पुष्कर अथक रेग्मी

“रम्भापानीको बारेमा गुरुले केही लेखेर ल्याऊ भन्नु भएको छ। मैले के लेख्ने होला आमा !” अमृतले भन्यो । “त्यसो भए रम्भापानीको कथा लेख ।” आमाले भन्नुभयो । “मलाई आउदैन कथा ।” अमृतले भन्यो । “म भन्छु कथा ! तिमी लेख्न शुरु गर । मसँग छ वटा कथा छन् ।” आमाले कथा भन्न शुरु गर्नुभयो । अमृतले कथा लेख्दै गयो ।

पहिलो कथा यस प्रकारको छ : आनन्द रामायण अनुसार त्रेतायुगमा श्रीराम र सीताजी तीर्थयात्रा गर्दै देवघाटबाट गण्डकीको तिरैतिर आई रिमिघा लेक हुँदै यस क्षेत्रमा प्रवेश गर्दा यहाँका गाउँलेहरूले “अरू कुरा सबै ठिक छ । पानीको दुःख भइराखेको छ ।” भनेकाले श्रीरामले तत्काल धर्नुवाण हानी पानी निकाली दिएकाले ‘रोमपानी’ अर्थात् सीताजीको अर्को नाम रमाको नाममा ‘रमापानी’ रहन गयो। पछि अपभ्रंम भई रम्भापानी नाम रहन गयो भन्ने जनश्रुति छ । रम्भापानीमा जल मुहान संरक्षणको लागि सीताजीले रोपिदिएको बेतबाँसको घारी मुहानमा अद्यावधी देख्न पाइन्छ ।

दोश्रो कथा यस्तो रहेको छ : लोकमान्यता अनुसार स्वर्गका राजा इन्द्रको दरवारमा रम्भा, मेनका, तिलोत्तमा, उर्वसी नामका अप्सराहरू थिए । रम्भाले यहाँको रिमिघा पर्वतमा तपस्या गरी शक्ति प्राप्त गरेकी थिईन् । यिनै रम्भाले आफूलाई वरदान प्राप्त शक्तिको परीक्षण गर्न सुख्खा जङ्गलमा जल उत्पन्न गरी वन्यजन्तु, चराचुरुङ्गी एवं मानिसहरूको समेत प्यास मेटाउने काम गरेकोले जङ्गलको नाम रम्भापानी रहन गयो र उनलाई वनदेवीको मान्यता दिई पूजा गर्न थालियो । पछि रम्भाको स्मृतिमा सुन्दर मूर्ति स्थापना गरी मन्दिर समेत बनाइयो भन्ने जनविश्वास रहेको छ ।

तेस्रो कथा फेरि यस्तो रहेको छ : धेरै वर्ष पहिले रम्भापानीको यस वनमा महर्षि परमहंश तपस्या गरी बस्दथे । एकरात सपनामा उनलाई दीक्षा प्राप्त भयो। सपनामा देवीले भनिन् “रम्भापानीको मूल उत्पत्तिस्थलमा म बसेकी छु मेरो नित्य पूजा अर्चना गर्नाले सम्पूर्ण मानव जातिको कल्याण हुनेछ । मनले चिताएको पुग्नेछ । रोगव्याधी र भवितव्यबाट मुक्ति मिल्नेछ ।” सपनामा पाएको दीक्षा महर्षिले सम्पूर्ण गाउँलेहरूलाई बताए । त्यतिवेला देखि रम्भादेवीको शिला मूर्ति स्थापना गरी पूजाआजा गर्ने परम्परा बसाए ।

चौथो कथा अझ रोचक छ : किवंदन्ती अनुसार रिमिघा लेकको नजिकै एउटा सानो गाउँ थियो । गाउँका इमान्दार र सोझा मानिसहरूले देवीको पूजा गर्थे । गाउँमा एउटी वृद्ध महिलाले आफ्नो र गाउँलेको गाई बाखाहरू जम्मा गरी चराउँथिन र गाउँलेहरूले दिएको अनाजहरूबाट गुजारा चलाउँथिन् । एकरात उसले अचानक देवीको दर्शन पाईन् । भोलिपल्ट उनले सम्पूर्ण गाउँलेहरू जम्मा गराई आफूले जन्म, मृत्यु, माया, जाल, मुक्त भई निर्वाण प्राप्त गरेको सुनाइन् । गाउँमा कुनै आपत विपत परे आफूले यसपछि धारण गर्ने रम्भा देवीले कल्याण गर्नेछिन् भन्दै अलप भईन् । त्यसपछि गाँउलेहरूले रम्भादेवीको पूजा गर्न लागे । रम्भादेवीको छेउमा रहेको मूर्ति तीनै बूढी बज्यैको स्वरुप रहको कहावत छ ।

पाँचौ कथा अनुसार : धेरैवर्ष पहिले रम्भापानी जंगलमा एउटा गोठालोले गाई चराउने काम गर्दथ्यो । साँझ फर्कदा सधै एउटा गाई पछाडि छुट्‌ने गर्थ्यो । सधै किन ढिलो गर्छ भनि चियो गर्दा गाईले एउटा ढुङ्गालाई दूध चढाउने रहेछ । यो देखि गोठालो रिसले चूर भई ढुङ्गोलाई उठाई डाडाँको टुप्पोमा फालिदिएछन् । भोलिपल्ट फेरि गाईले साविककै ठाउँमा ढुङ्गोलाई दूध चढाएको पाएछ । यस्तो आश्चर्य किन भएछ भनि धामी झाँक्री लगाई खोजी गर्दा ढुङ्गो त रम्भादेवीको शिला स्वरुप भएको प्रमाणित भएछ ।त्यसपछि शिलालाई प्रतिष्ठापित गरी पूजा आजा गर्ने चलन चल्दै आएको छ ।

छैठौं अलि आधुनिक कथा छ : बडामहाराजधिराज पृथ्वीनारायण शाहकी माता कौशल्यावतीको पिताजी तात्कालीन पाल्पा राज्यका राजा गन्धर्व सेन हुन् । आफ्नो शासन कालमा राजा गन्धर्व सेन सिपाहीहरू सहित यस रम्भापानी डाडाँमा आई युद्ध गढी बनाएका थिए । एक दिन सबैजना बिरामी परेछन् । तान्त्रिकको सल्लाह अनुसार रम्भादेवीको पूजा आरधना गर्दा सञ्चो लागेकोले राजाले देवकोटा थरको ब्राहमणलाई विर्ता दिई पूजारी नियुक्त गरी मन्दिर स्थापना सहित नित्य पूजा गर्ने व्यवस्था मिलाएकोले आजसम्म पनि नियमित पूजा भइरहेको भन्ने कहावत रहेको छ ।

रम्भापानी, रम्भादेवी पाल्पाको सदरमुकाम तानसेन बजारबाट पूर्व आर्यभञ्याङ्ग रामपुर सडक खण्डसा रम्भा गाउँपालिका अन्तर्गत ताहूँ बजारको नजिकै डाँडाको पश्चिमी पाखा घना जंगल भित्र रहेको छ । यहिनै रम्भा देवीको प्रसिद्ध मन्दिर छ । भाकल अनुसारको मनकामना पूर्ण हुने विश्वासका साथ टाढा टाढाबाट समेत भक्तालुहरू देवी दर्शनको लागि आउँछन् । कृष्णष्टमी, दशैंको अष्टमी, चैत्राष्टमी र अन्य महत्वपूर्ण चाडपर्वहरूमा पञ्चवली सहितको पूजाआजा गरिन्छ । विशेष गरी कृष्णष्टमीका दिन रम्भापानीको नाचन डाडाँमा भव्य मेला लाग्दछ । रम्भादेवी मन्दिर, रम्भापानी क्षेत्र, धार्मिक तपोवन रिमिघाको लेक नेपालकै ऐतिहासिक, सांस्कृतिक, धार्मिक मनोरम उत्सुकताले भरिएको दर्शनीय स्थलको रुपमा रहेको छ । यसको विकास विस्तार संरक्षण र सम्बर्द्धनको काम सबैले गर्नुपर्छ ।

“हामीले कसरी के काम गर्न सक्छौ त आमा” अमृतले सोध्यो । आमाले भन्नुभयो “तिमीहरूले यस्तै कथा लेखेर, सुनाएर, निवन्ध कविता लेखेर रम्भापानीको प्रचार प्रसार गर्न सक्छौं। यसैको लागि तिमीहरूलाई गुरुले रम्भापानीको बारेमा केही  लेखेर ल्याउन भन्नु भएको हो ।”

(अथकको बालकथा संग्रह अपूर्व दर्शनबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय