पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री राना विजयी
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, मंसिर २४
प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनका दलबहादुर राना विजयी भएका छन् । नेकपा एमालेका नेता राना ३२ हजार ५ सय ४९ मत सहित विजयी भएका हुन् ।
पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री राना २०५६ का प्रतिस्पर्धी विजय घिमिरेलाई ९ हजार ६ सय ५६ मतले पछाडी पार्दै विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य राना २०५१ र २०६४ सालमा सांसद भैसकेका व्यक्ति हुन् । राना २०७० मा भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए ।
जिल्लाको प्रतिनिधीसभा क्षेत्र नं. २ मा नेकपा एमालेका सोमप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तरले हराउँदै विजयी भएका हुन् । पाण्डेले ३४ हजार ८ सय ९९ मतसहित विजयी हुँदा कांग्रेस नेता नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरे ।
यससँगै जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभा क्षेत्र नं. १ ‘क’ मा युवराज खनाल, १ ‘ख’ मा नारायण आचार्य र २ ‘क’ मा डा. पुरनमान बज्राचार्य विजयी भएका छन् । २ ‘ख’ मा वाम गठबन्धन (नेकपा माओवादी केन्द्र) का तुलाराम घर्ती मगर विजयी भएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए ।