पोखरा, १६ असार

पोखराको न्युरोडमा रहेको पाल्पा हाउस प्रालिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सम्मानमा स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव सुमन घिमिरे, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशी लगायतको सहभागिता रहेको पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले गर्नु पर्ने पर्यटन प्रवद्र्धनको काम पोखरा बस्ने पाल्पाली गरेको बताए । उनले लुम्बिनी प्रदेशको समृद्ध बनाउन सहयोगीको काम गर्न आग्रह समेत गरे । ‘लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनको लागि ५० प्रतिशत (आधा काम) तपार्इंहरुले गर्नु भएको छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘बाँकी आधा कामको लागि लुम्बिनी प्रदेश सरकार सहकार्य गर्न तयार छ ।’ मुख्यमन्त्री चौधरीले पर्यटन प्रवद्र्धनको लागि आगामी दिनमा गर्ने कार्ययोजना बनाउन आग्रह गर्दै प्रदेश सरकार सँगै हिड्न तयार रहेको उल्लेख गरे ।

अन्तरप्रदेश मुख्यमन्त्रीको बैठक २०८०मा भाग लिन पोखरा आएका मुख्यमन्त्री चौधरीले पर्यटन प्रवद्र्धनको लागि सहकार्य गर्ने सवालमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग समेत छलफल गरेको जानकारी दिए । पाल्पाली समाजको पहलमा लुम्बिनी र गण्डकीको पर्यटन प्रवद्र्धनको लागि डिजिटल बोर्ड राखेको उल्लेख गर्दै उनले पाल्पा हाउसमा लुम्बिनीमा उत्पादित सामाग्रीको बजारीकरणको सम्बन्धमा रामपुर नगरपालिकासँग छलफल भएको बताए । उनले दोस्रो भेटघाट पोखरा या पाल्पामा बसेर थप योजना बनाउने उल्लेख गरे ।

पोखरा आएर पाल्पालीले गरेका सकारात्मक कामको बारेमा जान्ने र सुन्ने मौका मिलेको चर्चा गर्दै उनले आगामी दिनमा एक साथ हिड्ने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरा लुम्बिनी, स्वर्गद्वारी र बर्दियालाई समेत जोडेर पर्यटकीय गतिविधि गर्न आग्रह गरे ।

पाल्पा हाउस प्रालिका अध्यक्ष तथा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले प्रेमको प्रतिक रानीमहलको झल्को दिने गरी बनाइएको पाल्पाली कोशेली घर लुम्बिनी र गण्डकी प्रदेशको प्रेमको प्रतिकको रुपमा अगाडी बढाउने जानकारी दिए । उनले लुम्बिनी र गण्डकीको पर्यटकीय गतिविधिलाई श्रव्य दृश्य रुपमा देखाउन पोखराको लेकसाइडमा डिजिटल बोर्ड राखेको बताए । उनले लुम्बिनी प्रदेशको राजधानी दाङ, भगवान गौतम बुद्धको जन्मस्थल समेत पर्यटन प्रवद्र्धनको लागि कार्यक्रम गर्ने उल्लेख गरे ।

स्वागत तथा भेटघाट कार्यक्रममा पाल्पा कोलोनी प्रालिका अध्यक्ष तथा पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष रेशमराज थापा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवि श्रेष्ठ लगायतले पर्यटन प्रवद्र्धनको बारेमा बोलेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग पाल्पाली समाज पोखरा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पाल्पा हाउस प्रालि र पाल्पाली कोलोनी प्रालिका पदाधिकारी तथा सदस्यले लुम्बिनी र गण्डकीको पर्यटन प्रवद्र्धनको लागि सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय