सुशीला रेग्मी

रामपुर (पाल्पा), चैत २९

पूर्वी पाल्पामा संस्थागत विद्यालयमा सबैभन्दा पूरानो रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमुना बनेको छ । समयानुकुल आवश्यकता अनुसार विभिन्न प्रविधिको प्रयोग, कम्प्युटर, विज्ञान प्रयोगशाला, शान्त र मनोरम वातावरणमा पढाई हुने विद्यालय अहिले धेरै विद्यार्थीको रोजाईमा पर्ने गर्दछ ।

विसं २०४८ मा स्थापना भएको यस विद्यालयले कालीगण्डकीवेशीका धेरैलाई शिक्षाको उज्यालो ज्योती दिन सफल भएको छ । अंग्रेजी माध्यमको शिक्षा पढ्ने वातावरणबाट वञ्चित बनेका यस क्षेत्रका बालबालिका यो विद्यालय खुलेपछि शैक्षिक क्षेत्रमा ठूलो ईट्टा थपियो । अंग्रेजी तहकै शिक्षा दिन अभिभावकले ठूलो धनराशी खर्च गरेर शहर बजारमा आफ्ना सन्ततीहरुलाई दुखसंग पठाउनुपथ्र्यो । तत्कालिन समयमा शहर बजारसंग सडक सुबिधा जोडिएको थिएन । पैदल हिडेर सदरमुकाम तानसेन, पोखरामा छोराछोरी पढाउनुपर्ने बाध्यतासंग जुँधिरहेका अभिभावकलाई यस विद्यालय खुलेपछि ठूलो राहत पुग्यो । त्यससमयमा यहाँ चलेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी कतिपय जागिरसंगको मात्रै स्वार्थ रहदा शैक्षिक गुणस्तरमा यहाँका बालबालिका सधै पछाडी नै रहन्थे । शैक्षिक विकासमा यस रामपुर अंगे्रजी आवासिय माविको रामपुर क्षेत्रमा ठूलो योगदान रहेको अभिभावक तथा यस क्षेत्रका सरोकारवाला बताउँछन् । करिव चार रोपनी दुई आनामा आफ्नै साधन स्रोतमा विद्यालय सञ्चालन भइरहेको छ । यस आर्थिक वर्ष देखि भने समयानुकुल शिक्षाको विकास गर्दै नयाँ अवधारणाका साथ मन्टेश्वरी कक्षा सुरु गरिएको छ । यस क्षेत्रमा नै नमुनाका रुपमा विभिन्न प्रविधि जडान गरेर मन्टेश्वरी कक्षा सुरु गरिएपछि सबैको ध्यान रामपुर अंग्रेजी आवासियमा नै तानिएको छ । यहाँ मन्टेश्वरी तहमा हाल ६० जना विद्यार्थी छन् । यस शैक्षिक सत्रको वार्षिक परिक्षा सकिएपनि विद्यालयले मन्टेश्वरी तहका बालबालिकालाई दैनिक शिक्षण कार्य गराइरहेको छ । मन्टेश्वरी कक्षा विहान ९ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक चलिरहेको छ । साना कक्षामा पढ्ने बालबालिकालाई विद्यालयभित्रै स्वास्थ्यवद्र्धक अर्गानिक खाजा तयार पारेर बार अनुसार फरक फरक खालको खुवाउने गरिरहेको छ । टाढाका विद्यार्थीलाई सहजताका लागि दुईवटा स्कुल बसको व्यवस्था छ ।

यहाँ रामपुर नगरपालिकाका अलवा, छिमेकी जिल्ला स्याङ्गजा चापाकोट, तनहुँको घिरिङ गाउँपालिकाका विद्यार्थीहरु अध्ययनरत छन् । सुबिधा सम्पन्न कक्षाकोठा, चमेनागृह, स्वच्छ सफा खानेपानी, शैक्षिक कार्यका लागि आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री लगायतको प्रयाप्त सुबिधा रहेको विद्यालयका व्यवस्थापकीय निर्देशक सूर्यप्रसाद घिमिरे बताउनुहुन्छ । “शैक्षिक गुणस्तर बृद्धिका लागि समय अनुसार चलनचल्तिमा रहेका विभिन्न प्रविधिको प्रयोग गर्दै शिक्षण कार्य भइरहेको छ, विद्यार्थीको मनोबल बढ्ने, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ, यसले विद्यार्थी शिक्षण कार्यमा मात्र नभई अन्य कार्यमा पनि अब्बल निस्केका छन्” उहाँले भन्नुभयो । रामपुर नगरपालिकाको केन्द्रविन्दु बेझाड बजारमा अवस्थित रहेकाले पनि यस विद्यालयमा धेरैको आकर्षण छ । दुई रोपनी जग्गा भाडामा लिएर विद्यालयले सुबिधा सम्पन्न मन्टेश्वरीको संरचना तयार पारेर सुचारु गरेपछि विद्यालयको शैक्षिक वातावरण नै बदलिएको छ । हाल सातवटा भवनमा ५२ कक्षाकोठा सञ्चालित छन् । आगामी शैक्षिक सत्र २०८० मा दुई सयको हाराहारीमा विद्यार्थी संख्या बढ्ने लक्ष्य अनुसार विद्यालय अगाडी बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीले बताउनुभयो । “परिक्षा सकिएपछि पनि घर घरमा विद्यार्थीले कसरी समय बिताइरहेका छन् जानकारी लिने गरिएको छ, नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले पनि नयाँ विद्यार्थी धेरै नै भर्नाका लागि सम्पर्कमा आउनुभएको छ, बालमैत्री वातावरणमा शिक्षण कार्य भइरहेको हुदा टाढा–टाढाका विद्यार्थीको पनि यस विद्यालयमा आकर्षण बढेको छ” अध्यक्ष रेग्मीले भन्नुभयो । आगामी शैक्षिक सत्रमा विद्यालयमा सिसि टिभी जडान, विद्यार्थीले पढे नपढेको जानकारी लिन र उनीहरुको पढाईमा ध्यान दिलाउन सबै कक्षाकोठामा एकैसाथ सुनिने गरी अडियो, भिडियो प्रविधि जडान गर्ने, परिक्षाको समय मात्रै नभई बाहै« महिना विद्यार्थी छात्रावास सञ्चालन गर्ने तयारी गरिरहेको समितिका अध्यक्ष रेग्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीलाई अभिभावकबाट छात्रावासको माग आएको छ । उच्च तहको शिक्षा विद्यालयमा नै शिक्षा दिलाउने उद्धेश्यले विसं २०६७ देखि व्यवस्थापन समुहमा कक्षा ११ सुरु गरिएको हो । हाल यहाँ कक्षा ११ मा २२ र कक्षा १२ मा २१ विद्यार्थी अध्ययनरत छन् ।

यसवर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४५ जना विद्यार्थी सम्मिलित भई परिक्षा दिएका छन् । विसं २०६२ देखि एसएलसी परिक्षामा यस विद्यालयले सहभागी हुदै आएको छ । यस शैक्षिक सत्रमा एक हजार सात जना विद्यार्थी अध्ययनरत रहेका छन् । तीन वर्ष देखि माध्यमिक शिक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी छात्रावासको व्यवस्था छ । हरेक वर्ष करिव एक सयको विद्यार्थी बढीरहेका छन् । हाल यहाँ पूर्व प्राथमिक तहमा २१४, प्राथमिक तह (कक्षा १ देखि ५) मा ४७९, आधारभुत तह (६ देखि ८) १७०, मावि तह (कक्षा ९ देखि १२) मा १४४ विद्यार्थी रहेका छन् । विद्यालय ७३ जना सेयर सदस्यको लगानीमा चलिरहेको छ । विद्यालयमा ५४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय