सुशीला रेग्मी
रामपुर (पाल्पा), १८ असार
मुठ्ठीदान, चन्दादाता उठाएर धेरै विद्यालय चलिरहेका छन् । प्रयाप्त आयस्रोतका बाबजुद पनि केही विद्यालयले मुठ्ठीदान, चन्दादाताकै भरमा शैक्षिक गुणस्तर सुधार गर्दै गइरहेको पाइएको छ ।
यस्तै पाल्पा रामपुर नगरपालिका ४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभुत विद्यालय एक नमुना धार्मिक विद्यालयका रुपमा चिनिएको छ । यो विद्यालय रामपुरको दश उत्कृष्ट विद्यालयभित्र पर्दछ ।
मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन (जकात फण्ट) गरी विद्यालय सञ्चालन भइरहेको छ । हरेक हप्ताको विहिवार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालयमा लैजाने गर्दछन् । यो कार्य विद्यालयमा नियमित रुपमा चलिरहन्छ । घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालय आउँदा विहिवारको दिन विद्यार्थीले प्रत्येक घरबाट अनिवार्य साथमै लिएर आउने गरेको सहायक प्रधानाध्यापक मोहम्मद सलिमले बताउनुभयो ।
“विद्यार्थीले आफुले सकेको अनाज लिएर आउँछन्, सो अनाज सबै सङ्कलन गरी विद्यालयको छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि खाद्यान्नमा प्रयोग गरिएको छ” उहाँले भन्नुभयो,–“ मुठ्ठीदानले छात्रावासमा बसोबास गर्ने विद्यार्थीलाई खाद्यान्न व्यवस्थापनमा धेरै सघाउ पुगेको छ” ।
विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन । तर घरबाटै दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थी स्वयम् आफैले आफुले सकेको अनाज मुठ्ठीदानको रुपमा ल्याउने गरेका छन् । यसरी मुठ्ठीदानबाट सङ्कलित अनाजले यहाँको छात्रावासमा बसोबास गर्ने विद्यार्थीक करिव चार देखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने गरेको विद्यालयले जनाएको छ ।
धार्मिक विद्यालयमा लुम्बिनी प्रदेशकै नमुना मदरसाको रुपमा पनि लिइन्छ । यस विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्ने गर्दछन् । पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन् । हाल यस विद्यालयमा छात्र ८१, छात्रा १३२ गरी जम्मा २१३ विद्यार्थी अध्ययनरत छन् । बाहिरका (छात्रावासमा बसोबास गर्ने) ८२, स्थानीय १३१ विद्यार्थी यस शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँ लगायतका विभिन्न जिल्लाका विद्यार्थी विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । नेपाली भाषा प्रष्ट पढ्न पाइने, धार्मिक पढाई हुने, नेपाल सरकारका सबै विषय पठनपाठन हुने भएकाले बाहिरबाट यहाँ पढ्न आउनेको आकर्षण बढेको विद्यालयका लेखापाल महम्मद अलि बताउनुहुन्छ ।
विद्यालयको प्रयाप्त आयस्रोत केही नभएपनि मुठ्ठीदान तथा चन्दाकै भरमा पनि गुणस्तरिय शिक्षा प्रदान भइरहेको हुदा बाहिरी जिल्लाका धेरै विद्यार्थी पढ्न सम्पर्कमा आउने गरेको र कतिपयलाई प्रयाप्त छात्रावास व्यवस्थापन गर्न नसक्दा भर्ना लिन नसकिरहेको लेखापाल अलिले जानकारी दिनुभयो ।
नेपाल सरकारका अनिवार्य सबै विषय सहित उर्दु, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, कम्प्युटर विषय पठनपाठन हुने गरेको छ । अन्य विद्यालयमा शनिवार विदा हुने गरेकोमा यहाँ शुक्रवार हप्तामा एक दिन विदा दिने गरिएको छ । यस विद्यालय विसं २०५५ मा तत्कालिन जिल्ला शिक्षा कार्यालय पाल्पाबाट स्वीकृती लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको हो भने ०६० मा भने छिमेकी विद्यालय सीताराम माध्यमिक विद्यालयसंग समन्वय गरेर कक्षा ७ सम्म चलाइयो । विसं २०६८ मा कक्षा ६ देखि ८ सम्मको विद्यालयले अनुमती लिएर आफ्नै भवनबाट कक्षा सुरु भयो ।
कक्षा ९ देखि १० सम्म पठनपाठनका लागि प्रक्रिया पुरा भइसकेको हुदा नै अनुमती पाए लगत्तै अब छिट्टै चलाउने तयारी छ । साढे दुई वर्षदेखिका बालबालिका विद्यालयमा भर्ना भई पढीरहेका छन् । रामपुरमा मदरसा स्थापना नहुदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमघट, विहारमा गएर पढ्नुपर्ने अवस्था थियो । यस क्षेत्रमा मदरसा खुलेपछि रामपुरका मात्र नभई छिमेकी जिल्ला तनहुँ, स्याङ्गजा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ ।
विद्यालयको नाममा पाँच रोपनी जग्गा छ । हाल साढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा १५० घरपरिवारका करिव आठ सय जनसंख्याको बसोबास रहेको छ । वैदेशिक रोजगार, विभिन्न पेशा, व्यावसाय नै मुख्य आयस्रोत रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा