latest
उत्पादनका आधारमा अनुदान, यान्त्रीकरण र व्यावसायिक खेतीले फेरिँदै माथागढीको कृषि  ||    लिफ्ट खानेपानी योजनाले फेरियो माथागढीका डाँडाबस्तीको दैनिकी  ||    माथागढीको नौ वर्षमा सडक, पुल र सिंचाइ पूर्वाधारले फेरियो गाउँको मुहार  ||    माथागढीमा स्वास्थ्य सेवाको फड्को : घरदैलोमै आधुनिक उपचार, नागरिकमा बढ्यो स्वास्थ्य चेतना  ||    तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन, जनसेवा थप प्रभावकारी हुने विश्वास  ||    रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||   
आइतबार , असार १४, २०८३

पाल्पा । करिब एक दशकअघिसम्म माथागढी गाउँपालिकामा स्वास्थ्य सेवा भन्नासाथ खोप र सामान्य औषधि मात्रै सम्झिने अवस्था थियो। बिरामी परेपछि मात्र स्वास्थ्य संस्था पुग्ने चलन रहेको यस क्षेत्रमा अहिले स्वास्थ्यप्रतिको सोच र व्यवहारमा उल्लेखनीय परिवर्तन आएको छ। स्थानीय सरकार गठनपछि स्वास्थ्य पूर्वाधार विस्तार, जनशक्ति व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमले नागरिकहरू नियमित स्वास्थ्य परीक्षण तथा रोगको रोकथामका लागि पनि स्वास्थ्य संस्था पुग्न थालेका छन्।

गाउँपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र विश्वसनीय बनाउँदै ‘पूर्ण संस्थागत सुत्केरी सेवा’‘पूर्ण खोपयुक्त पालिका’ को पहिचानलाई निरन्तरता दिएको छ। साथै, पालिकाभित्र निर्माणाधीन १५ शैयाको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेको छ भने अस्पताल सञ्चालनका लागि मेडिकल अधिकृतको सिफारिससमेत भइसकेको छ।

गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले नागरिकलाई घरदैलोमै आधुनिक र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार निर्वाचनका बेला जनतासँग गरिएको प्रतिबद्धताअनुसार स्वास्थ्य पूर्वाधार निर्माण, आवश्यक जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारलाई योजनाबद्ध रूपमा अघि बढाइएको हो।

“हिजो सामान्य औषधिका लागि पनि सहर धाउनुपर्ने अवस्था थियो,” अध्यक्ष चिदीले भन्नुभयो, “आज गाउँमै जनस्वास्थ्य प्रयोगशाला (ल्याब), बर्थिङ सेन्टर, एम्बुलेन्स सेवा उपलब्ध छन्। अब १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि माथागढीको स्वास्थ्य क्षेत्रमा अझ ठूलो परिवर्तन आउनेछ।”

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले दुर्गम बस्तीका नागरिकलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन विशेष ध्यान दिइएको बताउनुभयो। उहाँका अनुसार सडक पूर्वाधारको विस्तारसँगै स्वास्थ्य सेवालाई जोडिएको छ भने गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई वटा एम्बुलेन्सले न्यूनतम शुल्कमा बिरामीलाई सेवा दिइरहेका छन्।

उहाँले विगतमा गर्भवती महिलाले जोखिम मोलेर घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले त्यो अवस्था अन्त्य भएको बताउनुभयो। पहिले झडेवा स्वास्थ्य चौकीमा मात्र सीमित रहेको बर्थिङ सेन्टर अहिले पालिकाका सातवटै स्वास्थ्य चौकीमा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो।

वि.सं. २०७४ अघि सीमित स्वास्थ्य सेवा रहेको माथागढीमा पछिल्ला नौ वर्षमा चिदीपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहवास र बहादुरपुरमा बर्थिङ सेन्टर स्थापना भएका छन्। त्यस्तै हात्तिलुङ्ग, धैरेनी, शिकारकोट, भुटुके, मटेरी र ताकातुङ्गमा थप सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी दुर्गम बस्तीका नागरिकलाई पनि आधारभूत स्वास्थ्य सेवा सहज बनाइएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवबहादुर जिसीका अनुसार स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको पहुँच घरदैलोसम्म पुगेपछि नागरिकमा स्वास्थ्य चेतना उल्लेखनीय रूपमा बढेको छ। विगतमा स्वास्थ्य चौकी आउन हिचकिचाउने नागरिक अहिले जुकाको औषधि, आइरन, क्याल्सियम, भिटामिन ‘ए’ तथा गाउँपालिकाले उपलब्ध गराउने अण्डालगायत पोषण सामग्री लिन आफैँ स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्।

उहाँका अनुसार पहिले क्षयरोग परीक्षण गराउन वा लामो समयसम्म खोकी लाग्दा पनि स्वास्थ्य परीक्षण गर्न नागरिकलाई धेरै सम्झाउनुपर्ने अवस्था थियो। अहिले भने नियमित स्वास्थ्य परीक्षणप्रति नागरिकको सकारात्मक सहभागिता बढेको छ।

बाल स्वास्थ्यमा पनि उल्लेखनीय सुधार देखिएको छ। २४ महिनासम्म २४ पटक गरिनुपर्ने नियमित बाल वृद्धि अनुगमनको औसत सहभागिता अहिले २२ पटकसम्म पुगेको छ। पूर्ण स्तनपान तथा समयमै थप आहार सुरु गर्ने बालबालिकाको दर पनि ८० प्रतिशतभन्दा माथि पुगेको स्वास्थ्य शाखा प्रमुख जिसीले जानकारी दिनुभयो।

एक समय सामान्य ल्याब परीक्षणका लागि समेत जिल्ला सदरमुकाम वा बाहिरी सहर पुग्नुपर्ने माथागढीमा अहिले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ। स्वास्थ्य सेवा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बन्दै गएपछि सामान्य उपचारका लागि जिल्ला वा अन्य सहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घटेको स्थानीय नागरिकहरूको अनुभव छ।

स्थानीय सरकारको योजनाबद्ध लगानी, स्वास्थ्य पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र नागरिकमा बढ्दो स्वास्थ्य सचेतनाले माथागढी गाउँपालिकालाई ग्रामीण स्वास्थ्य सेवाको सफल उदाहरणका रूपमा स्थापित गर्दै लगेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय