गण्डकी, जेठ १३
कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका गर्न नदीका शिलामा भगवानका नाम अङ्कित गरिएकाे छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवानकाे रूपमा पुज्ने गर्छन् ।
‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधामसम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवान्का नाम शिलाङ्कित गरेका छन् । गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवान्का नाम अङ्कित गरिएको ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले बताए।
पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ । रातारात कालीगण्डकीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसार हुने गरेको स्थानीयवासीको गुनासो छ ।
कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन् । कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनास्लु छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन् । नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटमा छन् ।
हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचिन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ । यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।