रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रानीबास सामुदायिक घरबास (होमस्टे) कार्यक्रम सुरू भएको छ। रम्भा गाउँपालिकामै पहिलाे पटक १४ घरधूरीले पुरानै घरका काेठालाइ व्यवस्थापन गर्दै हाेमस्टे सुरू गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य नारायण आचार्य र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले होमस्टेको शुभारम्भ गरेका हुन्। पर्यटकीय संभावना बोकेको फोक्सिङकोटमा होमस्टेले विकासलाई टेवा पुग्ने सांसद आचार्यले बताए। नमुना होमस्टेको रुपमा स्थापित गर्न संघ सरकारसँग आवश्यक बजेट र कार्यक्रमको लागि पहल गर्नेछु। कालीगण्डकी कोरिडोरबाट यहाँसम्म आउने सडकलाई स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था मिलाउने उनले बताए।

स्वास्थ्यमन्त्री सारूले यहाँको पुराना कला, संस्कृति र मगर समुदायको भेषभुषालाई व्यवस्थित गरेर प्रदर्शन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने बताए। प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिए।

होमस्टे नेपालको माटो सुहाउँदो व्यवसाय हो। होमस्टे कार्यक्रमले ग्रामिण भेगलाई विकास गर्ने होमस्टे महासंघ नेपालका उपाध्यक्ष धनेश्वर बश्यालले बताए।

रम्भा गाउँपालिकामा पहिलोपटक होमस्टे कार्यक्रमको सुरुवात भएको छ। जनजाती समुदायका नागरिकले सञ्चालन गरेको होमस्टेलाई नमुना बनाउने गरी गाउँपालिकाले योजना बनाएर अगाडि बढेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। होमस्टेले यहाँ पर्यटकको आगमन हुनेछ। स्थानीयलाई रोजगार मिल्नेछ। होमस्टेले स्थानीयलाई मात्रै नभई सिंगो गाउँपालिकाको आर्थिक अवस्थामा टेवा पुग्ने भण्डारीले दाबी गरे। रानीबास होमस्टेमा आउने पर्यटकलाई रम्भादेवी मन्दिर, रिमिघा लेक लगायतका पर्यटकीय स्थलको अवलोकन गर्ने वातावरण मिलाइने उनले बताए।

रानीबासमा ९० बढी मगर समुदायको बसोबास रहेको छ। सामुदायिक होमस्टेमा १८ घरपरिवार सदस्य आवद्ध छन्। अहिले १४ घरमा होमस्टे सञ्चालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष देउकुमारी सारूले बताइन्। गत वर्षको मंसिरमा गाउँपालिकाले तालिम दिएको थियो। घरको व्यवस्थापन गर्ने, घर सजाउने, खाना पकाउने लगायतका तालिम लिन पाउँदा होमस्टे सञ्चालन गर्न आफूहरूलाई सहज भएको उनले बताइन्। रानीबासका स्थानीयले स्याङ्जाको शिरूबारीमा रहेको होमस्टेको पनि अवलोकन गरेका थिए।

होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ। कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको उनले बताइन्।

स्थानीय उत्पादनका परिकार खुवाइन्छ। पर्यटकको माग अनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुको मासु, बटुक, सेलरोटी लगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिका सचिव वीरबहादुर गुरूङले बताए। उनकाअनुसार पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत स्थानीय सँस्कृतिसँगै पर्यटक रमाउन पाउनेछन्। डाँडाको टाकुरामा रहेको होमस्टेबाट हिमालको दृष्य अवलोकन गर्न पाइनेछ। तल कालीगण्डकी देखिन्छ। प्राकृतिक मनोरम वातावरणले यहाँ एकचोटी आइपुगेका पर्यटकलाई मन जित्ने गुरूङल बताए।

रानीबास होमस्टेमा रहेको जनजाती संग्रहालयको पनि उद्घाटन गरिएको छ। जनजाति संग्रहालयले होमस्टेको थप आकर्षण बढेको छ। एक करोड बढी लगानीमा निर्माण गरिएको संग्रहालय कुँडुले शैलीमा निर्माण गरिएको छ। संग्रहालय हेर्दा निकै आकर्षक देखिन्छ। संग्रहालयमा मगर समुदायका संस्कृति झल्किने परम्परागत सामग्री राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय