एन्फा महिला लीग च्याम्पियनशिप फुटबल
पाल्पा, जेठ २१
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको एन्फा महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा काठमाण्डौं, झापा, कैलाली र ताप्लेजुङ्ग क्वाटर फाईनलमा प्रवेश गरेको छ । आईतबार सम्पन्न लिग चरणमा काठमाण्डौं सात, झापा छ, ताप्लेजुङ्ग नौ र कैलाली छ अंक सहित नक आउट चरणमा प्रवेश गरेका हुन् ।
तानसेनको टुँडिखेल मैदानमा जारी प्रतियोगितामा आईतबार कैलाली र ताप्लेजुङ्ग विजयी भएका हुन् । बिहान भएको खेलमा कैलालीले चितवनलाई शून्यका विरुद्ध पाँच गोलको जित निकालेको थियो । चितवनका लागि गंगा अधिकारीले दुई, सुस्मिता दवाली, महिमा र हेमा चौधरीले एक–एक गोल गरेका हुन् । जितसँगै कैलाली क्वाटर फाईनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा सप्तरी र सिन्धुली बराबर खेलेका हुन् । लिग टेबलका आधारमा खेलिएका् खेलमा दुवै जिल्ला क्वाटर फाइनल खेल्न भने सकेनन् । सप्तरी अंक तालिकामा दुई र सिन्धुलीको एक अंक रहेको एन्फा पाल्पाका अध्यक्ष भीमसेन कार्कीले बताए ।
आईतबार दिउँसो ४ बजे भएको तेस्रो खेलमा ताप्लेजुङ्गले सिन्धुपाल्चोकलाई ताप्लेजुङ्गले शुन्यका विरुद्ध पाँच गोल गरेको थियो । ताप्लेजुङ्गका लागि अनुष्का शेर्पा र गिता राना मगरले दुई दुई तथा भुजुङ्ग राईले एक गोलको योगदान गरेको रेफ्री एसेसर श्रीराम रञ्जितकारले बताए ।
चौध जिल्लाको सहभागिता रहेको खेलबाट भोजपुर, कञ्चनपुर, मकवानपुर, दाङ्ग, महोत्तरी, सिन्धुली, सप्तरी, उदयपुर, चितवन र सिन्धुपाल्चोक बाहिरिएका छन् । वालिङ्गको खेल मैदान र तानसेनको टुँडिखेलबाट छनौट भएका खेलाडीहरुको फाईनल खेल जेठ २६ गते टुँडिखेलमा हुने छ । सोमबार दिउँसो दुई बजे काठमाण्डौ र झापा तथा चार बजे कैलाली र ताप्लेजुङ्ग बिच नक आउट खेल हुने एन्फा पाल्पाले जनाएको छ ।