latest
उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||    माथागढीमा स्वास्थ्य सेवाको फड्को : घरदैलोमै आधुनिक उपचार, नागरिकमा बढ्यो स्वास्थ्य चेतना  ||    तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन, जनसेवा थप प्रभावकारी हुने विश्वास  ||    रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||   
आइतबार , असार १४, २०८३

माथागढी (पाल्पा), जेठ १०

परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र आत्मनिर्भर कृषितर्फ अघि बढिरहेको पाल्पाको माथागढी गाउँपालिकाले किसानमुखी कार्यक्रममार्फत कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ। उत्पादन वृद्धि, लागत न्यूनीकरण र किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले सञ्चालन गरेका नवीन कार्यक्रमले स्थानीय कृषकमा नयाँ उत्साह थप्नुका साथै कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने आधार तयार गरेको छ।

विशेषगरी गाउँपालिकाले लागू गरेको ‘उत्पादनका आधारमा अनुदान’ कार्यक्रम अहिले कृषकबीच लोकप्रिय बन्दै गएको छ। दूध, माछा, मासु, मह, तरकारीलगायत कृषिजन्य वस्तु जति बढी उत्पादन हुन्छ, त्यति नै अनुदान रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ। यसले वास्तविक किसानलाई प्रोत्साहन गर्नुका साथै अनुदानको दुरुपयोग रोक्न पनि प्रभावकारी भूमिका खेलेको गाउँपालिकाको दाबी छ।

गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कृषि र पशुपालनलाई उत्पादन तथा रोजगारीसँग जोड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार किसानको उत्पादन लागत घटाउन हाते ट्याक्टर, थ्रेसर, चाप कटरलगायत आधुनिक कृषि औजार अनुदानमा उपलब्ध गराइँदै आएको छ। कृषि यान्त्रीकरणसँगै रासायनिक विषादीको प्रयोग न्यूनीकरण गरी जैविक तथा सुरक्षित कृषि उत्पादनलाई प्राथमिकतामा राखिएको अध्यक्ष चिदीले जानकारी दिनुभयो।

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले पकेट क्षेत्र विस्तार तथा पशुपालन कार्यक्रमले गाउँमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।

“खुर्सानी र धनियाँ पकेट कार्यक्रममार्फत किसानहरू समूहगत रूपमा व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। यसले उत्पादनसँगै बजार व्यवस्थापनलाई पनि सहज बनाएको छ,” उहाँले भन्नुभयो। साथै ‘एक वडा–एक पशुपन्छी फर्म विस्तार कार्यक्रम’ ले व्यावसायिक पशुपालनको वातावरण निर्माण गर्नुका साथै स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गरेको उहाँको भनाइ छ।

गाउँपालिकाको कृषि शाखाका अनुसार पछिल्ला वर्षहरूमा धान, मकै, तरकारी तथा नगदेबालीको उत्पादन उल्लेखनीय रूपमा बढेको छ। यद्यपि दलहन, तेलहन र केही मसला बालीको उत्पादन भने घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।

यसैलाई मध्यनजर गर्दै हराउँदै गएका अदुवा, बेसारजस्ता पहाडी मसला बालीको संरक्षण तथा विस्तारका लागि किसानलाई उन्नत बीउ, तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ।

स्वास्थ्य तथा कृषि गतिविधिको समन्वय गर्दै आएका स्वास्थ्य शाखा प्रमुख केशबबहादुर जिसीका अनुसार उत्पादन वृद्धि मात्र नभई खाद्य सुरक्षा, पशु स्वास्थ्य र उपभोक्ताको स्वास्थ्यलाई समेत उत्तिकै प्राथमिकता दिइएको छ।

उहाँका अनुसार गाउँ–गाउँमा प्राविधिक टोली परिचालन गरी ‘डोर टु डोर बाँझोपन निवारण कार्यक्रम’, भैँसी सुधार अभियान तथा मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिएको छ। यसले पशुको उत्पादन क्षमता बढाउनुका साथै स्वच्छ र गुणस्तरीय खाद्यवस्तुप्रति उपभोक्ताको विश्वास पनि मजबुत बनाएको उहाँले बताउनुभयो।

गाउँपालिकाले किसानलाई जैविक विषादी निर्माण, प्राङ्गारिक मल उत्पादन तथा प्रयोगसम्बन्धी तालिम नियमित रूपमा सञ्चालन गर्दै रासायनिक विषादीको प्रयोग घटाउने अभियानलाई पनि तीव्रता दिएको छ।

आधुनिक कृषि प्रविधि, उत्पादनमा आधारित अनुदान, पशुपालन प्रवर्द्धन तथा सुरक्षित कृषि उत्पादनलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यी कार्यक्रमका कारण माथागढीमा कृषि व्यवसायप्रति आकर्षण बढ्दै गएको छ। स्थानीय कृषकका अनुसार आधुनिक औजारको प्रयोगले श्रम, समय र लागत घटेको छ भने उत्पादन र आम्दानी बढेसँगै गाउँको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ।

कृषि क्षेत्रलाई स्थानीय आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाएको माथागढी गाउँपालिकाको यो अभियान ग्रामीण समृद्धिको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय