पाल्पा,भदौ ११

पाल्पामा ऐतिहासिक भगवतीको रथयात्रा निकालिएको छ । नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा २०५ औँ रथयात्रा निकालिएको हो ।
यस पल्ट राष्ट्र प्रमुख राष्ट्रपती रामचन्द्र पौडेलले भगवतीको पुजाआजा तथा रथ यात्राको अवलोकन गर्नुभयो । हरेक वर्षको भाद्र कृष्ण अष्टमीको भोलीपल्ट यो रथयात्रा निकालिदै आइएको छ । रथयात्राका अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर सार्वजनिक विदा दिएको थियो ।
तत्कालिन पाल्पाली प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले वि.स.१८७१ सालको पुसदेखि वि.स. १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स.१८७७ देखि निरन्तर रुपमा विजयोत्सव भगवतीको रथयात्रा निकालिदै आइएको छ ।
दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी १८७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा निकालिँदै आइएको छ ।
नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि रथयात्रा निकालिने गरिन्छ । यसलाई भगवती जात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए ।
रथ यात्रालाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिन्छ । विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय