latest
माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||    माथागढीका कृषकलाई प्रविधिमैत्री कृषि अभ्यास  ||    राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी  ||    वैदेशिक रोजगारी त्यागेर बंगुरपालनमा सफलता, माथागढीका सम्मर कुमाल दम्पतीको वार्षिक २० लाखको कारोबार  ||    उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||   
सोमबार , असार १५, २०८३

पाल्पा, असार १२

स्थानीय सरकारको दिगो विकास र आर्थिक आत्मनिर्भरताको प्रमुख आधार सुदृढ आन्तरिक आम्दानी हो। यही लक्ष्यलाई केन्द्रमा राख्दै पाल्पाको माथागढी गाउँपालिकाले आन्तरिक राजस्वका स्रोत विस्तार, कर प्रशासनलाई व्यवस्थित बनाउने तथा राजस्व संकलनलाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको छ। संघीय तथा प्रदेश सरकारको अनुदानमा मात्र निर्भर नहुँदै आफ्नै स्रोतलाई मजबुत बनाउने रणनीतिअनुसार गाउँपालिकाले विभिन्न सम्भावित आयका क्षेत्रहरूको खोजी र परिचालनमा विशेष जोड दिएको हो।

गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले स्थानीय आवश्यकताअनुसार विकास आयोजना सञ्चालन गर्न, गुणस्तरीय सेवा प्रवाह गर्न तथा नागरिकका अपेक्षा पूरा गर्न आन्तरिक आम्दानी बलियो हुनु अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार स्थानीय तहको आफ्नै स्रोत सुदृढ हुँदा संघ र प्रदेश सरकारबाट कार्यसम्पादनका आधारमा प्राप्त हुने अनुदानसमेत बढ्ने भएकाले गाउँपालिकाले नयाँ राजस्व स्रोतको पहिचानलाई प्राथमिकतामा राखेको छ।

“हामी गाउँपालिकाको आन्तरिक आम्दानी बढाउने विभिन्न सम्भावनाको खोजीमा छौं। आफ्नै स्रोत बलियो बनाउन सके विकास निर्माणका योजना थप प्रभावकारी र दिगो रूपमा कार्यान्वयन गर्न सकिन्छ,” अध्यक्ष चिदीले भन्नुभयो।

गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले संकलित राजस्व विकास निर्माण, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजनाको सफल कार्यान्वयनका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँका अनुसार कर प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र करदातामैत्री बनाउने दिशामा गाउँपालिका निरन्तर काम गरिरहेको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले १ करोड ९५ लाख ३५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। हालसम्म १ करोड ५१ लाख ७ हजार १ सय ५० रुपैयाँ ७२ पैसा संकलन भइसकेको छ, जुन कुल लक्ष्यको करिब ७७ प्रतिशतभन्दा बढी हो। आर्थिक वर्ष समाप्त हुन अझै केही समय बाँकी रहेकाले लक्ष्य नजिक पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

लेखा अधिकृत सन्तोष दाहालका अनुसार केही राजस्व शीर्षकमा लक्ष्यभन्दा उल्लेखनीय उपलब्धि हासिल भएको छ। ढुंगा, गिट्टी, बालुवा लगायत प्राकृतिक स्रोतको उपयोगबाट ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ४० लाख ७२ हजार ९ सय ८ रुपैयाँ आम्दानी भइसकेको छ। यसैगरी अन्य विभिन्न राजस्व शीर्षकबाट ४५ लाख ७४ हजार ५ सय ७४ रुपैयाँ संकलन भएको छ।

घर तथा सरकारी सम्पत्तिको बहाल–भाडा, बहाल कर, भूमि कर तथा मालपोत, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, व्यवसाय कर तथा व्यवसाय दर्ता दस्तुरबाट पनि उल्लेखनीय राजस्व प्राप्त भएको गाउँपालिकाले जनाएको छ। बहाल करतर्फ ६ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ७ लाख ५५ हजार ४ सय २ रुपैयाँ संकलन भएको छ भने सरकारी सम्पत्तिको बहाल–भाडाबाट १० लाख रुपैयाँ लक्ष्य राखिएकोमा १२ लाख ७३ हजार ९ सय १ रुपैयाँ आम्दानी भएको छ।

यद्यपि सबै राजस्व शीर्षकमा अपेक्षित प्रगति हुन सकेको छैन। प्रदूषण नियन्त्रण शुल्क, नक्सापास दस्तुर, बहाल बिटौरी कर, साना सवारी साधन कर तथा मनोरञ्जन करबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको गाउँपालिकाले जनाएको छ। यी क्षेत्रको सुधारका लागि नीतिगत, प्रशासनिक तथा जनचेतनामूलक कार्यक्रम अघि बढाउने तयारी भइरहेको छ।

स्थानीय सरकारको आर्थिक आत्मनिर्भरता केवल कर संकलनमा मात्र सीमित हुँदैन; यसका लागि नागरिकको विश्वास, पारदर्शी वित्तीय व्यवस्थापन, उत्तरदायी प्रशासन र प्रभावकारी सेवा प्रवाह पनि उत्तिकै आवश्यक हुन्छ। यही अवधारणालाई आत्मसात् गर्दै माथागढी गाउँपालिकाले करदातामैत्री वातावरण निर्माण, आन्तरिक आयका नयाँ सम्भावनाको पहिचान तथा राजस्वको दायरा विस्तार गर्ने रणनीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ।

आन्तरिक स्रोत क्रमशः सुदृढ बन्दै गएसँगै भविष्यमा विकास निर्माणका योजनाहरू आफ्नै आर्थिक क्षमताबाट सञ्चालन गर्ने विश्वास गाउँपालिकाले लिएको छ। यसले स्थानीय सरकारलाई अझ आत्मनिर्भर, उत्तरदायी, सक्षम र प्रभावकारी बनाउँदै समग्र विकास यात्रालाई थप दिगो बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय