पाल्पा, साउन १३

श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर र यहाँ निकालिने खटयात्राको ऐतिहासिक महत्व दर्शाउने क्रियाकलापलाइ बढाउनुपर्ने बताइएकाे छ । पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा “महिषासुर मर्दिनी भगवतीको रथयात्रा : ऐतिहासिक महत्त्व र व्यवस्थापन” विषयक अवधारणा पत्र प्रस्तुत कार्यक्रममा सराेकारवालाहरूकाे ध्यानाकर्षण भएकाे हाे ।

भगवती खटयात्रा विगतमा हचुवाको भरमा इतिहासलाई समेत बिगार्ने काम भएकाे भन्दै गम्भीर बन्नुपर्नेमा सराेकारवालाहरूकाे जाेड थियाे ।पाल्पा साहित्य समाज र पाल्पा सम्पदा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको महिषासुर मर्दिनी भगवतीको रथयात्रा : ऐतिहासिक महत्व र व्यबस्थापन विषयमा  समाजका अध्यक्ष पुष्करराज रेग्मीले अवधारणपत्र प्रस्तुत गरेका थिए । अध्यक्ष रेग्मीले भगवतीको महिमा, नेपाल अंग्रेजयुद्धसँंग जोडिएको अवस्था, राष्ट्रियताको सवाल, ऐतिहासिक पक्ष, विभिन्न किसिमका लेख रचना, पत्रपत्रिकामा छापिएका लेख रचना, जनमासमा उठेका सवाल जिज्ञासा  तथा सुझावको बारेमा अवधारणपत्र प्रस्तुत गरेका थिए । अवधारणपत्र माथि संस्कृतीकर्मी निर्मल श्रेष्ठले इतिहासलाई कसैले पनि बङ्गउन, तोडमोड गर्न नहुने बताए ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले इतिहास, कला, भेषभुषा, संस्कृति, रहन सहन, इतिहास संरक्षणको लागि पैसाको कमी हुन नदिने बताए । हरेक कार्यक्रमको लागि काम प्रस्ताव लिएर आउन सबैपक्षलाई नगर प्रमुख श्रेष्ठले जोड दिए । भगवती रथयात्रा तासेनको मात्र नभई राष्ट्रिय पर्व भएकाले यसको महत्व सबैलाई बुझाउन सबैपक्ष लाग्नु पर्नेमा नगर प्रमुख श्रेष्ठले अनुरोध गरे ।

इतिहासलाई राम्ररी अध्ययन गरेर गुठी व्यबस्थापन समितिले काम गर्नु पर्ने, भगवती रथयात्रा नभई पाल्पामा मनाइने भगवती खटयात्रा रहेको संस्कृतिकर्मी श्रेष्ठको भनाइ छ । भगवतीजात्राको महत्वको विषयमा मन्दिरको हरेक कुना काप्चा देखी, पुस्तक पर्चा पम्पलेट देखी सबैलाई जानकारी हुने गरी काम गर्नुपर्नेमा संस्कृतीकर्मी श्रेष्ठले जोड दिए ।

भगवती गुठी व्यबस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले निस्वार्थ भावले आफुु काम गर्न आएको बताए । उनले भने,‘पहिलो चरणमा भदौ २१ को भगवती रथयात्रालाई लक्षित गरेर समितिले काम गर्ने छ, जग्गाको खोजविन गर्ने छ, हिसाव किताव सार्वजनिक गर्ने छ, आगामी बर्ष देखी जात्रा सञ्चालन गर्न आफ्नै कोष व्यवस्थापन गरिने छ ।’

कार्यक्रममा शिक्षाविद बुद्धिप्रसाद शर्मा, पत्रकार महासंघका पूूर्व अध्यक्ष गोविन्द भट्टराई, तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य, पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, पप नमुना माविका प्रधानाध्यापक विष्णु बराल लगायतले सुझाव दिएका थिए । कार्यक्रममा पाल्पा साहित्य समाजले भगवती मन्दिरका मुल पुजारी हिक्मत बहादुर बज्राचार्य, भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य, भजन खलका अध्यक्ष ज्ञान कुमार बज्राचार्यलाई सम्मान समेत गरेको छ  । समाजले मरणोपरान्त भजनमा क्रियासिल चन्द्रशेखर बज्राचार्य, सन्त प्रसाद बज्राचार्य, मंगलनारायण मानन्धर, तिलकमान बज्राचार्य, ब्रम्हशेखर बज्राचार्य, कर्था गायक बसपार्क गन्धव समितिलाई सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय