स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका राजीव रिमाललाई हाजिर नगराइ फिर्ता पठाइएकाे छ । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त नभएको र मन्त्रालयले पालिकालाई जानकारी नदिई पठाइएको भन्दै उनलाई हाजिर गर्न नदिएको हो ।

संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पत्रमार्फत जनाएका छन् । पत्रमा भनिएको छ, ‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको व्यवहोरा जानकारी गराइन्छ ।’

रिमाललाई भदौ ४ गते संघीय मामिला तथा प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । गाउँपालिकामा हाजिर गर्न नपाएपछि रिमाल सोमबार साँझै पोखरा फर्किएका छन् । कार्यालय पुग्नेबित्तिकै उनलाई पत्र हातमा हालेर थमाइएको थियो । रिमालले इन्जिनियरिङ सेवामार्फत अधिकृतमा नाम निकालेपछि पहिलोपटक कालीगण्डकीको जिम्मेवारी पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय