पाल्पा, रामपुर नगरपालिकाले नगर भित्रका मुख्य बजारको अनुगमन गरेको छ । रामपुर नगरपालिकाले सोमबार वडा नं. ५ को सानीअमराई, मटेरी र वेझाँड बजार क्षेत्रको अनुगमन गरेको हो ।

चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाले खाद्य पसल र होटल व्यवसायको अनुगमन गरेको हो । पसल व्यवसाय दर्ता , नविकरण भए नभएको , खाद्य सामानको म्याद भए नभएको , अन्तशुल्क , होटलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन , नापतौल सामग्रीको मापन ठिक भए नभएको , अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३७ हजार २० रुपैयाँ बराबरको सामान जफत गरि नष्ट गरिएको छ । अनुगमन टोलीले चाउमिन, मिश्री ,तेल,मदिराजन्य पदार्थ , सुर्तिजन्य पदार्थ , पेय पदार्थ , जुस लगाएतका सामग्री बरामद गरी नष्ट गरेको छ ।  अनुगमनका क्रममा रामपुर अस्पताल परिसर सानीअमराईका होटल तथा पसलहरुमा मापदण्ड विपरित सामग्रीको विक्री गरेको पाईएकाले सामान जफत गरेको छ । अस्पताल परिसरको ५ सय मिटर वरपर मदिराजन्य पदार्थ विक्रि गर्न नपाईने भए पनि सानीअमराई क्षेत्रका होटलहरुमा मदिराजन्य पदार्थ विक्रीका लागि राखेकाले बरामद गरि नष्ट गरिएको रामपुर नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाले बताउनुभयो । अस्पताल जस्तो संवेदनशिल क्षेत्र वरपर मदिराजन्य बस्तुको विक्रीबाट रातको समयमा होहल्ला हुने र उपचारका लागि आउने विरामीहरुलाई असर पुग्ने भन्दै अटेर गरि पुन विक्री गरेमा थप कारवाही प्रक्रिया अगाडी बढाईने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनु भएको छ ।

अनुगमनका क्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवालीले  आवश्यक प्रक्रिया पुरा नगरी कुनै व्यवसाय सञ्चालन नगर्न आग्रह गर्दै नियमसंगत रुपमा व्यवसाय संचालन नगरे कारवाही गरिने बताउनुभयो । यस्तै घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाका उद्योग अधिकृत श्याम प्रसाद पौडेलले व्यवसाय दर्ता गर्दा जुन उद्देश्यका साथ भएको छ सोही अनुसारको सामान मात्र विक्री गर्न व्यवसायीहरुलाई निर्देशन दिनुभयो । पसल अनुगमन गर्दै खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले खाद्य सामग्री खरिद विक्रि गर्दा व्यसायी र ग्रहाक दुवैले म्याद भए नभएको , नापतौल ठिक भए नभएको राम्रो संग यकिन गरेर मात्रै खरिद विक्री गर्नु पर्ने भन्दै उपभोक्ताको स्वास्थ्यमा हानी हुने अखाद्य बस्तु विक्री वितरण नगर्न सुझाव दिनुभयो ।

रामपुर नगरपालिका , जनप्रतिनिधि ,ईलाका प्रशासन कार्यालय रामपुर , घरेलु तथा साना उद्योग कार्यालय पाल्पा , खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय , ईलाका प्रहरी कार्यालय रामपुर , रामपुर उद्योग वाणिज्य संघ र पत्रकार सहितको टोलीले अनुगमनका क्रममा जफत गरेको सामग्री रामपुर नगरपालिकाको कार्यालय भवन परिसरमा नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । चाडपर्वलाई लक्षित गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै गरिएको बजार अनुगमनलाई निरन्तरता दिईने रामपुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय