सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ असार
खडेरीयामले पर्यटकीय तालपोखरामा पानीको बहाव घट्दै गएको छ । लामो समयसम्म पानी नपरेपछि तालपोखरामा पानीको सतह कम हुदै जान थालेको छ । पानी कम हुन थालेपछि हिजोआज डुङ्गा चढ्ने पर्यटक कम छन् ।
स्थानीय कुलो तथा नहरको पानी व्यवस्थापन गरी कृत्रिम ताल सञ्चालन गरिएको हो । गर्मी बढेसंगै स्थानीय कुलो तथा नहरमा पानीको मात्रा कम हुदा तालपोखरामा पानी घट्दै गएको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीले बताउनुभयो ।
“खडेरीले कुलो, नहरमा पानीको मात्रा अति कम छ, दिनभरका चर्का घामको तापले तालपोखरामा भएको पानी सुक्दै जान थालेको छ” उहाँले भन्नुभयो ।
पानीको दीगो व्यवस्थापन भनेकै स्थानीय कुलो, नहरको पानी भएकाले खडेरीयाममा तालपोखरामा पानी टिकाउन समस्या हुने गरेको उहाँको भनाई छ । पानीको भरपर्दो र दीगो व्यवस्थापन नहुदा खडेरीका समय समितिलाई पानी व्यवस्थापनमा समस्या परेको छ ।
नजिकै रहेको कालीगण्डकी नदीको पानीलाई लिफ्टिङ गरी दीर्घकालिन रुपमा पानीको व्यवस्थापन गर्न नसक्दा सुख्खा समय, वर्षा नहुदा पानी व्यवस्थापनमा सास्ती खेप्नु परेको छ । खडेरीको समय भएकाले अहिले खेतबारीमा लगाइएका मकैबाली सिंचाई गर्न, धानको वीउँ राख्ने समय भएकाले पनि पालो अनुसार पानी वितरण भइरहेको छ । यसले गर्दापनि प्रयाप्त मात्रामा पानी तालपोखरामा राख्न पाइएको छैन ।
धानको व्याड राख्ने, मकै सिंचाई गर्ने समय भएकाले किसानको आवश्यकतालाई मध्यनजर गर्दै सानो मात्रामा पानी निरन्तर तालपोखरामा ल्याइरहेको बताउनुहुन्छ, तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटा ।
“कुलो, नहरमा नै पानी सानो छ, खेती लगाउने समयमा सबै पानी तालपोखरामा ल्याएर राख्न भएन, खेती लगाउन पानी केही छोडीएको छ” उहाँले भन्नुभयो,–“किसानले खेतबारीमा सिंचाई गरेर सकेपछि समय मिलाएर तालपोखरामा पानी ल्याउने कार्य भइरहेको छ” ।
गर्मीयाम भएकाले पनि बाहिरबाट आउने पर्यटक कम मात्रामा भित्रिएको डुङ्गा चालक भगवान देवकोटा बताउनुहुन्छ । उहाँका अनुसार गर्मीका कारण दिउँसोमा पहिलेको तुलनामा डुङ्गा चढ्ने कम छन् ।
हाल दैनिक दुई सय भन्दा बढी पर्यटक तालपोखरा आउने गरेका छन् । अन्य समय दैनिक पाँच सयको हाराहारीमा पर्यटक आउने गर्थे । यहाँ विशेषगरी शनिवार र विदाका दिन पर्यटकको बाक्लो उपस्थिती छ । यस आर्थिक वर्षमा संघीय सरकारको रु दश लाख, रामपुर नगरपालिकाको रु पाँच लाख सहयोगमा संस्थाको भवन स्तरोन्नती, लुम्बिनी प्रदेश सरकारको रु दश लाख सहयोगमा पार्क वरपर पक्की घेराबार लगायतका कामहरु गरिएको छ ।
पाल्पाको रामपुर नगरपालिका ६ मा पर्ने तालपोखरा अहिले राष्ट्रियस्तरमा नै चिनिन पुगेको छ । फेवातालको झल्को दिने तालपोखराले यतिबेला जताततै चर्चा कमाई रहेको छ । सञ्चारमाध्यम, सामाजिक सञ्जालमा तालपोखराको सुन्दर दृश्यसहितको तस्वीर छाउन थालेपछि आन्तरिक पर्यटक पछिल्ला समय बढ्दै गएका छन् । मिनि फेवातालको रुपमा समेत चिनिने गरेको यस तालपोखराले पर्यटकलाई लोभ्याइरहेको छ ।
यहाँ पाँचवटा डुङ्गा समितिले व्यवस्थापन गरेको छ । हाँस आकारको डुङ्गाबाट प्रतिव्यक्ति रु एकसय र काठको डुङ्गा चढेमा रु ५० टिकट कायम गरिएको छ । तालपोखरामा विसं २०७४ माघ देखि डुङ्गा चलाउन शुरु गरिएको हो । आम्दानीको आधार भनेकै टिकट बिक्रि हो । वार्षिक सरदरमा करिव रु सात देखि आठ लाख बराबरको आम्दानी भइरहन्छ । नियमित रुपमा हरेक समय पानी व्यवस्थापन गर्न सकियो भने वार्षिक रु १५ लाख बराबरको कमाई गर्न सकिने समितिको अनुमान छ ।
सामान्य पानी जम्ने खाडललाई यहाँका स्थानीयवासीले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने परिकल्पना सहित पूर्वाधार निर्माण शुरु गरेका हुन् । कृत्रिम ताल भएपनि अहिले कालीगण्डकीवेशीकै अवलोकनयोग्य ठाउँको रुपमा विकसित भएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । यहाँ शिवरात्रीमा समितिले बिशेष पूजाआजा सहित मेला आयोजना गर्दै आइरहेको छ ।
करिव ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । समितिको नाममा ताल र पार्कसहित करिव ७५ रोपनी जग्गा छ । पार्कमा पूर्वाधार विकास गर्नुपर्ने आन्तरिक पर्यटक तथा स्थानीयको सुझाव छ । समितिले पार्कमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनाएको छ । तालको रुपमा विकास गर्न श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर विसं २०६६ बाट पूर्वाधार विकासको काम शुरु गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको हो ।
सदरमुकाम तानसेन देखि करिव ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा तालपोखरा नै घुम्न भनेर बाहिरबाट विभिन्न संघ, संस्थाको समुह आउन थालेका छन् । तालपोखरमा दशैतिहार, माघे सङ्क्रान्ति, शिवरात्री, नयाँवर्षको अवसरमा ठूलो भीड लाग्दछ । अन्य समयपनि परिवार, साथीभाई सहित ताल वरपर घुम्नेको उत्साह देखिन्छ ।
मनोरञ्जन गर्ने र आफन्ती, साथीभाई भेटघाट तथा घुमघामस्थलको रुपमा लिइएको छ । यहाँ सेल्फीजोनको व्यवस्था गरिएपछि तालको बीचमा रहेको मन्दिरलाई पृष्ठभूमीमा राख्दै फोटो, भिडियो खिचाउने, टिकटक बनाउनेको रौनक देखिन्छ । तालसम्म पुग्ने पक्की सडक सुबिधा भएकाले रामपुर भित्रने जोकोही पनि तालपोखरा घुम्न पुगेकै हुन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2024: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा