मुक्तिप्रसाद न्यौपाने

पाल्पा, मंसिर २४

प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले पाल्पालाई लालकिल्ला कायम गरेको छ । आइतबार घोषित मतपरिमाण अनुसार सबै क्षेत्रमा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारले ‘क्लीन स्वीप’ गरेका हुन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका दलबहादुर राना विजयी भएका छन् । उनी ३० हजार ५ सय ४९ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरे । राना पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री हुन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका सोमप्रसाद पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तरले हराउँदै विजयी भएका हुन् । पाण्डेले ३४ हजार ८ सय ९९ मतसहित विजयी हुँदा कांग्रेस नेता नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरे ।प्रदेशसभातर्फ क्षेत्र नं. १ ‘क’ मा नेकपा एमालेका युवराज खनाल विजयी भएका छन् । खनालले १७ हजार ८ सय ५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज ढकालले १३ हजार ६ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए । नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य प्रदेशसभा १ ‘ख’ मा विजयी बनेका छन् । वामगठबन्धनका तर्फबाट आचार्य १४ हजार ४ सय ६६ मत सहित विजयी बनेका हुन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दानबहादुर पछाईले १० हजार ५ सय १ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’ मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए । प्रदेशसभा २ ‘ख’ मा बामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन् । गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरि विजयी भएका हुन् । घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ बिजयी बन्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामबहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरे । विजयीपछि वाम गठबन्धनले विजयी ¥याली समेत निकालेको छ । विजय उत्सवलाई सम्बोधन गर्दै वाम नेताहरुले गठबन्धनले लालकिल्ला कायम राख्न सफल भएको बताए ।