
वरिष्ठ पत्रकार, कुटनीतिज्ञ तथा वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा कमल प्रसाद कोइरालाको योगदान स्मरण गर्दै शाेक सभा गरिएकाे छ । पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा प्रतिष्ठानका अध्यक्षत गोविन्द भट्टराईकाे अध्यक्षतामा व्यक्तित्व एवम् योगदानबारे चर्चा सहित कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनाल, संरक्षक अशोककुमार शाही, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मी, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले उनकाे याेगदानकाे चर्चा गरेका थिए । काेइरादा पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ द्वारा सम्मानित व्यक्तित्व हुन् ।
काे हुन् कमल कोइराला ?
नेपाली पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका साथै सामाजिक सद्भाव अभिवृद्धिका लागि ६ दशकभन्दा बढी समयदेखि कमल प्रसाद कोइराला (कमल कोइराला)ले पु¥याउनुभएको योगदानको कदर गर्दै पुष्पलाल स्मृति प्रतिष्ठान नेपालले उहाँलाई समारोहबिच पुष्पलाल स्मृति दिवस पारेर २०८० असार १५ गते पाल्पा तानसेनमा पुरस्कृत गरेको थियो । आजीवन नेपाली राष्ट्रियता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि संघर्षरत वाम तथा लोकतान्त्रिक आन्दोलनका मूर्धन्य व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्मरणीय बनाउन तथा मर्यादित र पेसागत पत्रकारिताको विकासलाई सघाउने उद्देश्यसहित तानसेन नगरपालिकाको सहयोगमा २०७५ मा स्थापित १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको वर्ष २०७८ का लागि उक्त पुरस्कार कोइरालालाई प्रदान गरिएको थियो । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्धको लडाइँमा होस् वा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा (दृष्टि साप्ताहिकको प्रधान सम्पादक रहँदा वा वैचारिक स्तम्भकारका रूपमा जन आस्था साप्ताहिक लगायत विभिन्न पत्रिकामा लेखेर) जनपक्षीय पत्रकारिताको माध्यमबाट कोइरालाले पु¥याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तानसेन, पाल्पामा आयोजित विशेष समारोहका बीचमा पुरस्कार अर्पण गरिएको स्मरण गर्दछु ।
नेपाली लोकतान्त्रिक प्रगतिशील आन्दोलनका योद्धा, पत्रकारिता तथा लेखन क्षेत्र र कूटनीतिमा बेदाग छाप र अग्लो कदको परिचय बनाउनुभएका कमलप्रसाद कोइरालाको उपचारक्रममा २०८१ चैत १७ गते बेलुका ९ बजे काठमाडौं, सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको खवरले पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल परिवार अत्यन्त दुःखी भएका छौँ । केही दिन अघि बानेश्वर थापागाउँस्थित निजी निवासमै लडेर पक्षघात भएपछि कोइरालालाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । छोराको निमन्त्रणामा अमेरिका जाने तयारी गरिरहेकै बेला पाँच दिनअघि कोइरालालाई पक्षघात भएको थियो । कर्मशील कमल कोइरालाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोकको यस घडीमा शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।
कमल कोइरालाबारे केही कुरा राख्न चाहन्छु । नेपाली काँग्रेसका प्रथम सभापति मातृकाप्रसाद कोइरालाका छोरा कमलप्रसाद कोइरालाले परिवारको एक्लो कम्युनिष्टको रुपमा सिंगै जीवन बिताउनुभएको छ । आफ्नै बुबा मातृकाप्रसाद प्रधानमन्त्री भएकै बेला १८ बर्षको उमेरमा सडक आन्दोलनबाट समातिनुभएका कमलप्रसाद कोइराला कांग्रेस सभापति तथा आफ्नै काका गिरिजाप्रसादले गराएको ०५१ को मध्यावधि निर्वाचनमा मोरङबाट प्रतिनिधिसभा सदस्यसमेत हुुनुभयो भने महाकाली सन्धिपछि नेकपा (एमाले) मा आएको विवादका वीच निरन्तर कम्युनिष्ट क्रान्तिकारिता र राष्ट्रवादी धारमा उभिनुभयो । ८७ वर्षअघि विराटनगरको कोइराला परिवारभित्र कृष्णप्रसाद कोइरालाका नाति अर्थात मातृकाप्रसाद कोइरालाका छोराको रुपमा जन्मनु भएका कमलप्रसाद कोइराला परिवारभित्र एक्लो कम्युनिष्टको रुपमा चिनिनुहुन्थ्यो ।
बुबा मातृकाप्रसाद, काकाहरु वीपी र गिरिजाप्रसाद कोइराला गरी तीन जना प्रधानमन्त्री एउटै परिवारभित्रैका हुँदा पनि फरक राजनीतिक ध्रुवमा उभिनुभएका कमलप्रसाद नेपाल कम्युनिष्ट पार्टीको दोश्रो महाधिवेशनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेकपा माले र नेकपा माक्र्सवादी एकतापश्चात् नेकपा (एमाले) केन्द्रीय कमिटीको सदस्य रहनुभएका कोइराला पछि सल्लाहकार समितिको सभापति, प्रतिनिधिसभामा राज्यव्यवस्था समितिको सभापति र दक्षिण कोरियाका निम्ति राजदूत पनि हुनुभयो । जुन क्षेत्रमा रहँदा पनि उहाँले कर्मनिष्ठ पहिचान बनाउनुभयो । जीवनको अन्तिम श्वाससम्म नेपालीको स्वाभिमानका लागि सही बाटोमा हिँडेको वामपन्थी राजनीति र निर्भिकतापूर्ण ढंगले चलेको पत्रकारिताको कलमलाई नै बलियो भरोसा मान्ने कमलप्रसाद कोइराला अब हामीमाझ भौतिक रुपमा हुनुहुन्न । बढ्दो उमेरका वावजुद चम्किलो आँखा र तेजिलो स्मरण शक्तिका धनी उहाँका कृति,कर्म,चिन्तन,उर्जा, प्रेरणा र प्रोत्साहनहरुले भने हामीलाई सधैं सधैं घच्घच्याइरहेका हुनेछन् । पाल्पामा सम्मान ग्रहणका लागि विश्व प्रेस काउन्सिलका महासचिव तथा यस प्रतिष्ठानका सदस्य वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग आउनुहुँदा नेतृत्व मिडिया प्रा.लि.को अयोजनामा तानसेनमा भएको कार्यक्रममा उहाँले पाल्पाली पत्रकारहरूलाई खोजी पत्रकारिताबारे निर्भिकतापूर्वक खट्न युवा जोसका साथ उत्प्रेरणा प्रदान गर्नुभएको भर्खर जस्तै लाग्दछ ।
शैक्षिक योग्यताको प्रमाणपत्रमा कमलप्रसाद कोइरालाको जन्मदिन १९३८ अगष्ट १५ रहेको छ । कहिले जन्मेको भन्ने नेपाली तिथिमिति धेरैलाई यकिन छैन । राणाकालमै बनारसतिर निर्वासनमा रहेको बेला काङ्ग्रेस पूर्व सभापति कृष्णप्रसाद भट्टराईले ७ कक्षामा स्कूल भर्ना गर्न लग्दा ठट्यौली पारामा ल अब तिम्रो जन्मदिन अगष्ट १५ भयो भनेकै भरमा सर्टिफिकेटदेखि सबैतिर सो मिति नै आफ्नो औपचारिक जन्मदिन कायम भएको प्रसङ्ग सुनाउनुहुन्थ्यो । कोइरालाका अनुसार ख्याल ख्यालमै किसुनजीले भारत स्वतन्त्र भएको दिन अगष्ट १५ र जन्मसाल चाहिँ १९३८ लाई कोइरालाको जन्मदिन कायम गराईदिनुभयो । कोइरालाले बनारस हिन्दू विश्वविद्यालयबाट बीए र गोरखपुर विश्वविद्यालयबाट एलएलबी गर्नुभएको छ । सन् १९६९ मा धनदेवी कोइरालासङ्ग बिहे भयो जो दुई अढाइ दशकअघि नै बितिसक्नुभएको छ । उहाँका छोरा ३० बर्षदेखि डा.कञ्चन कोइराला अमेरिका र छोरी ऋचा कोइराला नेपालमै हुनुहुन्छ । विमलप्रसाद कोइराला र अजय कोइराला दाजुभाइ तथा सविता र कान्ता अर्याल बहिनीहरु हुन् । दृष्टि र जनआस्था साप्ताहिकको सम्पादक,सँस्थापक सल्लाहकार र सक्रिय स्तम्भकारको रुपमा रहनुभएका कोइराला पछि रोडम्याप र साँघु साप्ताहिकलगायतसँग पनि जोडिनुभयो । ऐतिहासिक दस्तावेज र चिठ्ठीपत्रहरूको संकलन “वीपी, मातृका र दिल्ली” पुस्तक उहाँको संकलनको रुपमा प्रकाशित छ ।
कमल कोइराला आफ्ना हजुरबा कृष्णप्रसाद र बुबा मातृकाप्रसादले संकलन गर्नुभएका ऐतिहासिक दस्तावेजहरुलाई संग्रह गरेर पुस्तक तयार गर्दै आफ्नै पनि आत्मकथा प्रकाशनको अन्तिम तयारीमा हुनुहुन्थ्यो । विरामी अवस्थामा उक्त्त कर्मका लागि उहाँले किशोर श्रेष्ठलाई आग्रह गर्नुभएको बताइन्छ । उहाँको जीवनी धेरैका लागि प्रेरणाप्रद बन्नसक्ने आशा गरौँ । राजनीतिमा क्रान्तिकारी वामपन्थी ध्रुवीकरणको पक्षधर रहनुभएका कोइराला धेरैका पत्रकारिता र लेखनका समेत प्रेरणास्रोतका रुपमा रहनुभएको छ । अन्त्यमा, उहाँको योगदान स्म्रण गर्दै पुनः हार्दिक नमन गर्दछौँ ।
शोक सभामा प्रस्तुत सामग्री गोविन्द भट्टराई (अध्यक्ष)
२०८१ चैत १९, तानसेनपुष्पलाल स्मृति प्रतिष्ठान नेपाल
पाल्पा, तानसेन