पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसको चिह्नबाट एमाले नेतृ केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी छिन् । १६ मंसिरमा रुकुम पूर्वमा हुने उपचुनावमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका हुन् ।
आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर विजयी भएकी थिइन् ।
भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।
पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकाले उम्मेदवारी दर्ता गरेका छन् । वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २३४ र कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको बताए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा कांग्रेसबाट निर्वाचित तिलकराम यादवको निधनपछि रिक्त वडाध्यक्ष पदमा १३ जनाले उम्मेदवारी दिएका छन् ।
यहां नेपाली कांग्रेसले दिनेश यादवलाई उम्मेदवार बनाएको छ । यादव दिवंगत वडाध्यक्ष तिलकराममा छोरा हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मोहम्मद ताहिरलाई मनोनयन गराएको छ । माओवादी केन्द्रले रफिक अहमदलाई उठाएको छ । एमालेले अब्दुल मोजिम खाँलाई उम्मेदवार बनाउने पूर्वनिर्णय गरेपनि अन्तिम समयमा विवादमा परेपछि ताहिरलाई उठाएको हो ।
जनमत पार्टीबाट सीताराम पटेल, जसपा नेपालबाट रामबहादुर कुर्मी चौधरी, जसपाबाट रमेशकुमार पाण्डे, रास्वपाबाट अवधेश चौधरी, राप्रपाबाट इम्तियाज अहमद मुसलमान,नागरिक उन्मुक्ति पार्टीबाट सूर्यकुमार चौधरी थारु र नेकपा एकीकृत समाजवादीबाट सुब्बा थारुले उम्मेदवार बनेका छन् । यस्तै अब्दुल मोयिद मुसलमान, अब्दुल अब्बल फकिर, पुजारी थारु र सर्वजित मल्लाहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले एमालेका अब्दुल मोजिब खाँलाई पराजित गर्दै दोस्रोपटक अध्यक्ष बनेका थिए । यादवले १ हजार ३२ मत पाउँदा एमालेका अब्दुल ८८९ मतमा रोकिएका थिए ।
गुल्मीको मुसिकोट नगरपालिका-१ को वडाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट आनन्द श्रेष्ठ, एमालेबाट दलबहादुर थापा र नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विकास थापाले वडाध्यक्षमा उम्मेद्बारी दिएका छन्, उनी विगतमा नेकपा एमालेमा थिए ।
राप्रपाबाट ईश्वरी खातीले उम्मेदवारी दिएकी छन् । त्यस्तै कोमानन्द खरेल, कुलबहादुर थापा र योगेन्द्र खरेल स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार दुर्गा बहादुर बिकलाई नेकपा एकीकृत समावादीको समर्थन रहेको छ । निर्वाचन अधिकृत ऋषि घिमिरेका अनुसार वडामा ४ हजार ९१ मतदाता छन् ।
गत स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता थिए । त्यतिबेला माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसबाट मोहन घिमिरेले ११८२ मत पाएर जितेका थिए । एमालेका नारायणबहादुर थापाले ११४३ मत ल्याएका थिए ।
पूर्ववडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएको थियो ।