आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। नेपालमा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
जागरुक युवा अभियान नेपालको आयोजनामा नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
नेपाली युवाले विर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ ।