गर्छन् । त्यस्तो म्यासेजमा हमासका लडाकुले इजरायलीहरूको हत्या, अपहरण गरेको सन्देश हुने गरेको छ । शिलापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय