सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ मङ्सीर

सामान्यतः घाँस, दाउँरा, स्याउँलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनलाई पर्यापर्यटन विकास गरिन थालिएको छ । वन क्षेत्रभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।
पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको पाल्पा रामपुर नगरपालिका ४ स्थित रानीवन तथा वडभान सामुदायिक वन अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । करिव एक सय तीन दशमलव १२ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनको विभिन्न स्थानमा पर्यटकीय संरचना तयार पारिएको छ । वन क्षेत्रको ब्लक नं ५ मा लखनपार्क, बरडाँडा क्षेत्रमा रानीपोखरी निर्माण, दृश्यावलोकन स्तम्भ (भ्यु टावर) निर्माणाधिन, वडभान क्षेत्रमा अम्रिसो खेती, तेजपत्ता खेतीसंगै पर्यटकीय पूर्वाधार विकासका कार्यहरु भइरहेको वन समुहका अध्यक्ष प्रेमबहादुर पोखरेल बताउनुहुन्छ ।
बरडाँडा क्षेत्रमा वनको बीच भागमा निर्माण गरिएको रानीपोखरी यतिबेला सबैलाई लोभ्याउने खालको छ । यहाँ लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका, एक पोखरी’ निर्माण गर्ने कार्यक्रम अन्तर्गत रु चार लाख सहयोगमा रामपुर नगरपालिकाले वडा नं ४ मा रहेको रानीवन तथा वडभान सामुदायिक वनलाई छनौट गरी पोखरी निर्माण गरिएको वडाध्यक्ष रामबहादुर रानाले बताउनुभयो ।
“सामुदायिक वनलाई घाँस, दाउँरा, स्याउलाको मात्र उपयोगलाई सिमित रुपमा राखिनु हुदैन” उहाँले भन्नुभयो,–“हरियाली वनजंगल संरक्षण गर्दै आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ, नगरपालिकाले यस कुरामा जोड दिएको छ” ।
यो पोखरी वन क्षेत्रको बीच भागमा अवस्थित, त्यहाँबाट तलतिर रामपुर बजारको दृश्यावलोकन गर्न सकिने, हरियाली मनोरम दृश्य, चारैतिर जंगलले घेरेकाले घुम्न लायकको मनमोहक वातावरण छ । यहाँ रानीपोखरी निर्माणमा मात्र करिव रु पाँच लाख रकम लागेको छ । वन क्षेत्रमा अवलोकन गर्न पुगेका पर्यटकलाई चिसो हावापानी, जंगली जनावर, चराचुरुङ्गीको लागि पानी खुवाउन पोखरी निर्माण गरिएको हो ।
चारैतिर पक्की पर्खाल, भुईँमा सोसेको पानी बोटविरुवाले उपयोग गरुन् भनेर माटो मुछेर समथर बनाएर पानी सङ्कलन हुने संरचना बनाइएको छ । पोखरी देखि करिव सातसय मिटर टाढा रहेको सपाङ्गीखोलाबाट पाइप बिच्छ्याइएर नियमित रुपमा पानी ल्याइएको छ । यसले वन्यजन्तु, चराचुरुङ्गीलाई पानी उपभोग गर्न अति सहज भएको छ ।
रामपुरको मुख्य बजार देखि माथिल्लो भागमा वनको बीचमा पोखरी निर्माण गरिएपछि अहिले त्यहाँ अवलोकन गर्न आउने पर्यटकहरुको आकर्षण बढ्न थालेको युवा तुलबहादुर राना बताउनुहुन्छ । यहीँ क्षेत्रमा दृश्यावलोकन स्तम्भ निर्माणाधिन अवस्थामा रहेको हुदा यसको निर्माण कार्य सम्पन्न भएपछि कालीगण्डकीवेशीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बरडाँडाको माथिल्लो भागमा स्थानीयको बसोबास रहेकाले घरबास (होमस्टे) सञ्चालन गरेर आयआर्जन प्रशस्त भित्र्याउन सकिन्छ ।
लखनपार्क क्षेत्रमा लखनपार्क, शौचालय, विश्रामस्थल, चौतारी निर्माण गरिएको छ । अन्य संरचनापनि निर्माण गर्दै जाने समितिले जनाएको छ । यो क्षेत्र कालीगण्डकी करिडोर सडकखण्डले घेरेको र नजिकै कालीगण्डकी नदी, आडैमा अधँेरीखोला बहेकाले पर्यटकीय विकासको प्रचुर सम्भावना छ । उपभोक्ताको आयआर्जन बृद्धि गर्न काँसजरी क्षेत्रमा वनको पतझर सङ्कलन गरी प्राङ्गारिक मल उत्पादन, वडभान क्षेत्रमा करिव तीन हेक्टर क्षेत्रफलमा अम्रिसो, तेजपत्ता खेती गरिएको छ ।
वन समुहमा ५५० उपभोक्ता घरधुरीबाट दुई हजार ७२५ जनसंख्या प्रत्यक्ष लाभान्वित छन् । वनको पूर्वाधार विकास, उपभोक्ता हितका लागि १७ जनाको मुल समिति सक्रिय भएर लागेको छ । समय–समयमा झाँडी सरसफाई कार्यले वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज भएको छ । वि.सं २०४०÷०४२ देखि स्थानीय उपभोक्ताले संरक्षण गर्दै आइरहेको यस वन वि.सं २०४७ मा समितिलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय