पाल्पा, भदौ १९
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा भगवती रथयात्रा भदाै २१ गते निकालिने भएकाे छ । यस्तै काजी अमरसिंह थापाले सुरूवात गरेकाे अमर नारायणको जात्रा पनि २१ गते बिहिबार नै परेकाे छ । यस दिन लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएकाे छ ।

भगवती जात्रा अंग्रेजसँगको युद् जितेको सम्झनामा र अमरनारायण राष्ट्रनिर्माण अर्थात एकीकरणसँग जोडिएको छ । भाद्र २१ गते भगवती र नारायण शोभा रथयात्रा छ। भगवती  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशाेक महर्जनले हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन निकालीने रथयात्रा  बिहिबार परेकाे बताए । श्री ७ रणउजीरेश्वरी भगवतीको खट्यात्रा (जात्रा)काे प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चाैधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिह थापाले युद्ध जितेको सम्झनामा सिन्दूरजात्रा गरिँदै अाएकाे छ ।

नेपाली फैजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती रथयात्रा निकालिन्छ । तानसेनको बीच भागमा रहेको भगवती मन्दिर परिषरबाट भगवतीको प्रतिमूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्रा गर्ने प्रचलन छ । वि.सं. १८७१ मा नेपाली सेनाले अंग्रेजलाई हराएको थियो ।
श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन जात्रा निकालिन्छ ।

 

सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा नारायण जात्रा निकाल्ने प्रचलन छ ।

नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रूपमा जनरल अमरसिंह थापा आएका थिए । जनरल अमर सिंह थापाले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । मन्दिरमा भगवान नारायणको मुर्ति राखिएको भएपनि अमर सिंह थापाले आफै बनाएकाले उक्त मन्दिरको नाम नै अमर नारायण मन्दिर राखिएको छ । मन्दिर निर्माण पुरा भएपछी प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन रथयात्रा निकाली बजार परिक्रमा गर्ने परम्परा रहेको छ ।

पाल्पाको अमरनारायण मन्दिरमा किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । काजी अमर सिंह थापाकै कारण पाल्पाका विभिन्न मन्दिरहरुको रथयात्रा निकाल्ने परम्परा चलेको बुढापाकाहरुको भनाईरहेको छ । तानसेनमा गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, बाघ जात्रा, भीमसेन जात्रा, लक्ष्मीनारायण जात्रा, हनुमान जात्रा, शिवजात्रा, कृष्णजात्रा लगायतका जात्राहरु सञ्चालन हुँदै आएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय