गणेश पौडेल

सुरूमै भन्छु– ऊ मेरी हाफ गल्फ्रेन्ड हो । हाफ- अर्थात् आधा । आधा- अर्थात् अपूर्ण ।

० ० ०

उसले एकदिन भनेकी थिई, “गणेश, के तिमी मलाई प्रेम गर्छौ ?”

“प्रेम ! प्रेम भनेको के हो रश्मी ?” मैले तर्सिएजस्तो गरेर प्रतिप्रश्न गरेको थिएँ । त्यतिखेर मेरो प्रतिप्रश्नले ऊ मौन भएकी थिई ।

ऊ त मौन भई तर त्यही दिनदेखि मेरो मस्तिष्कमा भुइँचालो आयो । आफ्नै प्रतिप्रश्नले आफ्नै मथिंङ्गल हल्लायो । आखिर प्रेम भनेको के हो त ?

मैले प्रेमको परिभाषा खोज्न थालें । संसारका हरेक चिज, वस्तुहरूको परिभाषा हुन्छ भनिन्छ । करोडौं करोड सजीवहरूले प्रेमलाई आ-आफ्नै तरिकाले व्याख्या गरेका छन् । प्रेमको करोडौं व्याख्या सुनेको छु, देखेको छु, पढेको छु । तर, ती करौडौं व्याख्याभित्र मैले प्रेमको परिभाषा पाइनँ ।

परिभाषा र व्याख्या फरक कुरा हुन् । व्याख्या जसरी पनि गर्न सकिन्छ । व्याख्या जहाँ पनि गर्न सकिन्छ । व्याख्या जसले पनि गर्न सक्छ । तर, परिभाषा एकै शब्दमा पूर्ण छ । परिभाषाले आफ्नो व्याख्या आफैं गर्छ । परिभाषा आफैं व्याख्या हो तर व्याख्या परिभाषा हुन सक्दैन ।

परिभाषा भनेको स्वयं अर्थात् ‘म’ हो । म– अर्थात् पूर्ण । पूर्ण हुनु भनेको सम्पूर्ण हुनु हो । जुनकुनै कुरा तपाईंको मस्तिष्कमा पर्दा, तपाईंको स्नायुहरूले अनुभूत गर्दा तपाईंमा जुन तरङ्ग आउँछ, वास्तवमा त्यही हो उसको परिभाषा । अनि त्यही तरंगलाई तपाईंले जसरि व्यक्त गर्नुहुन्छ- त्यही हो व्याख्या ।

तपाईं व्याख्या जसरी पनि गर्न सक्नुहुन्छ ।

प्रेम आफैंमा पूर्ण छैन, त्यसैले प्रेमको परिभाषा छैन । प्रेम हुनु भनेको अपूर्ण हुनु हो । ‘म’बाट ‘हामी’ बन्नु हो । प्रेमले भोक जगाउँछ र सन्तुष्ट बनाउँछ । तर, पूर्ण सन्तुष्ट बनाउँदैन । पूर्णलाई अपूर्ण बनाएर पूर्णको पथमा डोर्याउने काम प्रेमले गर्छ ।

प्रेमको गहिराइ खोज्दाखोज्दै मान्छे मर्छ । त्यसपछि प्रेमको अवशेषमात्र बाँकी रहन्छ ।

म भन्छु- प्रेम भोक हो । प्रेम प्यास हो । प्रेमको क्षेत्राधिकार छ । प्रेमको आयु छ । प्रेमको मृत्यु हुन्छ ।

० ० ०

कलेजको पहिलो दिन नै भाग्यले रश्मी र मलाई एउटै बेन्च जुराइदियो । हामीले परिचय गर्यौं ।

रश्मी र म छोटो अवधिमै मिल्ने साथी भयौं । मैले रश्मीसँग मेरो क्याम्पस जिन्दगीको अधिकांश समय बिताएको छु । बिताउँदै छु । ऊ मेरी नजिककी सारथि बनेकी छ ।

क्याम्पसका अलावा कहिलेकाहीँ रश्मी र म बाहिर घुम्न जान्छौं । सँगै तस्बिर खिचाउँछौं । एउटै थालीको आधाआधा खाना खान्छौं । उसले मलाई आफ्ना दु:ख-सुख निर्धक्कसाथ सुनाउँछे । म निर्धक्कसाथ मेरा सुख-दु:ख ऊसँग साट्न सक्छु । च्याटबक्समा घण्टौं गफिँदा पनि हामी थाक्दैनौं ।

साथी भनेको संसारको सबैभन्दा पवित्र साइनो हो । साथीत्वमा रिस हुँदैन । भइहाले पनि फकाउने सामर्थ्य हुन्छ । साथीत्वमा भोक हुँदैन । प्यास हुँदैन । तृप्ति हुँदैन । एउटा ढुङ्गाको टुक्रा गुलेलीमा पर्यो भने हतियार बन्छ, मन्दिरमा भगवान् । साथी भनेको हतियार हो । साथी भनेको भगवान् हो । अर्थात् साथी ढुङ्गा हो ।

साथीत्व स्वीकार्नु भनेको उसको हाउभाउ, बानी–व्यवहार, सम्पूर्णता स्वीकार्नु हो । साथीका लागि हरेक कुरा खुला हुन्छ । म रश्मीसँग कैयौंपटक एउटै सिरानीमा निदाएको छु । सँगै एउटै बिछ्यौनामा रात काटेको छु । रश्मीको छाती मेरो शरीरमा कैयौंबार ठोकिएको छ । रश्मीको सुन्दर रूप मेरो नयनभित्र बारबार ओहोरदोहोर गरिरहन्छ ।

म एक जवान पुरूष हुँ । जवानीमा सियोको टुप्पोले छोए पनि करेन्ट लाग्छ भन्छन् । हो- अरू पुरूषजस्तै ममा पनि भोक छ । ममा पनि प्यास छ । मलाई पनि यौनको तिर्खा लागिरहन्छ । सुकेको कम्मर र फुकेको छाती भएका छोरीमान्छे देखें भने पनि मलाई उत्तेजना आउँछ । शरीरभरि काउकुती लाग्छ । मनमा प्यास जाग्छ । मैले कैयौंपटक सन्नी लियोनीका नग्न तस्बिरहरूसँग हस्तमैथुन साटेको छु । सपनामै कतिपटक चरम उत्कर्षमा पुगेर स्खलित भएको छु । कुनै राम्री केटीसँग आँखा जुधेकै भरमा कति दिवास्वप्न देखेको छु ।

मैले भनिसकें- साथीत्वमा भोक हुदैन । त्यसैले रश्मीप्रति मलाई कहिल्यै भोक लागेन । कहिल्यै प्यास लागेन । मलाई सपनाहरूमा स्खलित पार्न कहिल्यै ऊ आइन । कुनै पनि हस्तमैथुनमा ऊ मेरी ड्रिमगर्ल बनिन । उसको खुला छाती मैले देखेको छु तर मेरा नजरले उसको छातीको उचाइँ नापेन । सयौंबार यौनका विषयमा रश्मी र मैले घण्टौं बहस गरेका छौं । तर पनि मेरो लागि आजसम्म उत्तेजनाको स्रोत रश्मी कहिल्यै बनिन । बनेकी छैन । बन्दिन पनि ।

मैले अघि नै भनें नि- प्रेम अपूर्ण छ । प्रेममा भोक हुन्छ । प्रेममा प्यास हुन्छ । प्रेममा तृप्ति क्षणभरलाई छ । प्रेममा छिनभरमै भोक र छिनभरमै सन्तुष्टि दिनसक्ने उत्प्रेरक तत्व छ । प्रेममा यौन हुनु अनिवार्य छ । त्यसैले बिनायौन, बिनाभोक, बिनाप्यासकी रश्मी मेरी प्रेमिका होइन ।

तर, म रश्मीलाई माया गर्छु ।

माया र प्रेममा फरक छ । प्रेममा भोक र भोग हुन्छ । मायामा सन्तुष्टि हुन्छ ।

कलेजमा रश्मी नआएको दिन म पूरा क्लास लिन सक्दिनँ । रश्मी नआएको दिन म क्याम्पसमा खाजा नै खान्नँ । रश्मी नगएका ठाउँमा घुम्नै जान्नँ । ऊसँग एकदिन च्याटमा कुरा गरिनँ भने मलाई निद्रै लाग्दैन । रश्मीलाई मेरा सुख-दु:खका क्षण साटिनँ भने मेरो मन भारि भइरहन्छ । मलाई खटपट भइरहन्छ ।

प्रेममा लत हुन्छ, मायामा आदत । लत हुनु भनेको आदत हुनु होइन । आदत बिस्तारै लत हुन सक्छ तर लत आदत हुन सक्दैन । लत लागेपछि मान्छे ऊबिना बाँच्न सक्दैन । आदत बिस्तारै छुटाउन सकिन्छ । रश्मी मेरो आदत हो, लत होइन । रश्मीबिना म अधुरो केही हदसम्म हुँला तर ऊबिना म बाँच्न सक्छु ।

रश्मी मेरो भोक होइन । भोक नभएको प्रेम- प्रेम हुँदैन । तर पनि मेरा साथीहरू मैले रश्मीलाई प्रेम गरेको देख्छन् । दुनियाँले रश्मी र मलाई प्रेमी-प्रेमिका देख्छ । रश्मी मसँगै हिँड्दा मेरो हात पकडेर हिँड्छे, त्यही हो हाम्रो प्रेमको निशानी । रश्मी मसँगै एउटै बेन्चमा बस्छे, त्यही हो हाम्रो प्रेमको निशानी ।

रश्मी र मेरो सम्बन्धमा होइन, हाम्रो साथीत्व प्रेमिल छ । त्यसैले ऊ मेरी हाफ गर्लफ्रेन्ड हो ।

अर्थात आधा प्रेमिका । अर्थात अपूर्ण प्रेमिका