तानसेन, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका रामपुर नगरपालिका–३ कुतिपुरका ४२ वर्षीय चोकबहादुर थापा तथा संगठित अपराध कसुरमा दोषी ठहर भएका रामपुर नगरपालिका–६ का ४२ वर्षीय कोपबहादुर थापा र सोही स्थानका ४१ वर्षीय नारद कुमाल रहेका छन्।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका चोकबहादुर थापालाई रामपुर नगरपालिका–३ कुतिपुरबाट पक्राउ गरिएको हो। जिल्ला अदालत पाल्पाले २०८१ पुस १७ गते गरेको फैसलाअनुसार उनलाई बैंकिङ कसुरमा १४ दिन कैद र ५ करोड ९२ लाख ३८ हजार ८ सय रुपैयाँ जरिवाना तोकिएको थियो।



त्यसैगरी, संगठित अपराध कसुरमा दोषी ठहर भई फरार रहेका कोपबहादुर थापा र नारद कुमाललाई रामपुर नगरपालिका–५ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
अदालतको फैसलाअनुसार कोपबहादुर थापा र नारद कुमाल दुवैलाई जनही ७ महिना २३ दिन कैद सजाय तोकिएको छ। कोपबहादुर थापाले १ लाख ५० हजार रुपैयाँ तथा नारद कुमालले १५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार तीनै जना प्रतिवादीबाट अदालतको फैसला कार्यान्वयनअन्तर्गत कुल ५ करोड ९४ लाख ३ हजार ८ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई कैद भुक्तान तथा जरिवाना असुलउपरका लागि २०८३ भदौ ६ गते जिल्ला अदालत पाल्पामा पेस गरिएको प्रहरीले जनाएको छ।
अदालतबाट फैसला भइसके पनि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई पाल्पा प्रहरीले निरन्तरता दिँदै आएको छ। यस क्रममा विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाउने कार्य हुँदै आएको प्रहरीले जनाएको छ।










