सेयरमा चार किसिमले लगानी गर्न सकिन्छ । पहिलो, प्रारम्भिक सार्वजनिक निष्कासन (इनिसियल पब्लिक अफरिङ- आईपीओ) जसमा सामान्यतया तपाईंले एक हजार रुपैयाँ वा सोभन्दा बढी लगाएर लगानी सुरु गर्न सक्नुहुन्छ ।

दोस्रो, थप निष्कासन (फरदर पब्लिक अफरिङ, एफपीओ) मा सहभागी हुने । कुनै कम्पनीले अगाडि नै आईपिओ जारी गरिसकेको रहेछ र फेरि थप पूँजी संकलन गर्न खोजिरहेको छ भने यो प्रक्रियालाई एफपीओ भनिन्छ ।

तेस्रो, कम्पनीले विद्यमान लगानीकर्तालाई धितोपत्र जारी गर्छ । यो लगानीकर्ताहरूलाई पहिले नै निश्चित दरमा थप खरिद गर्न दिने प्रक्रियालाई हकप्रद सेयर जारी गर्ने भनिन्छ।

चौथो, धितोपत्र दलाल (ब्रोकर) मार्फत दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर खरिद गर्न पनि सकिन्छ । सामान्यतया शेयरमा लगानी गर्ने भन्दा ब्रोकर मार्फत दोस्रो बजारबाट सेयर खरिद गर्ने भन्ने बुझिन्छ ।

सेयर बजारका महत्वपूर्ण संस्थाहरू
नियामकः नेपालको शेयर बजार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमन गर्छ । बजार सम्बन्धी कानून तर्जुमा तथा कार्यान्वयन गर्ने, धितोपत्र दर्ता तथा निष्काशनका लागि अनुमति प्रदान गर्ने, बजार सम्बद्ध संस्थाहरू (स्टक एक्सचेन्ज, ब्रोकर, मर्चेन्ट बैंकर आदि) लाई लाइसेन्स प्रदान गर्ने, सुपरीवेक्षण गर्ने, दण्ड–सजाय गर्ने लगायत काम सेबोनले गर्छ ।

स्टक एक्सचेन्जः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दोस्रो बजार सञ्चालन गर्छ । यो नेपालको एक मात्र स्टक एक्सचेन्ज हो । यहाँ लगानीकर्ताले शेयर, बन्ड र म्युचुअल फन्डका एकाइहरू धितोपत्र दलाल (ब्रोकर) मार्फत खरिद र बिक्री गर्छन् ।

कारोबार समयः नेप्सेमा तीन वटा कारोबार सत्रहरू छन् ।

विशिष्टीकृत प्रारम्भिक सत्र – बिहान १० : ३० देखि १० : ४५ बजेसम्म (आईपीओ पश्चात् सूचीकृत कम्पनीको पहिलो कारोबार हुने सत्र)

प्रारम्भिक सत्र – बिहान १० : ३० देखि १० : ४५ बजेसम्म (बजार खुल्नुअघि नै दैनिक कारोबार खुला मूल्य सिर्जना गर्न सञ्चालन गरिने सत्र)

नियमित सत्र – बिहान ११ : ०० देखि दिउँसो ३ : ०० बजेसम्म (नियमित कारोबार सत्र)

अन्तिम सत्र – हाल नेप्सेमा यस सत्रको व्यवस्था रहेको छैन । खासमा यस सत्रको व्यवस्था कारोबार समय सकिनु कम्तीमा पनि ३० मिनेट अघिदेखिको समयलाई लिइने गरिन्छ ।

यस सत्रमा हुने कारोबारका आधारमा नै दैनिक अन्तिम मूल्य घोषणा गर्नुका साथै दैनिक नेप्से लगायत अन्य परिसूचकहरू तोकिनुपर्ने व्यवस्था हुनुपर्नेमा हाल नियमित सत्रकै आधारमा नेप्सेमा सूचीकृत कम्पनीहरूको अन्तिम मूल्य तथा दैनिक परिसूचकांकहरूको अन्तिम तह घोषणा गरिने गरिएको छ ।

धितोपत्र दलाल (ब्रोकर) : स्टक एक्सचेन्जमा कारोबार गर्ने लगानीकर्ताले सेबोनबाट इजाजतपत्र प्राप्त ब्रोकर मार्फत कारोबार गर्नुपर्छ । यसका लागि ब्रोकर कार्यालय वा अनलाइनबाट कारोबार खाता खोल्नुपर्छ । हाल ९४ वटा ब्रोकरले काम गरिरहेका छन् ।

यिनीहरूले लगानीकर्ता र स्टक एक्सचेन्जबीच मध्यस्थकर्ताको रूपमा काम गर्छन् । कारोबार प्रक्रियाः लगानीकर्ताले आफ्नो कारोबार खाता (टीएमएस) मार्फत खरिद र बिक्री अर्डरहरू राख्न सक्छन् । ती अर्डरहरू नेप्सेको ट्रेडिङ प्लेटफर्ममा म्याच हुन्छन् । नेप्सेको सिस्टमले अर्डर म्याच गर्दा मूल्य र समयको प्राथमिकताका आधारमा गर्छ ।

अर्थात्, नेप्सेको सिस्टमले पहिला मूल्यलाई हेर्छ त्यसपछि समयलाई हेरेर जसको उच्च मूल्य वा न्यून मूल्य हो वा जसको कारोबार आदेश समय पहिलो हो त्यो हेरेर खरिद वा बिक्रीको म्याचिंग गर्ने कार्य गर्दछ ।

सूचकांकः सेयर बजारको सूचकांकले सामान्यतया बजार कुन दिशामा गइरहेको छ भन्ने बताउँछ । यो बजारमा कारोबार भइरहेका कम्पनीहरूको मूल्य घटबढ देखाउने औसत अंक हो । बजारमा कारोबार भइरहेका अधिकांश कम्पनीको सेयर मूल्य घटिरहेको बेलामा सूचकांक घट्छ र बढिरहेको बेलामा बढ्छ । नेपालमा समग्र बजार सूचकांकलाई नेप्से भन्छन् ।

अरू समूहगत सूचकांक पनि छन्, तिनले सम्बन्धित क्षेत्रको स्थिति बताउँछन् । सूचकांकहरू लगानीकर्ता, विश्लेषक र अर्थशास्त्रीहरूका लागि चासोको विषय हुन्छ । सूचकांकले वित्त बजारको स्वास्थ्य नाप्न सहयोग गर्छ । नेपाल स्टक एक्सचेन्जमा भएका सूचकांकहरूः

नेप्से (मेन बोर्ड इन्डेक्स)
सेन्सिटिभ इन्डेक्स
फ्लोट इन्डेक्स
सेन्सिटिभ फ्लोट इन्डेक्स

सब इन्डेक्स
बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य व्यापार ।

करः सेयर बजारमा लगानीकर्ताले आफ्नो नाफामा पूँजीगत लाभ कर तिर्नुपर्ने हुन्छ । करका दर र नियमहरू भिन्न हुनसक्छन् । लगानीकर्ता आफूले किनेको शेयर ३६५ दिनसम्म राखेर त्यसपछि बेचेर नाफा गर्छ भने उसले नाफाको ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ ।

एक वर्षभित्रै (३६५ दिनभित्रै) बिक्री गर्ने अल्पकालीन लगानीकर्ताले भने पूँजीगत लाभकर बापत ७.५ प्रतिशत तिर्नुपर्छ ।

बुल मार्केटका विशेषताहरुः

साधारणतया बुल मार्केटमा निम्नानुसारका विशेषताहरु देख्न सकिन्छः

  • निरन्तर रुपमा बजार परिसूचक तथा कारोबार रकममा वृद्धि हुने,
  • आम लगानीकर्ताहरुले निरन्तर रुपमा शेयर किन्ने र अझै वृद्धि हुने आशामा शेयर होल्ड गरिरहने,
  • भविष्यमा अझै मूल्य वृद्धि हुने आशामा शेयरको मूल्यमा निरन्तर वृद्धि भइरहने र लगानीकर्ताहरु धेरै मूल्यमा शेयर किन्न तयार हुनु,
  • आमलगानीकर्ताले बजारमा शेयर किनबेचको मात्रा बढ्नाले तरलता उपलब्धता बढ्ने,
  • सबैभन्दा महत्वपूर्ण विशेषता भनेको आमलगानीकर्ताको पूँजीबजार प्रति निरन्तर आत्मविश्वास बढ्न गई पूँजीबजारमा गतिशिलता बढ्नु।

बुल मार्केटमा लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विषयहरु

नेपालको पूँजीबजारमा जब जब बजार बुल ट्रेण्डमा जान थाल्दछ, तब आमलगानीकर्ताहरु पनि पूँजी बजार प्रति बढी आकर्षित हुने, सक्रिय कारोबार गर्ने र लगानी रणनीति बिना बजारको हल्लामा आधारित भएर अन्धाधुन्ध लगानी गर्ने चलन व्यापक रुममा पाइन्छ। यसले के देखाउँछ? भने जब बजार निरन्तर बढ्न थाल्दछ त्यस्ता लगानीकर्ताहरु अझै कमाउन सकिन्छ कि भनेर बिना अध्ययन, बिना तयारी तथा बिना रणनीति बजारमा हौसिएर लगानी गरिरहेको पाइन्छ, जसले गर्दा उनीहरु बुल ट्रेण्डको अवधि सकिएको चाल पाउदैनन् र बजारबाट लगानीको प्रतिफल त परै जाओस् लगानी समेत नराम्ररी डुबाउन बाध्य भएको उदाहरण प्रशस्तै पाइन्छ। यस अघिको बुल मार्केट जहाँ नेप्से परिसूचक ३१९९ सम्म पुगेको थियो र त्योबेला धेरैले बजारका हल्लाका भरमा लगानी त गरे तर बुल मार्केटबाट कमाउनुको साटो धेरैले लगानी गुमाएको पीडा आमलगानीकर्तामा व्याप्त छ। त्यसैले बुल मार्केटमा लगानी गर्दा पक्कै पनि लगानीकर्ताहरुले शेयर बजार सम्बन्धि अध्ययन गर्नुका साथसाथै उचित प्रतिफल प्राप्त गर्न तयारीका साथै केहि रणनीतिहरु अवश्य पनि अपनाउन जरुरी देखिन्छ। साथसाथै अहिले पूँजी बजारमा देखिएको वृद्धिका भरपर्दा कारणहरु नदेखिएकोले आमलगानीकर्ताहरुले निकै संयमित र चनाखो भएर मात्र शेयर कारोबार गर्नुपर्नेमा पूँजी बजारका विज्ञहरुले सुझाव दिएको पाइन्छ।

बुल मार्केट ट्रेण्ड रहिरहेको बजारमा लगानीकर्ताहरुले शेयर कारोबार गर्दा निकै नै अध्ययन, सुझबुझ र उपयुक्त रणनीति मात्र अपनाएर लगानी गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। बुल मार्केटमा आमलगानीकर्ताहरुले के–कस्ता रणनीतिहरु अपनाउन आवश्यक छन्? जसलाई निम्नानुसार उल्लेख गरिएको छः

  • समग्रमा बुल मार्केट पूर्ण आशावादिता,लगानीकर्ताको आत्मविश्वास र बजार निरन्तर बढोत्तरीमा आधारित हुने भएकोले बजारको प्रवृत्ति कहिले बदलिन्छ भनेर अनुमान गर्न कठिन हुने भएकोले निकै संयम भएर लगानी गर्नुपर्ने देखिन्छ।
  • लगानी विविधिकरण गरी विभिन्न सेक्टरका राम्रा कम्पनीहरुमा लगानी गर्न सकियो भने यसले एउटा सेक्टरबाट भएको घाटालाई पूर्ति गर्न सहयोग गर्दछ।
  • बुल मार्केटमा आमलगानीकर्ताले ध्यान दिनुपर्ने विषय भनेको लगानीकर्ताको आर्थिक योजना पनि हो। तपाईँसँग कती लगानीको स्रोत छ? कति सीमासम्म सहज लगानी गर्न सक्नुहुन्छ त्यसलाई पनि उचित ध्यान दिनु आवश्यक छ।
  • बुल मार्केटको दौरानमा केही कम्पनीको शेयर मूल्यमा उतारचढाव भइरहेको हुन्छ, त्यस्तो बेलामा मूल्य घटेको कम्पनीको शेयर खरिद गरी बढेको मूल्यमा बेच्न सकिन्छ। जसलाई रिट्रेसमेन्ट एडिसन भनिन्छ।
  • अर्को महत्वपूर्ण रणनीति अन्तर्गत लगानीकर्ताहरुले बुल मार्केट ट्रेण्डमा पनि केही शेयरको मूल्यमा गिरावट आउन सक्ने प्रक्षेपण गरी शर्ट सेलिङ्ग गर्न सक्दछन् जसले बजारबाट उचित प्रतिफल प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय