–सुशीला रेग्मी
रामपुर (पाल्पा), मंसिर २

पाल्पा रामपुरका गोविन्दप्रसाद दुवाडी एक असल विरुवा उत्पादक किसानको रुपमा कहलिनुभएको छ । उहाँले बिशेषगरी प्याजका विरुवा उत्पादन गरेर समाजमा असली प्याजका विरुवा उत्पादन गर्ने किसानको पहिचान दिनुभएको छ ।
रामपुर नगरपालिका वडा नं ३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोर सडकखण्डसँग जोडिएको उहाँको घरजग्गा छ । करिव एक रोपनी जग्गा उहाँले प्याजका विरुवा उत्पादनका लागि छुट्याउनुभएको छ । सो जग्गा यतिबेला हरियाली विरुवाले ढाकिएको छ ।
प्याजका विरुवा बिक्रि कार्यमा उहाँको व्यस्तता बढेको छ । यही व्यवसायमा संलग्न भएको दुवाडीको २८ वर्ष पूरा भएको छ । अहिलेसम्म पनि निरन्तर रुपमा घरमै नर्सरी तयार पारेर प्याजका विरुवा उत्पादन तथा बिक्रि कार्य गरिरहनुभएको छ । विरुवा बिक्रि गरेर एक सिजनमै रु एक लाख ५० हजार बराबरको आम्दानी गर्नुहुन्छ ।
“विरुवा उत्पादनका लागि समय धेरै पर्खन नपर्ने, छोटो समयमा थोरै लगानी गरेर एक सिजनमै राम्रो कमाउन सकिने रहेछ, यो व्यावसायलाई बिगत २८ वर्षदेखि निरन्तरता दिदै आएको छुु, विरुवाको व्यापार सन्तोषजनक छ” उहाँले भन्नुभयो ।
प्याज खरिदका लागि आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडा जातका विरुवा खोज्ने भएकाले यी जातका विरुवा पनि उत्पादनलाई सँगै गर्नुभएको छ । हाल प्याज रु एकको तीनवटा, काउली रु पाँचको एकवटा, हाइब्रिड बन्दा रु पाँचको एकवटा, स्थानीय बन्दा रु पाँचको दुईवटा, ब्रोकाउली रु दशको एकवटा बिक्रि भइरहेको छ ।
“प्याजका विरुवा उत्पादन मेरो मुख्य जोड हो, घरमा प्याज खरिद गर्न आउने ग्राहक काउली, बन्दा, गोलभेँडा पनि धेरैले खोज्ने हुनाले थोरै थोरै मात्रामा प्याजसँगै यी जातका विरुवा उमार्ने गरेको छु” उहाँले भन्नुभयो,–“एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका विरुवा पाइने भएपछि ग्राहकलाई धेरै सजिलो भएको छ” ।
घरका लागि विरुवा लगाउन गाउँमा खरिद गर्न जादा पैसा तिरेर पनि राम्रो विरुवा रोजेर लैजान नदिएपछि उहाँले अर्को वर्षबाट आफै उत्पादन गर्न थाल्नुभएको हो । आधाकिलो वीउँबाट विरुवा उत्पादन सुरु गर्नु भएको हो । क्रमिक रुपमा विरुवा उत्पादन राम्रो हुदै गएपछि अहिले गुणस्तरिय विरुवा उत्पादनका नामले यो क्षेत्रमा प्रख्यात हुनुहुन्छ । विरुवाले उहाँको पहिचान बदलिएको छ ।
काठमाडौं, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङजा, तनहुँ, नवलपरासी लगायतका विभिन्न स्थानमा खपत हुने गरेको छ । यसवर्ष रु एक लाख ५० हजार बराबरको आम्दानी हुने उहाँका श्रीमती मतिकला दुवाडीको अनुमान छ । घरको आडैको जग्गामा लगाइएको विरुवा उखेल्ने र ग्राहकलाई बिक्रि गर्न श्रीमान् श्रीमती नै दिनभर खटेर काम गरिरहेको मतिकलाले बताउनुभयो ।
कालीगण्डकी करिडोरको आडैको नर्सरीमा लगाइएको विरुवा खरिद गर्न गाडीमा यात्रा गर्ने यात्रु गाडी रोकेर खरिद गर्ने हुनाले विरुवा उखेर ग्राहकलाई बेच्न भ्याइनभ्याई हुने गरेको मतिकला बताउनुहुन्छ । यहाँ उत्पादन भएको विरुवाबाट फल उत्पादन राम्रो हुने भएकाले धेरै टाढासम्मका ग्राहकले खोजी खोजी लैजाने गर्दछन् ।
“यात्रुले गाडीभित्रैबाट हरियाली विरुवा देखेपछि एकछिन गाडी रोकेर लैजाने गर्नुहुन्छ, हामीले विरुवा बिक्रि गर्न पहिले नै उखेर तयारी बनाएर राखिदिने गरेपछि गाउँघरमा मात्र नभई शहर बजारमा समेत हाम्रो विरुवा पुग्ने गरेको छ” मतिकलाले खुशी हुँदै भन्नुभयो ।
त्यसैगरी रामपुर नगरपालिका ६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिव एक रोपनी जग्गामा आफै नर्सरी तयार पारेर विरुवा उत्पादन गर्नुहुन्छ । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक याममा नै रु एक लाख बराबरको आम्दानी गगर्ने गरेको उहाँ बताउनुहुन्छ ।
अहिले समयमा घरमा विरुवा खरिद गर्न आउने ग्राहकलाई नर्सरीबाट विरुवा बिक्रि गर्न व्यस्त भएको भागिरथा बस्यालले बताउनुभयो । तरकारी खेतीको तुलनामा छोटो समयमा आम्दानी धेरै हुने भएकाले विरुवा उत्पादनमा जोड दिएको उहाँको अनुभव छ । पछिल्लो समय घरायसी प्रयोजनका लागि घर घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडा जातका विरुवा लगाइने भएकाले पनि खरिद गर्ने ग्राहक बढ्दै गएका छन् । यो समय प्याज, काउली, बन्दा लगाउने भएकाले नर्सरीमा विरुवा खरिद गर्न जाने स्थानीयको चहलपहल बढ्दो छ । यतिबेला खेतबारीमा प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा जातका विरुवा लगाउने समय भएकाले ग्राहक खरिदका लागि विभिन्न नर्सरीमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय