पाल्पा, भदौ २१
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दूरजात्रा गर्दै भगवती खटयात्रा निकालिएको छ । नेपाली फैजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती भगवती जात्रा निकालिएको हो ।
पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिह थापाले युद्ध जितेको सम्झनामा २०३ औं सिन्दूरजात्रा गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी सहित नेपाली सेनाका कर्णेल लगायतले भगवती खटयात्राको अवलोकन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौधरीले भगवती जात्रा नेपाल र नेपालीको शीर उच्च पार्ने विरता र गौरवको पर्व भएको बताए ।

श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा गरिएको हो । नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो ।

बुद्धिजिवी निर्मल श्रेष्ठले नेपालमा अंग्रेजको साम्राज विस्तारलाई परास्त गर्न सफल भएको हुँदा यो इतिहास र संस्कृतीभन्दा माथिल्लो पर्व भएको बताए । उनी भन्छन्, ‘विरता र रणकौशलको नमूना प्रदर्शन गरि युद्धमा विजयी भएको अवसरमा निकालिएको पर्वको अध्ययन गर्न जरुरी रहेको छ । खटयात्रा राष्ट्रियतासँग सम्बन्धित छ ।’ तानसेन नगरपालिकाका कार्यवहाक नगर प्रमुख यादवसिंह कार्कीले स्थानीय संस्कृतीको जगेर्ना गर्न र भगवतीजात्रालाई प्रवद्र्धन गर्न तानसेन नगरपालिका लागि परेको बताए । पूर्व सांसद सोम प्रसाद पाण्डेयले देशलाई अप्ठ्यारो अवस्थामा नेपाली सेनाले बहादुरी पूर्वक लडी देशको रक्षा गर्न सफल भएको खुसीयालीमा जात्रा निलालिएको बताए । उनले भगवती जात्रालाई राष्ट्रिय पर्वको रुपमा अगाडी बढाउन लागि परेको बताए ।
भगवती मन्दिर परिसरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गरिएको हो । भगवती रथयात्रालाई भगवती जात्रा, खटयात्रा तथा सिन्दूरजात्रा समेत भन्ने गरिन्छ । वि.सं. १८७१।०७२ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो ।

रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाई भएको थियो ।


यस्तै बिहिबार नै तानसेनमा २ सय १७ औं अमरनारायण रथयात्रा निकालिएको छ । नेपाल एकीकरणको सिलसिलामा अमरसिंह थापा पाल्पा आएर कलात्मक मन्दिर निर्माण गरि रथयात्रा सुरु गरेका थिए ।
पाल्पामा बिहिबार लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा सार्वजनिक विदा दिएको थियो । श्री ७ रणउजिरेश्वरी भगवतीको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय