मुक्ति न्याैपाने

पाल्पा, असार ६

रम्भा गाउँपालिका वडा नम्बर १ पाल्पामा चाैतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालन गरिएकाे छ । विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क ईन्टरनेट सेवा सञ्चालनमा ल्याइएकाे हाे ।

पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्भार अभियान अन्तर्गत परापूर्वकालमा निर्माण भएका पाटीपौवा, चौताराहरुलाई संरक्षण एवं सम्वर्द्धन गर्दै मानिसहरुलाई समेत अपनत्व महसुश गराउने हेतुले निशुल्क इन्टरनेट अभियान सुरू गरिएको हो । रम्भा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ईश्वर काफ्लेले भन्नुभयो, ‘जेष्ठ नागरिक, युवा तथा फुर्सदिला सर्वसाधारण नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै ईन्टरनेटको प्रयोग गर्नेछन् । उनीहरु आफूलाई चाहिने सामाग्री समेत गुगलमा खोजेर पढ्न सक्नेछन् । फेसबुक, टिकटक मात्रै नभएर ज्ञानवर्द्धक कुराहरुपनि ईन्टरनेटको प्रयोगबाट लिन सकिन्छ ।’

गाउँकै चौतारामा ईन्टरनेट चलाउन पाएपछि स्थानीयपनि खुसी भएका छन् । रम्भा १ नाैगाउँकी भूमिसरा सारूले गाउँका चाैतारीमा निशुल्क इन्टरनेट भएपछि विदेश हुने अाफन्त र छिमेकीहरूसँगकाे सम्पर्क बढेकाे बताउनुभयाे । यस्तै हरिकुमारी न्याैपाने भन्नुहुन्छ, समय कटाउनकै लागि चाैतारामा बस्ने गर्थ्याै अहिले स्वच्छ हावासँगै फेसबुकबाट राम्रा कुराहरू पनि पाउन थालेका छाैं । शहर बस्ने छाेराछाेरीसँग दैनिक कुरा गर्न पाउँदा घरमै सपरिवार भएकाे महशुस भएकाे छ ।

इन्टरनेट हावा, पानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ । वडा नम्बर १ मा रहेका २० वटा चौताराहरुमा आफ्नो कार्यकालभित्र ईन्टरनेट सेवा प्रवाह गर्ने काफ्लेको प्रतिवद्धता छ । अहिले दुईवटा चौतारा नाैगाउँ चाैपारी र गैरीमा ईन्टरनेट जोडिएको छ ।  इन्टरनेटकाे भुक्तानी वडाले एकमुष्ट गर्ने छ जसकाे खर्च वार्षिक १३ हजार छ ।

गाउँमा हुने क्रियाकलापलाइ विश्वव्यापी बनाउन र ज्ञानमूलक सामाग्री तथा सन्देशहरु पढ्न, सुन्न तथा हेर्न पाउने भएपछि स्थानिय युवाहरू पनि  वडाध्यक्ष काफ्लेको प्रशंसा गरेका छन् । धार्मीक तथा वैज्ञानिक रूपमा पनि वरपिपलकाे फेदमा बसेर हावा लिनु स्वस्थकर मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय