पाल्पाका दश स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट पारित गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।

तानसेन नगरपालिका

तानसेनले वडावडामा सार्वजनिक शाैचालय, ग्रीन तानसेन क्लीन तानसेन, जीपलाइन सञ्चालन, उत्कृष्ठ पत्रकारिता पुरस्कार, विद्यालय दीवा खाजामा थप ५ रूपैयाँ, जस्ता नयाँ विषयहरू अाफ्नाे नीतिमा राखेकाे छ । यस्तै विपद् पूर्वतयारीदेखी, कृषि र पर्यटन क्षेत्रको विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानीकाे उचित प्रबन्ध, फाेहाेरमैला व्यवस्थापन लगायता विषयहरू समेटिएका छन् ।

तानसेन नगरपालिकाले आगामी बर्ष २०८०÷०८१ को लागी १ अर्व २ करोड ८ लाख ६४ हजार ३ सय ३७ रुपैयाको बजेट पेश गरेको छ । उप प्रमुख प्रतिक्षा गाहा सिंजालीले १३ औ नगरसभामा २ अर्व रुपैयाको बजेट प्रस्ताव गरेकी हुन् । उप प्रमुख सिंंजालीले चालु तर्फ जम्मा बजेटको ५४.६१ प्रतिशतको ५६ करोड १४ लाख २५ हजार रुपैया र पुजीगत तर्फ ४५.३९ प्रतिशत गरी ४६ करोड ६६ लाख ३९ हजार ३ सय ६७ रुपैया वाडफाँडको प्रस्ताव गरेकाे पास भएकाे हाे । तानसेन नगरपालिकाले आगामी बर्षको लागी क्षेत्रगत रुपमा सामाजिक क्षेत्रमा ४४ करोड २४ लाख २१ हजार, पुर्वाधार क्षेत्रमा २७ करोड ८१ लाख १८ हजार, शुसासन तर्फ १५ करोड २१ लाख ९९ हजार, आर्थिक विकास तर्फ ११ करोड ४ लाख १४ हजार, वन वातावरण तथा विपदमा ४ करोड १९ लाख रुपैयाको बजेट प्रस्ताव गरेको छ । १३ औ नगरसभाले सबैभन्दा बढी सामाजिक क्षेत्रमा ४३ प्रतिशत र सवैभन्दा कम वन वातावरण तथा विपद व्यबस्थापन ४ प्रतिशत रकम प्रस्ताव गरेको थियाे ।

रामपुर नगरपालिका

पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६९ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको वजेट ल्याएको छ । आईतवार भएको १३ औँ नगर सभामा उपप्रमुख बालकुमारी थापाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गरेकी थिइन्। आयतर्फ संघीय समानिकरण अनुदान ११ करोड ७७ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ४२ लाख २२ हजार, संघीय समपुरक पूँजीगत ६० लाख, संघीय विशेष अनुदान ८० लाख, संघीय ससर्त (चालु) ३२ करोड ८४ लाख, संघीय ससर्त पूंजीगत) एक करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ८५ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड ८७ लाख १६ हजार ३४८, प्रदेश समपुरक एक करोड ५० लाख, प्रदेश ससर्त एक करोड १६ लाख ५० हजार र आन्तरिक स्रोत तर्फ पाँच करोड ५० लाख, अल्या एक करोड ६३ लाख ६५ हजार ६५२ गरी ६९ करोड ७२ लाख ५० अनुमान गरिएको छ ।

निस्दी गाउँपालिका
निस्दी गाउँपालिकामा ६४ करोड ७ लाख ९७ हजारको बजेट उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले सार्वजनिक गरिन् । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा कृषि तथा पशु उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई महत्व दिएको बताए । निस्दीमा उज्यालो निस्दी साथै भौतिक पूर्वाधार, कृषि तथा पशुपालनमा बजेटले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए ।

पूर्वखोला गाउँपालिका

पूर्वखोलामा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले नीति तथा कार्यक्रम सार्वजनिक गरे । यस्तै उपाध्यक्ष भागिरथी भट्टराईले ४६ करोड ६७ लाख, ३ हजार ३ सय ८५ रुपैयाँको बजेट सभामा पेस गरिन् । सूचना अधिकारी मोहन ढकालका अनुसार भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यले बढी प्राथमिकता पाएको बताए ।

रम्भा गाउँपालिका

रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि र पशुपालनमा जोड दिँदै शिक्षा र स्वास्थ्य पर्यटनलाई प्राथमिकता दिइने बताए । उपाध्यक्ष राधाकुमारी श्रेष्ठले ४८ करोड ८ लाख, १५ हजार ६९ बराबरको आयव्यय बजेट पेस गरिन् । नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए ।

बगनासकाली गाउँपालिका

बगनासकाली गाउँपालिकामा ४९ करोड ३४ लाख ६४ हजार ५२४ को बजेट सार्वजनिक गरेको उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिए । बगनासकालीले भौतिक पूर्वाधारका साथै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक विकासमा बजेट विनियोजन भएको अध्यक्ष सरस्वती चिदी दर्लामीले बताइन् । बगनासकाली गाउँपालिकाले यसवर्ष राजश्वको दायरा बढाएर ६५ लाखबाट ९० लाख आन्तरिक आम्दानी पुर्याउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए ।

तिनाउ गाउँपालिका

तिनाउ गाउँपालिकामा अध्यक्ष प्रेम श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे । गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले ४९ करोड ७२ लाख २४ हजारको बजेट सार्वजनिक गरे । बजेटले शिक्षा, कृषि, स्वास्थ्य साथै भौतिक पूर्वाधारमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए। बजेट परिमार्जनसहित आइतबार नै पास गरिएको छ ।

माथागढी गाउँपालिका

माथागढी गाउँपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट शुक्रबार प्रस्तुत गरेको छ । उपाध्यक्ष विष्णुमाया लुङचे मगरले ५५ करोड २२ लाख ३ हजार ३५४बजेट सभामा प्रस्तुत गरिन् । पुँजीगततर्फ २३ करोड १९ लाख र चालुतर्फ ३२ करोड २ लाख रहेको छ । अध्यक्ष यम चिदीका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा नै बढी खर्च हुने बताए । माथागढी भौगोलिक विकटता भएको पालिका भएकाले स्वास्थ्य इकाई, शिक्षा र भौतिक पूर्वाधारमा बढी बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताए ।

रिब्दीकोट गाउँपालिका

रिब्दीकोट गाउँपालिकाको ५३ करोड ६८ हजारको बजेट १३ औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कान्ता अधिकारीले प्रस्तुत गरेकी हुन् । जसअन्तर्गत गाउँपालिकाले २३ करोड ५६ लाख ६४ हजार र चालु खर्चतर्फ २९ करोड ४४ लाख ४ हजार खर्च हुने अनुमानित बजेटमा छ । जसअन्तर्गत संघीय सरकार वित्तीय समानिकरण अनुदान ८ करोड ४९ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँटमार्फत् ७ करोड ९३ लाख ३६ हजार ४ सय, संघीय सरकारको समपूरक अनुदान ७५ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, संघीय सरकार सशर्त अनुदान २६ करोड २८ लाख रहेको अध्यक्ष नारायण बहादुर कार्कीले बताए । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नविकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगेपुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए ।

रैनादेवी छहरा

रैनादेवी छहरामा पनि ६५ करोड १८ लाख ५५ हजारको बजेट उपाध्यक्ष युवराज थापाले प्रस्तुत गरे । रैनादेवी छहरामा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएर बजेट बनाइएको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए । भौतिक पूर्वाधार, कृषि शिक्षा, स्वास्थ्यमा सबैभन्दा बढी बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिए ।

पाल्पाका स्थानीय तहले कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षालाइ प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् । स्थानीय जनताकाे अावश्यकतामा बृद्दि हुँदै गएकाे भएता पनि बजेट घटेका कारण कम याेजनामात्र समेटिएकाे भन्दै जनप्रतिनिधिहरू नै असन्तुष्टि बन्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय