पाल्पा-भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर आज मनाइँदैछ। प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ।

साँचाे प्रेमको प्रतीक मानिने रानीमहल प्रेमिल जाेडीकाे प्रतिक्षामा रहेकाे छ । १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए। रानीमहलमा सच्चा जोडीहरु आफ्ना अतितलाई सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पना गरिरहने स्थान बन्दै गैरहेकाे छ ।

वर्षमा एक दिन सँच्चा प्रेम र आस्था प्रकट गर्ने दिनका रुपमा मनाइने प्रणय दिवस र विशेष गरी किशोरावस्थाका युवायुवतीहरुले मायापिरती साटासाट गरेर मनाउँदैछन्। मनमा गुम्सिएका भावनाहरु र तरङ्गहरुलाई ओतप्रोत गर्ने पर्वका रुपमा पनि यसलाई लिन थालिएको छ। पारिवारिक माया ममताभन्दा पनि भिन्दै आभाष गर्ने मायालाई दुई आत्माको मिलन मानिन्छ। जब कुनै व्यक्ति माया पिरतीको जालोमा अल्झिएको हुन्छ उसको संसार त्यसैमा रोमलिन थालेको हुन्छ। भनिन्छ, प्रेम आस्था र विश्वासमा चलेको हुन्छ।

नेपालको ताजमहल भनेर चिनिने रानीमहललाई कालीगण्डकी करिडोरसँग जोडिएसँगै रानीमहल पुग्ने पर्यटकहरुको संख्यामा आशातित प्रगति देखिएको छ। उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ। कालिगण्डकी कारिडोर मार्गसँग रानीमहललाई जोडेसँगै सहज यात्राका साथ यहाँ पुग्ने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ ।

करिडोरले सिङ्गो पाल्पाको पर्यटनमा सहयोग पुग्दैछ।  प्रेम दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरुको भीड लाग्ने गर्छ। दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ। त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्छ। नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई प्रेम गर्नेहरुलाई औधी मन पराउँछन्। साँचो र दीगो प्रेमको कामना गर्दै युवायुवती यहाँ पुग्ने गर्छन्। तर अरुलाई मायाप्रेम सिकाउने यो ठाउँ चाहिँ आफैंले माया पाउन सकेको छैन। धार्मिक र प्रर्यटकीय रुपले अति महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि ३ घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ। तर अहिले यहाँ पुग्ने सडक निर्माण भएको छ।

भारतको ताजमहल हेर्न विदेशी लाखौं पर्यटक पुग्ने गर्छन्। जसको कारण भारत सरकारले करोडौं रुपैयाँको राजश्व आम्दानी गर्दै आएको छ। नेपालको ताजमहल जसले साँचो प्रेमको महत्व बोकेको छ त्यसप्रति हामी मायाप्रेम जगाउन जरुरी छ।

१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कैशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग शमशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ। १९६० सालमा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गर्‍यो भन्ने श्री ३ चन्द्र शमशेरले थाहा पाए। चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए। आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए। वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ।

पाल्पा र स्याङ्जाको सीमानामा पर्ने यो दरबार खड्ग शमशेरले युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनअनुसार बनाएका हुन्। करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा छन्। ताजमहलको  परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय