
नेपाल प्रेस युनियन पाल्पाले नेपाल पत्रकार महासंघ पाल्पाको कार्यालयमा ताला लगाएको छ । केन्द्रीय कार्यक्रम अनुसार पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असमति राख्दै युनियनले महासंघमा ताला लगाएको हो ।
महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको युनियनको आरोप छ । केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको भन्दै केन्द्रीय निर्देशन अनुसार नै महासंघमा ताला लगाइएको युनियनका अध्यक्ष मन गहिरेले बताईन् । उनले भनिन् ‘विधि र प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाउनु र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको प्रति हाम्रो आपत्ति हो ।’ महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो लगाएर मात्र निर्वाचनमा जानुपर्ने अध्यक्ष गहिरेको भनाई छ । युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल नेतृत्वमा पुगेकाे टाेलीले ताला लगाएकाे हाे ।



पाल्पा सहित देशभरका महासंघको कार्यालयमा युनियनले ताला लगाएको हाे । महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघ पाल्पाले निर्वाचन समिति समेत चयन गरेर प्रक्रिया अगाडि बढाएको छ । युनियनको आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।