पाल्पा, असार १४
कृषिलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पाल्पाको माथागढी गाउँपालिकाले हाते ट्याक्टर (पावर टिलर) वितरणसँगै कृषकलाई त्यसको मर्मतसम्बन्धी व्यावहारिक तालिम पनि प्रदान गरेको छ। गाउँपालिकाले पछिल्लो चार वर्षमा ३ सयभन्दा बढी कृषकलाई निःशुल्क हाते ट्याक्टर उपलब्ध गराइसकेको छ भने उपकरणको प्रभावकारी प्रयोग, सामान्य मर्मत तथा दीर्घकालीन उपयोग सुनिश्चित गर्न सीपमूलक तालिम सञ्चालन गरेको हो।



गाउँपालिकाभित्रका आठवटै वडाका कृषक तथा युवालाई लक्षित गरी सञ्चालन गरिएको तालिमले कृषि यान्त्रिकीकरणलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कृषकलाई उपकरण उपलब्ध गराउनु मात्र पर्याप्त नभई त्यसको उचित सञ्चालन र सामान्य मर्मतसम्बन्धी ज्ञान पनि आवश्यक पर्ने भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो।
“हामीले चार वर्षको अवधिमा ३ सयभन्दा बढी कृषकलाई हाते ट्याक्टर वितरण गरेका छौं। उपकरण प्रयोगका क्रममा देखिने सामान्य समस्या कृषक आफैंले समाधान गर्न सकून्, मर्मत खर्च कम होस् र कृषि कार्यमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरेका हौं,” अध्यक्ष चिदीले भन्नुभयो।
उहाँका अनुसार कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यअनुसार गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय को आयोजना तथा माथागढी गाउँपालिकाको सहकार्य र समन्वयमा सञ्चालन गरिएको हो। ३९० घण्टा अर्थात् ६५ दिनसम्म सञ्चालन भएको तालिममा हाते ट्याक्टरको संरचना, सञ्चालन विधि, नियमित मर्मत, सामान्य प्राविधिक समस्या पहिचान तथा समाधानका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो।
माथागढी गाउँपालिका–३ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक तेजबहादुर घर्तीले ग्रामीण क्षेत्रमा रहेका युवालाई सीपयुक्त बनाउँदै स्वरोजगार र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार तालिमबाट कृषकले आफ्नै उपकरण मर्मत गर्न सक्ने क्षमता विकास हुनुका साथै भविष्यमा मर्मत सेवामार्फत आयआर्जन गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।
गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीका अनुसार माथागढी गाउँपालिकाले कृषिलाई व्यावसायिक र उत्पादनमुखी बनाउन हाते ट्याक्टर, उन्नत बीउबिजन, प्लास्टिक टनेल, मल्चिङ सामग्री तथा अन्य कृषि उपकरण र औजार वितरण गर्दै आएको छ। साथै उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत कृषकलाई प्रोत्साहन गरिरहेको उहाँले जानकारी दिनुभयो।
गाउँपालिकाले स्थानीय सम्भावना र भूगोलअनुसार कृषि पकेट क्षेत्रसमेत निर्धारण गरेको छ। वडा नं. १, २ र ३ लाई तरकारी पकेट क्षेत्र, वडा नं. ४ लाई काफल तथा खुर्सानी पकेट क्षेत्र, वडा नं. ५ लाई दालचिनी उत्पादन क्षेत्रका रूपमा विकास गर्दै आएको छ। त्यसैगरी वडा नं. ६, ७ र ८ मा कृषि तथा पशुपालन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरी किसानलाई प्राविधिक, सामग्री तथा अनुदानमार्फत सहयोग प्रदान गरिँदै आएको प्रवक्ता दर्लामीले बताउनुभयो।
कृषि यान्त्रिकीकरण, सीप विकास र उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई एकसाथ अघि बढाएको माथागढी गाउँपालिकाको पहलले कृषकको उत्पादन क्षमता वृद्धि, श्रम लागत घटाउने तथा कृषि पेशालाई थप सम्मानित र आकर्षक बनाउने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि आधुनिक प्रविधि, तालिम र अनुदानलाई जोड्दै कृषिलाई स्थानीय आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।










