आज १ जनवरी २०२४ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेकाे छ ।

जनवरी १ र टोपी दिवस

हरेक वर्ष टोपी दिवसको अवसरमा हामीहरूलाई देश–विदेशबाट कार्यक्रमको रूपरेखा, यसको इतिहास र उद्देश्यबारे थुप्रै जिज्ञासा आउँछन्। सामाजिक संजालमा धेरैपटक आउने एउटा जिज्ञासाचाहिंँ विदेशी नयाँ वर्ष जनवरी १ भन्दा नेपाली नयाँ वर्ष वैशाख १ गते गर्दा राम्रो हुन्छ भन्ने हो।

नेपाली टोपी नेपालमा मात्रै होइन नेपाल बाहिरका लाखौं नेपालीको साझा पोशाक पनि हो। त्यसैले यसको प्रवर्धनमा न प्रतिगमन हुन्छ न त उग्र राष्ट्रवाद नै ! जनवरी १ मा नेपालमा सार्वजनिक बिदा नभए पनि युवा पुस्तामा उत्सवको मानसिकता हुन्छ। वैशाख १ त नेपालीको मौलिक नयाँ वर्ष हुँदै हो।

२०१३ कै नोभेम्बर २६ मा फेसबुकमा नेपाली टोपी दिवसको पेज बनाएर ‘आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं’ भन्दै २०१४ जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन फेसबुक पेजबाट गरिएको आह्वान अहिले दश वर्ष पुरा भएको छ।

स्थापनाको पहिलो तीन वर्ष प्रचारप्रसार र यसको अवधारणा मानिसहरूमा स्थापित गर्न नै लाग्यो। अहिलेसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसको रुपमा स्थापित भइसकेको छ। मानिसहरूले यसलाई स्वीकार गरी नियमित रुपमा मनाउने गरेका छन्।

यो अभियानमा नेपाली वा नेपाली मूलका कलाकार, उद्यमी, व्यापारी, शिक्षक, विद्यार्थी, समाजसेवी, राजनीतिकर्मी तथा वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली र अन्य देशमा बस्ने नेपाली मूलका नागरिकको व्यापक सहभागिता रहने गरेको छ। देश विदेशका विभिन्न स्थानमा मानिसहरूले स्वस्फूर्त र्‍याली पनि निकाल्ने गर्दछन्।

हरेक वर्ष अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस नेपालका मुख्य शहरका साथै अमेरिका, क्यानाडा, युरोपका विभिन्न देश, मध्यपूर्व, अफ्रिका, जापान, कोरिया, ताइवान, सिंगापुर, म्यानमार (बर्मा), थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, भारतलगायत नेपाली र गोर्खाली मूलका नागरिकको बसोबास भएका ८० वटा मुलुकमा आ-आफ्नो अनुकूलता अनुसार मनाइने गरेको छ।

हामीलाई लागेको छ- अहिले यो अभियान नेपाली मूलका नागरिकबीच पूर्णता स्थापित भइसकेको छ। हामी दुईजनाले दश वर्षअगाडि सामाजिक संजालबाट सुरु गरेको यो अभियानमा अहिले थुप्रै संघ–संस्था र व्यक्ति जोडिन आएका छन्।

टोपी दिवसको पृष्ठभूमि

हामी वा हाम्रो अभियान नै नेपाली टोपी प्रवर्धनको सर्वेसर्वा होइन। हामीले यो अभियान सुरू गर्नुअघि नै पनि छिटफुट रूपमा आ-आफ्नो हिसाबले कहींकतै केही व्यक्तिले नेपाली टोपी लगाउने र यसको प्रवर्धन गर्ने प्रयास गरेका थिए।

टोपी दिवस र यसको संचालन

सामाजिक संजालमा थप अर्को जिज्ञासा छ, यो कसले र किन गरिरहेको छ ? ‘यो त पुरानो र प्रतिगामी सोच हो। यो निश्चित जाति वा क्षेत्रका मान्छेको मात्रै पोशाक हो।’ नेपाली टोपीको प्रयोग अहिले भर्खर वा उहिलेका कुनै राजा–महाराजाले चलाएको चलन होइन। यो त पुर्खादेखि नेपालीले लगाउँदै आएको पोशाक हो। स्थानीयस्तरमै बनाएर लगाउने गरिएको नेपाली परम्परागत टोपी त कहिले सुरु भयो भनेर भन्न पनि सकिंदैन।

फेरि विविधता हरेक देशमा आफ्नै किसिमका हुन्छन्। कुनै पनि किसिमको विविधता नभएको कुनै देशै छैन संसारभर। विविधतालाई स्वीकार गर्दै सबैभन्दा चल्तीको एउटा पर्व राष्ट्रिय पर्व हुनु, सबैभन्दा चल्तीको एउटा पोशाक राष्ट्रिय पोशाक हुनु वा सबैभन्दा चल्तीको एउटा भाषा राष्ट्रिय भाषा हुनु संसारभरिको मान्यता हो।

अवश्य पनि सबै विविधतालाई सम्मान गर्दै, तिनलाई सम्वर्धन र विकास गर्नुपर्छ। साथै, सबैलाई एउटा सम्पर्क माध्यमले जोड्नु पनि पर्छ। कुनै एउटा समुदायले आफ्नो पोशाक लगाउँछु भन्दा अर्कोले गुनासो गर्नुभन्दा पनि आफूले पनि आफ्नो मौलिक पोशाकको प्रवर्धन गर्नु राम्रो हुन्छ। आफूलाई मन लागेको पोशाक लगाउन हामी सबै स्वतन्त्र छौं।

हामीले पनि राष्ट्रिय पोशाकको भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको नेपाली टोपीको प्रवर्धन गरेका छौं। नेपाली टोपी नेपालमा मात्रै होइन नेपाल बाहिरका लाखौं नेपालीको साझा पोशाक पनि हो। त्यसैले यसको प्रवर्धनमा न प्रतिगमन हुन्छ न त उग्र राष्ट्रवाद नै !

यो अभियान सफल भइैसकेपछि यो अभियानको स्थापनाको जस लिने होडबाजी पनि चल्यो। केही मान्छे वा समूहले यसलाई हामीले सुरु गरेका हौं भनेर केही मिडिया र सामाजिक संजालहरूमा समेत प्रचार गरे। विगत केही वर्षदेखि भने त्यो स्वर अलिक मत्थर भएको छ।

टोपी दिवसको अभियानलाई व्यवस्थित गर्न २०७४ सालमा नेपाली टोपी प्रतिष्ठानको स्थापना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय